
काठमाडौं। चक्रपथ दोस्रो खण्ड विस्तारको काम अघि बढाउन सम्बन्धित सबै निकाय एक जुट भएका छन्।
चक्रपथ विस्तारको काम अघि नबढेपछि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार साइट निरीक्षण गरेका छन्।
उक्त साइट निरीक्षणमा नेपालका लागि चिनियाँ राजदूत छन् सङ, काठमाडौं महानगर मेयर बालेन शाह, मन्त्रालयका सचिव केशबकुमार शर्मा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको टोलीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।
यस टोलीले चक्रपथ विस्तारमा देखिएका समस्याको बारेमा निरीक्षण र छलफल समेत गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसरी सबै निकाय एकै ठाउँमा एक जुट भएर समस्या समाधान गर्ने तर्फ लाग्ने प्रतिबद्धता समेत गरेका छन्।
चार वर्षदेखि साइट क्लियर नहुँदा चक्रपथको दोस्रो खण्ड कलंकी-धोबीखोला सडक विस्तारको काम अघि बढ्न सकेको थिएन। चीनका अधिकारीहरुले पनि साइट क्लियर शतप्रतिशत हुनुपर्ने अडान राखेका थिए। तर यस निरीक्षणले चक्रपथ दोस्रो खण्ड विस्तारको काम अगाडि बढ्ने अपेक्षा गरिएको मन्त्रीले बताएका छन्।
यो खण्ड विस्तार गर्न विद्युत प्राधिकरण, मेलम्ची आयोजनाको पाइपलाइन, ढल निर्माण लगायत स्थानियको समेत केही समस्या अझै बाँकी रहेको छ। चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको हो।