दोर्दी गाउँपालिकाले तयार गर्‍यो क्याम्पिङ ट्रेक रुट, यस्तो छ राउन्ड ट्रेक रुट

बिजमाण्डू
२०७९ फागुन १८ गते १७:२४ | Mar 2, 2023
दोर्दी गाउँपालिकाले तयार गर्‍यो क्याम्पिङ ट्रेक रुट, यस्तो छ राउन्ड ट्रेक रुट

काठमाडौं। दोर्दी गाउँपालपिकाले पर्वतीय पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार तयार गरेको छ। गाउँपालिकाले ४ देखि ११ दिने ट्रेकिङ रुटका लागि प्रारम्भिक पूर्वाधार तयार पारेको अध्यक्ष युवराज अधिकारीले बताए।

Tata
GBIME
Nepal Life

दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेक हुँदै दाम्राङबाट पुनः नौथरसेरा झर्ने ४ दिने ट्रेक क्याम्पिङ र नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरा ८ दिनको ट्रेकिङ रुट तयार गरेको उनले जानकरी दिए।

११ दिनको ट्रेकिङ रुट अन्तर्गत पर्यटकले नौथर शेरा इलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार/पिसहिल तर्फबाट बेसी सहर ११ दिनको ट्रेकिङ जान सकिने उनले बताए।

उनका अनुसार पर्यटकले लिपेबाट सिधैं अगाडि रहेको मिमालचुली हिमाल (७८८३ मिटर) दृश्यावलोकन गर्न सक्नेछन्।

उनले भने- ‘लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ। मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन। जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनबाट कुनै अवरोध हुँदैन।’

यसैगरी. पश्चिम तिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिने र पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि काम गरिरहेको उनले जानकारी दिए।

इलमपोखरी–लिपे–दाम्राङ रुट छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको लागि उपयुक्त रहेको उनले बताए। यी रुटमार्फत राउन्ड ट्रेक गर्न सकिने भएकाले तुलनात्मक रुपमा यात्रा रोमाञञ्चक हुने उनको भनाइ छ।

‘रुटमा मानव वस्ती छैन। यी क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहज होस् भनेर पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको छ,’ उनले भने,’पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम गर्दै आएका छौं।’

पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्ने उनले बताए। यी रुटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ।