
काठमाडौं। लामो समयदेखि अलपत्र पारिएको कमलविनायक-नगरकोट सडक बनाउन डेढ महिनाको समय दिइएको छ।
बिहीबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नाराणकाजी श्रेष्ठले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलाई लिएर अलपत्र सडकको अवस्था हेर्न लगेका थिए।
मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गर्दै ठेकेदारको सहमतिमा डेढ महिनाको समयवधिमा निर्माण सक्न निर्देशन दिएका हुन्।
अनुगमनमा पुगेका मन्त्री श्रेष्ठको टोलीलाई स्थानीयले रोकेर सडकको अवस्था बारे आक्रोश पोखेका थिए। स्थानीले मन्त्री श्रेष्ठलाई धेरै मन्त्रीज्यूहरु यसरी आश्वसन दिन आउने गरेको भन्दै काम गरेर देखाउन आग्रह गरेका छन्।
‘एक स्थानीय जनताले धेरै दु:ख पाएको भनेर रोके। मन्त्री आउँछन्। अनुगमन गर्छन् जान्छन भन्ने धारणा राखेका थिए,’ मन्त्रालय स्रोतले भन्यो।
यसै क्रममा मन्त्री श्रेष्ठले स्थानीयसँग १ महिनादेखि डेढ महिनाको समय मागेका हुन्। डेढ महिनामा पनि ठेकेदारले काम नसके ठेक्का नै तोड्ने श्रेष्ठले स्थानीयलाई आश्वासन दिएका छन्।
उक्त सडक अब कालोपत्रे हुन ३ किलोमिटर मात्र बाँकी रहेको र नयाँ बनेको सडक पनि खाल्डाखुल्डी भएकाले मर्मतसम्भार गर्न समय प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए।
मन्त्रालयका स्रोतका अनुसार निर्माण व्यवसायीले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
निर्माण व्यवसायी प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन्। अधिकारीको शैलुङ कन्स्ट्रक्सनले यस्ता धेरै सडक योजनाहरु अलपत्र पार्दै आएको छ। उनले यो सडक राजनीतिक आडमा ९ वर्षदेखि अलपत्र पार्दै आएका छन्।