१.८७ अर्ब डलर लगानी भित्र्याउने भएपछि अडानी बाउन्स ब्याक, सेयर मूल्य १० प्रतिशत बढ्यो

बिजमाण्डू
२०७९ फागुन १९ गते २१:३० | Mar 3, 2023
१.८७ अर्ब डलर लगानी भित्र्याउने भएपछि अडानी बाउन्स ब्याक, सेयर मूल्य १० प्रतिशत बढ्यो


काठमाडौं। अडानी ग्रुपको सामित्वमा रहेको सात पब्लिक कम्पनीहरूले सेयर मूल्य बढेको छ। जीक्युजी पार्टनर्सबाट १.८७ अर्ब डलर लगानी सम्झौता घोषणा गरे लगत्तै अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा १० प्रतिशतले बढेको हो।

Tata
GBIME
Nepal Life

अडानी इन्टरप्राइजेजको सेयर १०% अपर सर्किट लिमिटमा भारु १,७६७.३५ मा कारोबार भएको थियो।

त्यस्तै, अडानी ग्रुप अन्तर्गतका बाँकी ६ पब्लिक कम्पनी, अडानी ट्रान्समिसन, अडानी ग्रीन इनर्जी, अडानी टोटल ग्यास, अडानी विल्मर, अडानी पावर र एनडीटीभी सबैको पाँच प्रतिशतले अपर सर्किट लागेको छ। अडानी पोर्टको सेयरमा भने सात प्रतिशतले बढेर ६६९ भारतीय रुपैयाँमा कारोबार भयो।

अडानी ग्रुपको बाँकी स्टक पनि ग्रीन जोनमा कारोबार भएको थियो। लगातार चौथो दिनदेखि अडानी ग्रुपको सेयरमा उछाल आएको छ।

अघिल्लो दुई दिनमा ७४,००० करोड भारतीय रुपैयाँ बढेको अडानीका कम्पनीहरूको विहीबार कुल बजार मूल्य ३०,००० करोड भारतीय रुपैयाँले बढेको छ।

योसँगै, बिहीबार फोर्ब्सको धनाढय सूचीमा २७‌ ‌औँ स्थानमा रहेका अडानी शुक्रबार ४३.३ अर्ब डलर कूल सम्पत्तिका साथ एक स्थान माथि उक्लिएका छन्। 

यद्यपि, अडानी समूहसँगको सम्झौता जीक्युजी पाटनर्सको लागि भने राम्रो सावित भएन। अष्ट्रेलियामा सूचीबद्ध  कम्पनीको सेयर शुक्रबार ३ प्रतिशतले घट्यो।

यस हप्ताको बाउन्स ब्याकको बावजुद, जनवरीको अन्त्यमा हिन्डनबर्ग रिपोर्ट जारी भएदेखि अडानी स्टकले अझै यसको बजार मूल्यको ५७ प्रतिशत मूल्य गुमाएको छ।

हिन्डनबर्ग रिपोर्टको प्रभाव अडानी स्टकमा मात्रै सीमित रहेको छैन। हिन्डनबर्ग रिपोर्टको बैंक र सरकारी स्वामित्वको एलआईसीको स्टकमा पनि प्रभाव पारेको छ।

अडानीको स्टकमा आएको पहिरोले सामान्यदेखि ठूला लगानीकर्ताले सम्पत्ति गुमाएपछि जनगुनासो सुन्दै भारतको सर्वोच्च अदालतले यस मुद्दाको छानबिन गर्न समिति गठन गरेको छ।

सर्वोच्च अदालतले सेयर बजारको नियामक निकाय सेबीलाई आगामी दुई महिनाभित्र अनुसन्धान पूरा गर्न पनि निर्देशन दिएका छन्।

जीक्युजी पार्टनर्सबाट १.८७ अर्ब डलरको लगानी

अडानी ग्रुपले अमेरिकी एसेट म्यानेजमेन्ट फर्म, जीक्युजी पार्टनर्सबाट १.८७ अर्ब डलरको लगानी पाएको छ। फ्लोरिडा मुख्यालय रहेको जीक्युजीले अडानी इन्टरप्राइजेज लगायत अडानी ग्रुपका चार कम्पनीहरूमा लगानी गरेको हो। 

भारतीय अर्बपति गौतम अडानीको स्वामित्वमा रहेको समूह हिन्डेनबर्गले गत जनवरीमा जारी गरेको प्रतिवेदनपछि विवादमा छ। यसले अडानीलाई धेरै ठूलो राहत दिएको छ।

अमेरिकी अनुसन्धान संस्था हिन्डेनबर्गले अडानीको स्वामित्वका केही कम्पनीले जाली वित्तीय विवरण जारी गरेको र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो। त्यसलगत्तै अडानीका पब्लिक कम्पनीहरूले बजारबाट १३५ अर्ब डलर बढी गुमाइसकेका छन्। अडानी समूहले भने हिन्डेनबर्गले लगाएका सबै आरोपको खण्डन गरेको छ।

‘जीक्युजी पार्टनर्सको लगानीले विश्वव्यापी लगानीकर्ताहरूको अडानी ग्रुपका कम्पनीहरूको पोर्टफोलियोको वृद्धि, सुशासन, व्यवस्थापन अभ्यासहरूमा निरन्तर विश्वास रहेको देखाउँछ,’ अडानी ग्रपका प्रमुख वित्तीय अधिकारी जुगेशिन्दर सिंहले भनेका छन्, ‘हामी पूर्वाधार र दिगो ऊर्जा, लजिस्टिक र हरित ऊर्जामा रणनीतिक लगानीकर्ताका रूपमा पार्टनर्सको भूमिकाको कदर गर्छौं।’ 

जीक्युजी पार्टनर्सका अध्यक्ष एवं प्रमुख लगानी अधिकारी राजीव जैनले यी कम्पनीहरूको दीर्घकालीन वृद्धिका सम्भावनाहरू पर्याप्त भएकाले यसमा लगानी गरेको बताए। साथै उनले गौतम अडानीलाई आफ्नो पुस्ताका उत्कृष्ट उद्यमीहरू मध्ये मान्ने पनि बताए।

त्यस्तै, अडानी इन्टरप्राइजेजले सोभरेन वेल्थ फण्ड(सरकारी लगानी कोष) बाट ३ अर्ब डलर क्रेडिट सुरक्षित गरेको मिडिया रिपोर्टलाई अस्वीकार गर्दै असत्य भएको दाबी गरेको छ। 

‘ती समाचारहरू बजारको अफवाह भएको हामी स्पष्ट गर्न चाहन्छौं। त्यसैले यसमा टिप्पणी गर्नु अनुपयुक्त हुनेछ,’ अडानी ग्रुपले भनेको छ।