इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको कारोबार साढे ८७ करोड पुग्यो, अब ध्यान कर्पोरेट क्लाइन्टमा

बिजमाण्डू
२०७९ फागुन २४ गते १२:४१ | Mar 8, 2023
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको कारोबार साढे ८७ करोड पुग्यो, अब ध्यान कर्पोरेट क्लाइन्टमा

काठमाडौं। इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले सन् २०२१/२२ मा ८७ करोड ५० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष २०२०/२१ को तुलनामा कम्पनीको कारोबार ३ करोड ८० लाख रुपैयाँले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ८३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९/२० मा क्लासिक टेकले ६८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो।

सन् २००९ जुलाई १६ मा जेरो पोइन्ट रेमिट प्रालिको नाममा स्थापित यो कम्पनी २०१० अगस्ट २९ मा भने इन्टरनेट सेवा प्रदायक (आइएसपी) मा रुपान्तरण भएको थियो। २०१४ मार्च ३१ मा भने क्लासिक टेक नेटवर्क सेवा प्रदायक बनेको थियो।

क्लासिक टेक पब्लिक लिमिटेडमा रुपान्तरण हुने तयारीमा छ। सर्वसाधारणलाई आइपीओ जारी गर्ने उद्देश्यसहित क्लासिक टेक पब्लिक कम्पनीमा रुपान्तरण हुने योजनामा छ।

अहिले क्लासिक टेकले एफटीटीएचमार्फत फाइबर अप्टिकल इन्टरनेट सेवा दिइरहेको छ। कम्पनीले देशका ७४ वटा जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गरिसकेको छ। काठमाडौं उपत्यकाभित्र २८ र बाहिर १०४ शाखा सञ्जालमार्फत इन्टरनेट सेवा दिइरहेको जनाएको छ।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमेश खरेल हुन्। संचालन क्षमतामा भएको वृद्धिकै कारण क्लासिक टेकको कारोबार बढेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। कम्पनीले कुल कारोबारको ९० प्रतिशत हाराहारी रिटेल इन्टरनेट सेग्मेन्टबाट आर्जन गर्छ। अब भने कम्पनी कर्पोरेट सेग्मेन्टमा आक्रामक बन्ने लक्ष्य लिएको छ।

कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कर्जाका लागि रेटिङ पाएको छ। ७८ करोड ९९ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘एनपी डबल बी’ र ५१ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एनपी ए फोर’ रेटिङ पाएको छ।