६१ अंक तल खुलेको बजारले कसरी लियो पुनरागमन? राष्ट्र बैंकको प्रभाव सकियो

बिजमाण्डू
२०७९ फागुन १४ गते १५:१६ | Feb 26, 2023
६१ अंक तल खुलेको बजारले कसरी लियो पुनरागमन? राष्ट्र बैंकको प्रभाव सकियो

काठमाडौं। राष्ट्रपतिको चुनावका लागि मनोनय दर्ता भएलगत्तै खुलेको सेयर बजारमा झन्डै ६८ अंकको उतारचढाव देखिएको छ। लघुवित्तहरु माथि राष्ट्र बैंकको कडाइ प्रति असन्तुष्ट देखिएका लगानीकर्ताको मनोबल आइतबार भने केहि पुनरागमन भएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले लघुवित्तहरुको लाभांश कस्न बुधबार निर्देशन जारी गरेको थियो। जसको प्रतिक्रयामा बिहिबार कारोबारमा आएका अधिकांश लघुवित्तको सेयर मूल्यमा भारी गिरावट आएको थियो। ३३ वटाको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो। तर आइतबार तिनै लघुवित्तहरुको सेयरमा खरिद चाप देख्न सकिन्छ। सर्वाधिक बढेको लघुवित्त उपसमूह छ।

अस्वभाविक रुपमा घटेको बजारले लगानीकर्तालाई खरिदको अवसर दिएको जनाकारहरु बताउँछन्। ‘कृतिम किसिमको गिरावट अनुभव गरिएको हो,’ एक लगानीकर्ताले भने, ‘बजारले थप तल नजाने संकेत गरेलगत्तै खरिदको रणनीति बनेको देखिन्छ।’

आज बजार निकै तल्लो विन्दुमा खुलेको थियो। अघिल्लो साता २०२२.६४ को विन्दुमा बन्द भएको परिसूचक, आइतबार सो विन्दुभन्दा ६१.१४ अंक तल १९६१.५० मा खुल्यो। तर कारोबारको सुरुवाति प्रहरमा गएको पहिरो भने धेरै बेर टिक्न सकेन। निकै तल्लो विन्दुमा आएको परिसूचकलाई पछ्याउँदै झरेका सेयरहरुको मूल्य केहि क्षण मै उक्लिन थालिसकेको थियो।

विशेषगरी राष्ट्र बैंकको कडाइले सेयर मूल्यमा ठूलो चोट बेहोरेका लघुवित्तहरु नै लगानीकर्ताको आकर्षणमा छन्। ‘बजारको सामान्य गणितले पनि भनेको छ, जति बेस्सरी सेयर मूल्य बजारियो, त्यसरि नै माथि उफ्रिन्छ,’ ति लगानीकर्ताले भने, ‘तर पुनरागमन निश्चित नै भएको भने छैन। राजनितिक माहौलले कस्तो मोड लिन्छ त्यसको असर पनि हेर्न बाँकी नै छ।’

लगानीकर्ता केहि बेर पर्ख र हेरकोअवस्थामा पुग्न सक्ने उनी बताउँछन्। मुख्यतया फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको चुनावसम्म अस्थिरता कायम रहने सम्भावना उनले औल्याए। आइतबार भारी उतारचढावले कारोबार रकममा पनि उछाल आएको छ। बिहिबारको अनुपातमा सेयर कारोबार भएको हो। साढे २ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।