
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सन् २०२५/२६ मा नेपाल सुक्खायाममा पनि आत्मनिर्भर हुने प्रक्षेपण गरेको छ।
मंगलबार युएसएड ऊर्जा नेपालले आयोजना गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२५/२६ पछि सुक्खायाममा पनि निर्यात गर्न सक्ने बताए।
उनले बर्सेनि ८०० मेगावाटका दरले उत्पादन थपिने भएकाले सुक्खायाम पनि आत्मनिर्भर हुने दाबी गरे।
अहिले नेपालको कुल जडित क्षमता २४३० मेगावाट पुगेको छ। अधिकांश नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाहरु छन्। जसको बर्खामा उत्पादन ३२ देखि ३५ प्रतिशत मात्रै हुन्छ। जसका कारण पिक डिमाण्ड १७०० मेगावाट मात्रै भए पनि आन्तरिक माग धान्नका लागि ४५० मेगावाट ‘ब्ल्याक इनर्जी’ दैनिक आयात गर्नुपरेको छ।
यही वर्ष ३००० मेगावाट जडित क्षमता पुग्ने अनुमान छ। यस हिसाबले करिब ९०० मेगावाट विद्युत बर्खामा सरप्लस हुने अवस्था छ।
कुलेखानीबाहेक नेपालमा जलाशययुक्त आयोजना नभएका कारण हिउँदमा आयात गरेर माग धान्नु परेको छ। घिसिङले जलाशययुक्त आयोजना निर्माण जानुको विकल्प नभएको बताए। उनका अनुसार प्राधिकरणले १०६१ मेगावाटको अर्ध-जलाशययुक्त, ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त,२१० मेगावाटको चैनपुर सेती, ४९० मेगावाटको अरुण-४, १०० मेगावाटको तामाकोसी-५, ६० मेगावाटको मोदी लगायतका आयोजना निर्माणमा लैजान लागेको छ।
‘अप्पर अरुणको अध्ययन अन्तिम चरणमा छ। दूधकोसी टेक अफ गर्ने स्टेजमा छ,’ उनले भने,’कुनै अप्सन नै छैन। निर्माण जाने हो।’ उत्पादनसँगै प्रसारण र वितरण प्रणालीमा पनि काम गरिरहेको उनले बताए। पाँच वर्षमा ६००० मेगावाट विद्युत प्रणालीमा पुग्ने प्रक्षेपण प्राधिकरणको छ।