१२०० मेगावाटको बुढीगण्डकीभन्दा माथि ९० अर्बमा दुई ठुला आयोजना निर्माण हुँदै, पीपीए गर्ने तयारी

बिजमाण्डू
२०७९ फागुन २५ गते १६:०७ | Mar 9, 2023
१२०० मेगावाटको बुढीगण्डकीभन्दा माथि ९० अर्बमा दुई ठुला आयोजना निर्माण हुँदै, पीपीए गर्ने तयारी


काठमाडौं। प्रस्तावित १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाभन्दा माथिल्लो बेल्टमा दुई जलविद्युत आयोजना निर्माण हुने भएको छ।

Tata
GBIME
Nepal Life

ऊर्जा मन्त्रालयले निर्माण गर्न लागेको बुढीगण्डकी जलविद्युत आयोजनाभन्दा केही माथि नौलो नेपाल हाइड्रोइलेक्ट्रिसिटी प्रालिले बुढीगण्डकी-क र ख निर्माण गर्न लागेको हो। सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी खोलेको भएपनि लगानीको मोडालिटी नटुंगिँदा अलपत्र जस्तै छ। तर, त्यस आयोजनाभन्दा माथि निर्माण हुने आयोजनाहरुको भने विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुने भएको छ।

विद्युत नियमन आयोगले दुवै आयोजनासँग वर्षायाममा ४.८० रुपैयाँ प्रति युनिट र सुक्खायाममा ८.४० रुपैयाँमा पीपीए गर्न लागेको जनाएको छ। सुक्खायाममा पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ प्रतियुनिट तोकिएको छ। उक्त आयोजनाको चैत ९ गते सार्वजनिक सुनुवाई हुँदैछ।

सरोकारवाला निकायहरुलाई लिखित राय/सुझाव पेस गर्न आग्रह गरिएको छ। सरोकारवाला निकायसँग छलफल गर्दा कुनै समस्या नदेखिए पीपीएका लागि सहमति दिइने आयोगका प्रवक्ता गोकर्णराज पन्थले बताए। उनका अनुसार त्यसपछि प्राधिकरण, प्रवर्द्धक र सरोकारवाला निकायहरु बसेर पीपीए गर्नेछन्।

पीपीए भएसँगै दुवै आयोजनालाई फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) गर्ने र आयोजना निर्माण अघि बढाउन बाटो खुल्नेछ। पीपीए नभएसम्म फाइनान्सियल क्लोजर गर्न मिल्दैन।

यी दुवै आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। कम्पनीले झण्डै १ अर्ब रुपैयाँ खर्च गरेर दुवै प्रतिवेदन तयार पारेको हो। यी दुवै आयोजनाका लागि कम्पनीले २०७० असारमै विद्युत उत्पादनको अनुमतीपत्र माग गर्दै दरखास्त दिएको थियो। तर, अहिलेसम्म विभागले अनुमति भने दिइसकेको छैन।

२०६५ सालमा सर्वे लाइसेन्स पाएर नौलो नेपाल हाइड्रोइलेक्ट्रिसिटी प्रालिले काम थालेको थियो। तोकिएको समयमा पीपीए नभएको भन्दै २०७४ फागुन २३ गते उत्पादन अनुमतीपत्रको आवेदन रद्द गरिएको थियो। त्यसपछि सरकारले यसलाई ‘जनताको जलविद्युत कार्यक्रम’ मा समेत राख्यो। तर, यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा कम्पनीले मुद्दा दायर गर्‍यो। २०७५ चैत २७ गते सर्वोच्च अदालतले बुढीगण्डकी-क जलविद्युत आयोजना नौलो नेपाल कम्पनीको स्वामित्वमा नै हुने फैसला गर्‍यो।

५ वर्षमा सर्वेक्षणको सबै काम र २ वर्षमा वित्तीय व्यवस्थापन गर्नेगरि जिम्मा दिइएको थियो। अब भने यी दुवै आयोजना अघि बढ्ने भएको छ। 

बुढीगण्डकी-क जलविद्युत आयोजना

२२६ मेगावाटको बुढीगण्डकी-क जलविद्युत आयोजना गोरखाको आरुघाट गाउँपालिकामा प्रस्ताव गरिएको छ।

आयोजनाबाट ५४१.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुन्छ। वर्षायाममा १ अर्ब ७० करोड ६० लाख ६ हजार ८०९ किलोवाट घण्टा उत्पादन हुनेछ। सुक्खायाममा भने ३७ करोड ७५ लाख ९ हजार ३२० किलोवाट घण्टा उत्पादन हुनेछ। आयोजनाको ३१ अर्ब ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो जलविद्युत आयोजनाको पिकिङ अवधि ५ घण्टा रहेको छ।

बुढीगण्डकी-ख जलविद्युत आयोजना

यो आयोजनाको जडित क्षमता १०३.४ मेगावाट छ।  यो आयोजना आरुघाट गाउँपालिकामा नै प्रस्ताव गरिएको छ। आयोजनाको ५.५ घण्टा पिकिङ आवर रहेको छ।। आयोजनाबाट १२१४.१२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। वर्षायाममा ३ अर्ब ७७ करोड ३२ लाख ६ हजार ७५७ किलोवाट घण्टा र सुक्खायाममा ८३ करोड ६६ लाख ८९ हजार ७३६ किलोवाट घण्टा उत्पादन हुनेछ। यो आयोजनाको लागत करिब ५७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।