ट्‍वीटरको आम्दानी बलियो हुने मस्कको प्रक्षेपण, भन्छन् ‘खर्च घटाएका छौं’

बिजमाण्डू
२०७९ फागुन २४ गते १४:०४ | Mar 8, 2023
ट्‍वीटरको आम्दानी बलियो हुने मस्कको प्रक्षेपण, भन्छन् ‘खर्च घटाएका छौं’

काठमाडौं।  इलन मस्कले ट्‍वीटरको आम्दानी बलियो हुँदै जाने प्रक्षेपण गरेका छन्। आउने त्रैमासमा आक्रामक रूपमा लागत कटौती गरिरहेकाले कम्पनीको नगद प्रवाह सकारात्मक हुने दाबी उनले गरेका हुन्।  

Tata
GBIME
Nepal Life

मोर्गन स्टेनली लगानीकर्ता सम्मेलनमा बोल्दै मस्कले ट्‍वीटर खरिद गर्नु अघि ट्वीटरले कसरी आफ्नो मेसेजिङ सेवाबाट कमजोर रूपमा पैसा कमाउनको लागि व्यवस्थित गरेको पनि बताए। 

केही दिन अघिमात्रै ट्‍वीटरको वार्षिक आम्दानी वृद्धि दरमा भारी गिरावट आएको रिपोर्ट सार्वजनिक भएको थियो। मस्कले गत अक्टोबरमा कम्पनीको जिम्मेवारी लिएपछि यो गिरावट आएको तथ्यांकमा थियो। साथै कम्पनीले आफ्नो आम्दानी र समायोजित आम्दानीमा गत डिसेम्बरमा ४० प्रतिशतको गिरावट आएको पनि रिपोर्ट गरेको छ।

नोभेम्बरमा ट्‍वीटर टाट पल्टिने अवस्थामा रहेको बताएका मस्कले डिसेम्बरमा भने कम्पनी आम्दानी-खर्च बराबरको अवस्थामा आएको जानकारी दिएका थिए।

विज्ञापन अनुसन्धान फर्म-स्ट्यान्डर्ड मिडिया इन्डेक्स अनुसार डिसेम्बरमा मात्रै  ट्‍वीटरको विज्ञापन आम्दानी ७१ प्रतिशतले झरेको छ। विज्ञापनदाताहरूले हात उठाएपछि कम्पनीको प्रमुख आम्दानीको स्रोतलाई ठूलो धक्का पुगेको छ।

कम्पनीले आफ्नो ऋण बाहेकका खर्चलाई यस वर्षमा अनुमानित ४.५ अर्ब डलरबाट १.५ अर्ब डलरमा घटाएको छ। जसका लागि ट्वीटरले यसको क्लाउड सेवाहरूको खर्चमा ४० प्रतिशतले कटौती गरेको छ। साथै एउटा डाटा सेन्टर बन्द गरेको छ। खर्च कटौती गर्न कै लागि भनेर ट्वीटरले पनि हजारौं कर्मचारीलाई निकालेको छ ।

मस्कले ट्‍वीटर खरिद गर्न १३ १३ अर्ब डलर ऋण लिएका थिए, जसको वार्षिक ब्याज भुक्तानी लगभग १.५ अर्ब डलर हुन्छ।

ट्‍वीटरले गत वर्ष अर्बपति मस्कलाई कम्पनी खरिदका लागि बैंकहरूले उपलब्ध गराएको ऋणमा जनवरीमा पहिलो पटक ब्याज भुक्तान गरेको थियो।

मस्कले ट्वीटर खरिद गरेसँगै कम्पनी अनेकन अनिश्चितता र समस्याबाट गुज्रिरहेको देखिन्छ। सोमबार मात्रै यसले एक बगको सामना गर्नुपर्‍यो, जसले हजारौं प्रयोगकर्ताहरूलाई लिंकहरूको पहुँचबाट रोकेको थियो। इन्टरनेट वाचडग समूह नेटब्लक्सको अनुसार, यस वर्षको सुरुदेखि यो बग ट्वीटरले सामाना गरेको  छैटौं ठूलो आउटेज हो।

यसमा मस्कले इन्जिनियरहरूले सफ्टवेयर कोडको सामान्य रूपमा क्लिन अप गरिरहेको बताएका छन्। ‘मास ले-अफ’मा परेकामध्ये यस्तै बगहरू पहिचान, फिक्स गर्ने र हटाउने काम गरिरहेका इन्जिनियरहरू धेरै थिए।

मस्कले ट्वीटरमा व्यवस्थापन टोली निर्माण गर्न अझै केही वर्ष लाग्ने अनुमान गरेका छन् । साथै उनले प्रयोगकर्ताहरूले अन्ततः एक क्लिकमा एकअर्कालाई पैसा पठाउन सक्ने भुक्तानी सेवा निर्माण गर्ने पनि बताए। 

‘मलाई लाग्छ ट्वीटर संसारको सबैभन्दा ठूलो वित्तीय संस्था बन्न सक्छ,’ उनले भने। प्लेटफर्ममा विज्ञापनहरू थप सान्दर्भिक बनाउन कम्पनी केनद्रीत रहेको उनले जनाए।

ट्वीटरमा हाल २५३  मिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरू छन् जसलाई चौथो त्रैमासमा मोनिटाइज गर्न सकिनेछ। मस्कका अनुसार ट्विटरले हाल प्रति घण्टा ५ देखि ६ सेन्ट कमाउँछ जसमा प्रयोगकर्ताहरूले प्लेटफर्ममा प्रतिदिन आफ्नो समयको १३० मिलियन घण्टा खर्च गर्छन्। कम्पनीले यसलाई १५ देखि २० सेन्टसम्म बढाउन सक्ने उनले बताए । (रोयटर्सबाट साभार)