गुण एयरलाइन्स वित्तीय अडिटमा असफल, जेट स्ट्रिम जहाज बेच्‍न र उडान गर्न नपाउने

वसन्तराज उप्रेती
२०७९ फागुन ३० गते ०८:०६ | Mar 14, 2023
गुण एयरलाइन्स वित्तीय अडिटमा असफल, जेट स्ट्रिम जहाज बेच्‍न र उडान गर्न नपाउने

काठमाडौं। गुण एयरलाइन्स वित्तीय अडिटमा कमजोर देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको लेखा परीक्षणमा कमजोर पाइएको हो।

Tata
GBIME
Nepal Life

पाइलट र कर्मचारीलाई तलब दिन नसकेको जानकारी पाएपछि प्राधिकरणले गुणका सबै जहाज ग्राउण्डेड गर्दै वित्तीय अडिट गरेको थियो। कम्पनीले तीन महिनादेखि कर्मचारीलाई तलब दिएको छैन र प्राधिकरणको सेवा शुल्क पनि तिर्न सकेको छैन।

यो कम्पनी राजेन्द्र शाक्यको हो। घरजग्गा व्यवसाय धरासायी भएपछि ८ वर्षअघि उड्डयन क्षेत्र छाडेका थिए। उनले दुई वर्षअघि पुन: यो एयरलाइन्स सञ्चालनमा ल्याएका हुन्। तर, उनले वित्तीय व्यवस्थापन भने गर्न नसक्दा फेरि समस्यामा परेका हुन्।

‘यो कम्पनीको आर्थिक अवस्था निकै कमजोर देखिएको छ। उड्डयन उद्योगमा वित्तीय अवस्था मेरुदण्ड हो। तर, हामीले केही दिनअघि गरेको अडिटले कम्पनीको वित्तीय अवस्था कमजोर देखाएको छ,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने,’हामीले कम्पनीलाई पत्राचार गरिसकेका छौं।’  

उनका अनुसार कम्पनीले प्राधिकरणलाई चार करोड रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी छ।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता चुक्ता नगरे पाँचवटा जेटस्ट्रिम जहाज बिक्री अनुमति नपाउने उनले जानकारी दिए। दुईवटा विचक्राफ्ट र पाँचवटा जेटस्ट्रिम जहाज रहेको यो कम्पनी एक महिनायता ग्राउण्डेड छ।  

यो कम्पनीले आफूसँग भएको पाँचवटा जेटस्ट्रिम विक्री गरेर ठूला किसिमका जहाज ल्याउने योजना बनाएको जिकिर गर्दै आएको छ। यसका लागि जहाजको अवस्था निरीक्षणको काम धमाधम भइरहेको कम्पनीले जनाएको छ।               

सन् २००९ मा स्थापना भएको यो कम्पनी ‘गुण एयरलाइन्स’ सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालन हुँदै आएको थियो। दुई वर्षअघि पुनः उडान सुरु गरेको यो कम्पनीले यसअघि सातवटा जहाजमार्फत सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, विराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका गन्तव्यमा उडान गर्दै आएको थियो।