
काठमाडौं। नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’ आयोजना गरेको छ।
भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नवलपुर र चितवनका महिला लघु उद्यमी र युवा उद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न भिलेजले मेलाको आयोजना गरेको जनाएको छ।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृतिलगायतको प्रवर्द्धन र विकासमा र्पुयाएको योगदानको प्रशंसा गरे।
कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने उनको भनाइ छ।
यसैगरी गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुनलागेको थारु समुदायको संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न कार्यक्रमहरु प्रदर्शन गरिएको बताइएको छ।
मेलामा नबिल बैंकका कावासोती शाखा प्रबन्धक मञ्जिल दुलालले डिजिटल तथामोबाइल बैंकिङ कार्यशालाको सहजीकरण गरेका थिए। उनले अनलाइन वित्तीय सेवा, डिजिटल बैंकिङ एप तथा भुक्तानी पोर्टलबारे सहभागीहरुलाई जानकारी दिएका थिए।
स्थानीय महिला लघु उद्यमी र महिला समूहहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वित्तीय समावेशीकरणमा सहभागी हुन कार्यशालाले सहयोग पुग्ने विश्वास लिइएको छ।
मेलामा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उद्घाटनको गरिएको थियो। नवलपुर रेसिडेन्सी एक्जिबिसनमा विशेषगरी नवलपुर र चितवनको ग्रामीण जीवनको सौन्दर्यलाई प्रस्तुत गरिएको थियो।
ओपन–एयर म्युजियममा चर्चित नेपाली एवम् अन्तर्राष्ट्रिय कलाकारले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कला प्रदर्शन गरिएको थियो।
चौधरी फाउन्डेसनअन्तर्गत सञ्चालित भिलेजले नेपाली कला संस्कृतिको विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।