राष्ट्रपतिको किचलोपछि सेयर बजार २७८ अंक तल ओर्लियो, एमालेको पक्षमा बजार

बिजमाण्डू
२०७९ फागुन १५ गते १५:१८ | Feb 27, 2023
राष्ट्रपतिको किचलोपछि सेयर बजार २७८ अंक तल ओर्लियो, एमालेको पक्षमा बजार

काठमाडौं। बाह्य क्षेत्रमा देखिएको सुधार, तरलतामा आएको वृद्धि र ब्याजदर घट्ने संकेतबीच सेयर बजार उकालो लाग्ने अधिकांशको अपेक्षा थियो। दुई महिनाअघि जनार्दन शर्मालाई प्रतिस्थापन गरेर अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि सेयर बजारमा सुधार पनि देखिएको थियो।

Tata
GBIME
Nepal Life

तर, माओवादीको सहकार्य एमालेसँग लामो समय नटिक्ने संकेत देखिएपछि सेयर बजार निरन्तर ओरालो लाग्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन सोमबार एमालेले फिर्ता लिएर मन्त्रीहरु फिर्ता गर्ने निर्णय गरेपछि बजार थप ओरालो झरेको छ।

लगानीकर्ताले पुँजीवादलाई आत्मसात गरेको कांग्रेस नेतृत्वलाई छाडेर वामपन्थी नेता पौडेललाई पत्याएको देखिन्छ। जब एमालेको नेतृत्वमा अर्थ मन्त्रालय रहन्छ भन्ने चर्चा हुन्थ्यो, त्यो बेला बजार बढ्ने गरेको थियो। जब एमालेका अर्थमन्त्री रहँदैनन् भन्ने हुन्थ्यो बजार घट्ने गरेको थियो। सोमबार त्यसैले निरन्तरता पाएको छ।

सोमबार बजारमा तीव्र उतारचढाव देखिएको छ। बजार करिब ४ अंकले घटेर बन्द भएको छ। बजारमा ५२ अंकको उतारचढाव थियो।

पौडेल अर्थमन्त्री भएपछि सेयर बजार ४२७ अंकसम्म बढेको थियो। राष्ट्रपति चुनावको किचलोपछि बजार ओरालो लाग्न थालेको छ। अर्थमन्त्रीको किचलोका कारण बजार पौडेल आएपछि पुगेको उच्चतम विन्दुबाट २५७.७४ विन्दु तल ओर्लिसकेको छ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादी लगायत ८ अन्य दलले समर्थन गर्ने भएपछि सेयर बजारमा उथलपुथल छाएको थियो। त्यसअघि पनि माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने चर्चाका कारण बजार घटेको थियो।

सुधारोन्मुख अर्थतन्त्र र प्रमुख बाधक बनेको तरलता पनि सहज हुँदै गएको बेला राजनीतिक उतारचढावले पूर्णतया सेयर बजारको लय निर्धारण गर्न थालेको जानकारहरु तर्क गर्न थालेका छन्।

अर्थमन्त्री कांग्रेसबाट बन्ने चर्चालाई सेयर लगानीकर्ताले सकारात्मक रुपमा लिन सकेका छैनन्।

एमालेको समर्थन सहितको सरकार र पुँजीबजार मैत्री अर्थमन्त्रीलाई हरियालीले स्वागत गरेको सेयर बजार राजनीतिक अस्थिरतासँगै घट्दो छ। राष्ट्रपतिको उम्मेदवारी र माओवादी-कांग्रेसको गठबन्धनलगत्तै गिरावट झनै तेज भएको बजार गतिविधिले देखाउँछ।

ब्याजदर घट्ने निर्णय पनि बजारका लागि विपरीत साबित भएको थियो। ब्याजदर घट्ने निर्णय भएको भोलिपल्टै पुस २७ गते बजार ४१ अंक घट्यो थियो। घट्दै गएको मुद्रास्फीति, जसले ब्याजदर घट्ने पूर्व संकेत गरिरहेको छ, त्यसलाई लगानीकर्ताको मनोविज्ञानले चासो दिएको छैन।‍

