
काठमाडौं। टीभीएस मोटर्सको अपाचे ओनर्स ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड भारतको छत्तीसगढको सारन्गढ पुगेको छ। गत बिहीबार सुरु भएको यात्रामा सहभागी अपाचे प्रयोगकर्ताहरु अहिले भारतका विभिन्न स्थानबाट अघि बढिरहेको कम्पनीले जनाएको छ।
टीभीएसको नेपालका लागि बिक्रेता जगदम्बा ग्रुपले आयोजना गरेको उक्त राइडलाई पर्यटन प्रवर्द्धनको अभिप्रायले नेपाल पर्यटन बोर्डले सहयोग समेत गरेको छ। परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधै सक्रिय रूपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याएको कम्पनीले जनाएको छ।
२१ दिने लामो मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन्। पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ।
‘हामी विश्व भरिका लाखौं मोटरसाईकल पारखीहरुलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौं,’ टीभीएस मोटोसोलले राइडरहरुको स्वागतमा गरेको कार्यक्रममा बोल्दै टीभीएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, ‘यो एउटा समुदाय मात्र होइन, लाखौं युवाहरुको प्रेरणाको स्रोत हो, जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाका कुराहरुद्वारा उनीहरुलाई जोड्ने काम गर्छ।’
यस्तै उनले यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड भएको र आफूहरु मोटरसाइकलका परखीहरुलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित भएको बताएका छन्।