
काठमाडौं। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पाउन पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।
वाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम कार्यान्वयनमा ल्याएका हुन्।
नयाँ नियम लागू भएपछि एकान्तकुना कार्यालयले परीक्षामा पास हुनेको संख्या क्रमिक बढेको जनाएको छ। दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशत र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित यातायात कार्यालयले जनाएको छ।
कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालय प्रमुख राजकुमार कपालीले बताए।
सुरुमा चाप बढी भए पनि पुनः ट्रायल दिने कम हुने उनको भनाइ छ।
लिखित पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनः दुई पटक मौका पाउने गरेका छन्। ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्याइ तेहर्याइ दिने घट्ने भए,’ उनले भने।
प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको वाग्मती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो।
अरु प्रदेशमा चाप अति न्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए।
विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ।
हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ।