
काठमाडौं। संचार मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणले रिक्त बोर्ड सदस्य नियुक्त प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणको रिक्त कानून सदस्य नियुक्त गर्न मन्त्रालयले बुधबार दरखास्त पेस गर्न सूचना जारी गरेको छ। इच्छुक उम्मेदवारसँग सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव हुनुपर्नेछ।
तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा कानून विषयमा स्नातक गरी राजपत्रांकित प्रथम श्रेष्ठ, दशौं तह वा सोभन्दा माथिल्लो पदमा सात वर्ष काम गरेको अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ। दरखास्त पेस भने सूचना प्रकाशित भएको १५ दिन भित्र गरिसक्नुपर्ने छ।
प्राधिकरणका बोर्ड सदस्य हेमकुमार श्रेष्ठको कार्यकाल सकिएपछि सो पद रिक्त छ। श्रेष्ठलाई सरकारले २०७४ पुस २८ गते प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त गरेको थियो।
सरकारले मन्त्रालयका सचिवको नेतृत्वमा बोर्ड सदस्य नियुक्ति प्रक्रिया थालेको हो।