गोल्डस्टार, क्यालिबरसँगै साना स्केलका जुत्ता उद्योग पनि जम्दै, साना उद्योगका उत्पादन पनि लोकप्रिय

बिजमाण्डू
२०७९ फागुन १७ गते १८:२७ | Mar 1, 2023
गोल्डस्टार, क्यालिबरसँगै साना स्केलका जुत्ता उद्योग पनि  जम्दै, साना उद्योगका उत्पादन पनि लोकप्रिय

काठमाडौं। जुत्ता-चप्पलको बजारमा अब चर्चित विदेशी ब्राण्डलाई चुनौती दिनसक्ने डिजाइन र मूल्यका उत्पादन नेपाली फुटवेयर उद्योगहरुले गर्न थालसके। जुत्ता-चप्पलमा यति धेरै भेराइटी छन्, विदेशी र स्वदेशी उत्पादन छुट्याउन गाह्रो पर्छ।

Tata
GBIME
Nepal Life

गोल्डस्टार, क्यालिबर जस्ता हाइ स्केलमा जुत्ता उत्पादन गर्नेदेखि कुनै खास वर्गका ग्राहकलाई लक्ष्य जुत्ता उत्पादन गर्ने दोचा, दुल्ला लगायतका ब्राण्डहरूले बजारमा राम्रो नाम बनाइसके। त्यस्तै, बिना कुनै ब्राण्ड नै जुत्ता-चप्पल उत्पादन गर्दै विदेशी ब्राण्डका लेबल राखेर व्यापार गर्नेको पनि बिगबिगी नै छ।

यस्तो प्रतिस्पर्धी बजारमा एक वर्षदेखि ‘यात्रा सुज’ले आफ्नो छुट्टै स्थान बनाएको छ। यो कम्पनीलाई उत्पादन प्रयोग गरेपछि प्रयोगकर्ताहरुले चिन्न थालेका छन्। कतै ठुला-ठुला होर्डिङबोर्ड र चहकिला विज्ञापन नआएको यो कम्पनीले विस्तारै बजार हिस्सा बढाउँदैछ।

दुई साथीले एक वर्षअघि कामकाजी महिलाहरूलाई लक्षित गर्दै बजार पुर्‍याएको एक फेन्सी जुत्ता ब्राण्ड हो यात्रा सुज। यसको सुरुवातबारे थाहा पाउन रेशमा र सायेशाको कलेजका दिनहरूमा फर्कनु पर्छ।

रेश्मा संजेल (२५ वर्षीया) र सायेशा लुइटेल (२४) को भेट स्नातक तह पढ्न सुरु गर्दा काठमाडौंको एक म्यानेजमेन्ट कलेजमा भएको थियो। दुवै उक्त कलेजमा बीबीएमा भर्ना भएका थिए। दिन बित्दै जाँदा मित्रता बढ्दै गयो। क्लासको प्रोजेक्ट मिलेर गर्थे, बहस चल्त्यो। भविष्यका योजनाहरूसम्मका विषयमा छलफल गरिरहन्थे। 

अन्तिम सेमेस्टर चल्दै थियो। रेश्मा इन्टर्नशीपमा व्यस्त थिइन् भने सायेशा जागिरे थिइन्। तर दुवै त्योबाट खुसी भने थिएनन्। हरेक दिन उनीहरू भविष्यमा के गर्ने भनेर कुराकानी गर्थे। यसै क्रममा कोरोना महामारीले पनि दुई साथीलाई सोच्न बुझ्ने समय दियो। 

अरूको काम गरेर वाक्क भएका उनीहरुलाई आफ्नै केही गर्नुपर्छ भन्ने हुट्हुटीले छोयो। यही हुट्हुटीलाई पछ्याउँदै उनीहरूले साझेदारीमा एउटा व्यवसायिक कामको थालनी गरे, त्यो हो यात्रा शुज।

‘हामी विभिन्न बिजनेस प्लानको बारेमा छलफल गर्थ्यौ। हामीले गार्मेन्टदेखि दैनिक रूपमा प्रयोगमा आउने धेरै वस्तुहरूको बिजनेस गर्ने कि भनेर सोच्यौं,’ सायेशाले सुरूवाती दिनहरू सम्झना गरिन्।

बजार बुझ्दै जाँदा उनीहरूले महिलाहरूको लागि फेन्सी जुत्ताहरूको व्यवसाय गर्ने निधो गरे। रेश्मा भन्छिन्, ‘हामीले यो निर्णय गर्दा बजार साथै हामीले गर्न सक्ने लगानीलाई पनि ध्यानमा राख्यौं।’

रेश्माले थपिन्, ‘हामीले सानो स्केलमा नै हेन्डमेड, विशेषगरी कामकाजी महिलाहरूलाई लक्षित गर्दै फेन्सी साथै कम्फर्टेबल जुत्ताहरू बनाउँछौं। प्रतिस्पर्धी बजारको बीच नै हामीले यसमा राम्रो बेस बनाउन सक्छौं भन्ने लागेर यसमा अघि बढ्यौं।’

करिब एक वर्षको समय र पाँच लाख लगानीमा रेश्मा र सायेशाले यात्रा सुजको व्यवसायिक यात्रा गत वर्ष फेब्रुअरीबाट थालनी गरे। यो साझेदारी उद्योगअघि दुवैसँग कुनै पनि व्यवसायिक पृष्टभूमिबाट थिएन, न जुत्ता-चप्पल उत्पादनको ज्ञान थियो।