सुधारोन्मुख तरलताले पनि बजारमा कुनै रौनक छैन। सीडी रेसियो कर्जा दिने अनुकूल छ। तर माग छैन। आधारभूत रूपमा बलियो देखिन थालेको बजारलाई पछिल्लो समय राजनीतिक उतारचढावको प्रभावले डोर्‍याउन थालेको हो।

मुख्यतया: सरकारको झुकाव अर्थतन्त्र प्रति बढ्दा बजारले पछिल्ला प्रत्येक राजनीतिक घटनाक्रममा प्रतिक्रया देखाएको थियो। अर्थतन्त्रको सबलीकरण प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि बजारको वृद्धि झन् तीव्र रह्यो।सरकार अर्थतन्त्रप्रति सचेत हुँदै गरेको आश्वासन लगानीकर्ताले पाएका थिए।

प्रधानमन्त्री दाहालसँगै अर्थमन्त्री विष्णु पौडेलले पुस ११ गते सपथ ग्रहण गरेलगत्तै सुरु भएको वृद्धि २२७७ विन्दुसम्म पुगेको थियो। यस दौरान बजारले ४२७ अंकको फड्को मार्‍यो। झनै नयाँ अर्थमन्त्रीको आगमनसँगै निजी क्षेत्रले टाउको दुखाइ बनेको चालु पुँजी कर्जा मार्गदर्शन संशोधनले लगानीकर्ताको मनोबल उच्च थियो।

तर, सरकारले विश्वासको मत पाएकै दिनबाट सेयर बजार नकारात्मक बन्यो। कांग्रेसले विश्वासको मत नदिने चर्चाले त्यस दिन बजारलाई निकै प्रभाव पारेको थियो। बजारमैत्री अर्थमन्त्री गुम्ने आशंका लगानीकर्ताहरुमा उत्पन्न हुन थालिसकेको थियो। पुस २६ गते नयाँ सरकारले विश्वासको मत लिँदै गर्दा बजार २२७७ अंकसम्म उक्लिसकेको परिसूचक त्यही दिन ३० अंकले बजारिन पुग्यो।

जसले लगानीकर्ता नयाँ सरकारको दिगोपनमा आशंका जाहिर गर्न सुरु गरिसकेको थिए। तर, त्यसयता राजनीतिक र आर्थिक दुवै क्रियाकलाप सुस्ताउँदै गए। सोहीसँगै सेयर गतिविधि पनि। एक दिन अघिसम्म अत्यधिक सक्रिय लगानीकर्ता राजनीतिक अस्पष्टताका कारण निष्क्रिय हुन थाले। यो समय बजार सेयर बजार सेलाएर एकल अंकको उतारचढाव मात्र हुन थालेको थियो। 

यस्तो प्रतिक्रिया सेयर बजारले झन्डै एक सातासम्म दोहोर्‍याएको देखिन्छ। यसबीच नयाँ सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतमा चल्दै थियो। जसले राजनीतिलाई पुन: अस्थिर बनाइदियो।

संसदमा त्यतिबेला २० सिटको नेतृत्व गरेका लामिछानेले विवाद कै कारण सरकारलाई दिएको समर्थन छोड्दा नयाँ सरकार लाचार हुने अवस्थामा पुग्ने थियो। यस्तो गम्भीर माहोलका दौरान बजारले निश्चित लय पहिल्याउन सकेको थिएन। तर, माघ १३ गते लामिछानेको विवाद निष्कर्षमा पुग्यो र उनले सांसद पद गुमाए।

उनको पार्टीले समर्थन जारी राखे पनि त्यसयता बजार नकारात्मक बन्न सुरु गरिसकेको थियो। जसले राजनीतिक अस्थिरताको पूर्व संकेत गरेको पनि थियो। शनिबार राष्ट्रपतिका लागि मनोनय दर्ता भएलगत्तै खुलेको बजारमा ६७ अंकको उतारचढाव लिएको छ। 

सोमबार सत्ता साझेदारी एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बजारमा पुन: भारी अंकले घटेको छ। पछिल्लो दुईवटा बुलिस सेन्टिमेन्टमा राजनीतिक नेतृत्व गरेको एमाले र अर्थमन्त्री पौडेल गुमाउँदा सेयर बजारको मनोबल पुन: गुमेको छ।