सबै बैंक तथा वित्तीय संस्थाहरुले घटाए निक्षेपको ब्याजदर, ऋणको आधार दर कम हुने

बिजमाण्डू
२०७९ फागुन ३० गते १०:१३ | Mar 14, 2023
सबै बैंक तथा वित्तीय संस्थाहरुले घटाए निक्षेपको ब्याजदर, ऋणको आधार दर कम हुने

काठमाडौं। सबै बैंक तथा वित्तीय संस्थाहरुले चैत १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर घटाएका छन्। अघिल्लो महिनाको मसान्तअघि नै ब्याज सार्वजनिक गर्नुपर्ने नियामकीय प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार नयाँ दर प्रकाशित गरेका छन्।

Tata
GBIME
Nepal Life

वाणिज्य बैंकहरुले बचतको ब्याजदर मात्र घटाएका छन्। विकास बैंकहरुले भने मुद्दती र बचत दुवैको घटाएका छन्।

वाणिज्य बैंकहरुले मुद्दतीको ११ प्रतिशतलाई यथावत राखेका छन् भने बचतको अहिलेको ६.४२ देखि ८.४ प्रतिशतसम्मको ब्याजदरलाई घटाएर ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय गरेका छन्।

विकास बैंकहरुले बचतको ब्याज साबिकभन्दा ०.१५ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गर्ने निर्णय गरेका छन्। यो न्यूनतम ब्याज हो। बचतमा विकास बैंकहरुले अधिकतम ८.६ प्रतिशतसम्म ब्याज दिने छन्।

मुद्दती निक्षेपको ब्याजदर एक वर्षदेखि माथि र त्योभन्दा कम अवधिका लागि भनेर दुईवटा निर्धारण गरिएको छ।

अहिले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले एक वर्षदेखि माथिको ब्याजदर ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत दिने निर्णय गरेका छन्।

एक वर्षभन्दा कमको ब्याज दर ०.२५ प्रतिशत बिन्दुले घटाएर ११.५० प्रतिशत कायम गर्ने निर्णय गरेका छन्।

वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्।

फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपको ब्याज दर ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन्। तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन्। 

पछिल्लो समय ब्याजदर घटाउने दबाब छ। व्यवसायीले आन्दोलन नै घोषणा गरेका छन्।

निक्षेपको ब्याजदर घटेपछि लागत कम भएर आधार दर पनि कम हुन्छ। आधार दर कम हुँदा ऋणको ब्याज दर पनि घट्ने छ।