यसैलाई बुझ्न र यस व्यवसायको तरिकामा भिज्न मात्रै उनीहरूलाई एक वर्षको समय लाग्यो। ‘हामीहरू दैनिक जस्तो जुत्ता फ्याक्ट्रीहरू जान्थ्यौं। सोध्दै-सोध्दै, कति दिन त हिड्दै-हिड्दै पनि पुग्यौं। हामीले चाबहिलदेखि ठैबसम्म लगभग २०० जति फ्याक्ट्री डुलेर बुझ्यौं,’ उनले सुनाइन।

मेसिन ल्याउने सोचे पनि आफ्नो लागतले नभ्याउने देखेपछि उनीहरूले मसिनबाट उत्पादन नगर्ने निधो गरे। 

जु्त्ता बनाउन भनेको जस्तो कारखाना भेटाउनेदेखि कामदार खोज्न, व्यवसाय सम्हाल्नसम्म उनीहरूले निकै हन्डर बेहोरे।

हरेक फ्याक्ट्रीमा पुग्दा उनीहरूले मालिक र कामदारहरू दुवै नै पुरूष देखिन्थे। ‘हामीलाई अचम्म लाग्थ्यो। धेरैले हामीलाई तिमीहरूले गर्न सक्दैनौ भन्ने गर्थे, त्यही हुलमा आँट्ने गर्न सकिन्छ भनेर एकाधले हौस्याउँथे पनि। हामीले दुवैलाई प्रेरणाको रूपमा लिएर अघि बढ्यौं,’ उनले भनिन्।

आ-आफ्नो बचतको पैसा लगानी गरेर उनीहरूले यात्रा शुजको श्रीगणेश गरेका हुन्। आफ्नो फ्याक्ट्री स्थापना गर्न खर्च व्योहोर्न नसक्ने हुँदा उनीहरूले चाबहिलस्थित एउटा जुत्ता फ्याक्ट्रीमा आफ्ना ६ जना कामदार राखेर व्यवसायको सुरुवात गरे।

सुरूवातमा रिसाइकल गरिएको सोलबाट दुईवटा डिजाइनको १००/१०० पिसबाट जुत्ता उत्पादन सुरू गरे। जुत्ता उत्पादन गरेपछि उनीहरूले व्यवसाय आफ्नो घरपरिवार, साथी सर्कलहरूबाट नै सुरू गरे। साथै टिकटक, इन्स्टाग्राम र फेसबुक लगायतका सोसल मिडिया प्लेटफर्मबाट ग्राहक आकर्षित गर्नतिर पनि लागे। 

विस्तारै व्यवसायले गति लिन थाल्यो। हरेक जु्त्ता रेशमा र सायेशा मिलेर डिजाइन गर्छन्। यसमा एकदिनदेखि हप्तौं लाग्न सक्ने उनीहरू सुनाउँछन्। 

‘घरपरिवार र साथीहरूले दिनुभएको फीडब्याक अनुसार हामीले हाम्रो प्रोडक्टमा सुधार ल्याउँदै पनि गयौं। सुरूवाती दिनहरूमा त एक/दुई हप्तामा एउटा  दुइटा मात्र जुत्ता बिक्री हुन्थ्यो। अहिले रिटेलमा मात्रै मासिक तीन सयसम्म जुत्ता जाने गर्छ। हामीले केही होलसेलमा पनि हाम्रो जुत्ता दिने गरेका छौं,’ सायेशाले भनिन्।

रिसाइकल गरिएको सोलबाट एक समयपछि माग अनुसार उत्पादन गर्न नसक्ने अवस्था आयो। ‘त्यसैले हामीले नयाँ सोल प्रयोग गर्न बाध्य भयौं। रिसाइकेबल सोलमा हामीले भनेको जति क्वान्टिटी र भनेको जस्तो डिजाइन दिनै मिलेन,’ रेश्माले बताइन्।

सञ्चालनको एक वर्षमा यात्रा सुजले नेपाली महिलाहरूका खुट्टाका साइजलाई ध्यानमा राखेर १८ फरक-फरक डिजाइन र तीन भिनाभिन्नै कलरमा जुत्ता बजारमा ल्याइसकेका छन्। जसको मूल्य १५ सय रूपैयाँदेखि २ हजारसम्म पर्छ। ‘हामीले एकपछि अर्को डिजाइनमा जुत्ताहरू लञ्च गरिरहेका हुन्छौं। एउटा कलेक्सन सोल्ड आउट हुनासाथ अर्को डिजाइन ल्याउँछौं। प्रायजसो महिनामा दुईवटा डिजाइन लञ्च गर्छौं।’ 

यात्रा शुजको ग्राहकहरू प्रायजसो कामकाजी महिलाहरू नै रहेको उनीहरू सुनाउँछिन्। ‘कामीकहाँ धेरैजसो कस्टमरहरू रिपिटेड नै हुनुहुन्छ,’ सायेशाले भनिन्। यात्रा सुज काठमाडौँदेखि पोखरा, चितवान, बुटवल लगायत देशको अन्य ठाउँहरूमा पनि पुगिसकेको उनीहरूले सुनाए।

अगामी दिनमा यी दुई साथीले यात्रा सुजलाई डिजाइन तथा गुणस्तरमा अझै विस्तार गर्ने र उत्पादनमा सस्टनेबल प्रयोग कसरी गर्ने कुरामा काम गर्ने बताए।