कियाको कारेन्स नेपाली बजारमा ल्याउने तयारीमा कन्टिनेन्टल ट्रेडिङ, सुरुवातमा थोरै युनिट आउने

बिजमाण्डू
२०७९ फागुन १९ गते १३:१५ | Mar 3, 2023
कियाको कारेन्स नेपाली बजारमा ल्याउने तयारीमा  कन्टिनेन्टल ट्रेडिङ, सुरुवातमा थोरै युनिट आउने

काठमाडौं। लामो समयदेखि लाग्दै आएको आयात प्रतिबन्धका कारण नेपाल आउन नपाएको कियाको नयाँ गाडी कारेन्स अर्को हप्ता नेपाल भित्रिने भएको छ।

Tata
GBIME

किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको नयाँ गाडी  कारेन्स मार्च ११ मा नेपाली बजारमा भित्र्याउन लागिएको जनाएको छ। कम्पनीले नेपालमा बिक्रीका लागि प्रवर्द्धन योजना बनाइसकेको छ।

कम्पनीका अध्यक्ष सुहृद घिमिरेले सुरुवातमा कारेन्स केही युनिट मात्र आइपुग्ने बताए। उनका अनुसार हाल नयाँ गाडीहरुको सप्लाई कम रहेकाले अहिले थोरै युनिट मात्र नेपाल ल्याउन लागिएको छ।

यो गाडीको सुरुवाती मूल्य ४८ लाखदेखि सुरु हुने घिमिरेले जनाकारी दिए। उनका अनुसार टप भेरियन्टको मूल्य भने ५२ लाखसम्म हुन सक्नेछ। यो गाडीको अहिले मूल्य तोकिएको छैन।

भारतमा पेट्रोल र डिजेल इन्जिन अप्सनमा उपलब्ध कारेन्स अहिलेलाई नेपालमा भने १.५ लिटरको पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने छ।

यसको इन्जिनले ११५ पीएस पावर र १४४ न्यूटन मिटरको टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड म्यानुअल गियरबक्स र ७ स्पीड डिसीटी गियरबक्स विकल्पको रुपमा उपलब्ध हुने उनले बताए।

यसैगरी कारेन्समा धेरै सुरक्षाका फीचरहरु पनि थप गरिएको छ। यसमा नयाँ नियम अनुसारको ६ वटा एयरव्याग, एबीएस ब्रेकिङ सिस्टम, इलेक्ट्रोनीक स्टेविलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटर, भेहिकल स्टेविलिटी मेनेजमेन्ट, डाइनामिक ब्रेक कन्ट्रोल, अल ह्‍वील डिस ब्रेक, हिल असिस्ट जस्ता आधुनिक फीचर छ। यस्तै यसमा ७ सिट क्षमता छ।

कियाले कारेन्समा डिजिटल कन्सोलका साथै वायरलेस एप्पल कार प्ले तथा एन्ड्रोइड अटो दिएको छ। कनेक्टेड कार टेक भएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र बोसको ८ वटा स्पीकरले इन्टरटेन्टमेन्ट सिस्टम आकर्षक बनाएको छ। कारेन्स ५ भेरियन्टमा उपलब्ध हुनेछ।

अन्य फीचरका रूपमा रियर भ्यु क्यामरा, इलेक्ट्रिकल्ली एड्जस्टेवल ओराभीएम, स्टेरिङ माउण्टेड कन्ट्रोल सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिक सनरुफ, वायरलेस फोन चार्जर, ६४ फारक कलरसहितको एम्वीयन्ट लाइट दिइएको छ।

कम्पनीले यसमा पार्किङ सेन्सर र अटोमेटिक एसी जस्ता फीचर पनि उपलब्ध गराएको छ। कियाले सेल्टोस र सोनेटपछि आफ्नो भारतीय सवारी कारखानामा निर्माण गरेको तेस्रो मोडल कारेन्स हो।