
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। समर्थन तत्काल फिर्ता नलिने निर्णय सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले बताए। सरकारबाट बाहिरिएको २२ दिनसम्म पनि रास्वपाले समर्थन कायमै राखेको हो।
गत माघ २२ गते रास्वपाका मन्त्री सरकारबाट फिर्ता भएका थिए। ‘न्यूनतम साझा कार्यक्रम आगामी दिनमा कसरी कार्यान्वयन गर्नुहुन्छ त्यस आधारमा तय हुने कुरा हो,’ पराजुलीले भने।
पुस १० गते बनेको एमाले र माओवादी केन्द्रको गठबन्धनमा रास्वपा पनि सामेल भएको थियो। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी विवादमा सांसद हुन अयोग्य फैसला गरेपछि पार्टी सभापति रवि लामिछानेको गृहमन्त्री पद गएको थियो।
लामिछानेको पद गए पनि फेरि गृहमन्त्रीमै रास्वपाले दाबी गरेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई दिएनन्। गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट फिर्ता भएको थियो। एमालेले गठबन्धन टुटेको ३ दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फागुन १३ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिएका थिए।
राष्ट्रपतिमा कसको कित्तामा उभिन्छ रास्वपा?
राष्ट्रपतिको निर्वाचनमा पनि पर्ख र हेरको अवस्थामा छ रास्वपा। राष्ट्रपतिका लागि कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवास नेम्वाङमध्ये अहिलेसम्म रास्वपाले कसैलाई पनि समर्थन गरेको छैन।
अबका दिनमा आफ्ना मुद्दा सम्बोधनका आधारमा राष्ट्रपतिमा कसलाई मतदान गर्ने तय हुने पनि पराजुलीले बताए। प्रतिनिधि सभामा १९ सांसद रहेको रास्वपा चौथो ठूलो दल हो। कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी, एकीकृत समाजवादी लगायत ८ दलको समर्थन छ।