लोभलाग्दो लाभांशले लघुवित्त बिग्रिएका हुन् ? हेर्नुस यस्तो छ लघुवित्तको लाभांश ?

बिजमाण्डू
२०७९ फागुन १० गते २१:०९ | Feb 22, 2023
लोभलाग्दो लाभांशले लघुवित्त बिग्रिएका हुन् ? हेर्नुस यस्तो छ लघुवित्तको लाभांश ?

काठमाडौं। सेयर मूल्यमा प्रभाव पार्न लघुवित्तहरुले क्षमताभन्दा बढी र अत्यन्तै लोभलाग्दो लाभांश प्रस्ताव गरेको आरोप राष्ट्र बैंकले लगाएको छ। 

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षका लागि आकर्षक र बम्पर प्रतिफल प्रस्ताव गर्नेहरु लघुवित्त नै परेका छन्। हालसम्म गत वर्षका लागि ४२ वटा सूचीकृत लघुवित्तहरुले लाभांश प्रस्ताव गरिसकेका हुन्। कतिपयले साधारण सभाबाट पारित गरेर वितरण पनि गरिसकेका छन्।

उत्पादन तथा प्रशोधन कम्पनीपछि अत्याधिक लाभांश दिनेमा लघुवित्तहरुको नाम अघि छ। धेरैले २० प्रतिशत वा त्योभन्दा बढी दिने प्रस्ताव गरेका छन्। सूचीकृत मध्येका जाल्पा सामुदायिक, उपकार र महिला लघुवित्तले ५० प्रतिशतभन्दा माथि दिने प्रस्ताव अघि सारेका हुन्। 

तर राष्ट्र बैंकका अधिकारीहरुले लघुवित्तमा सेयर खेलाडीहरु प्रवेश गर्दा सिद्धान्तविपरीत नाफामुखी संस्थामा परिणत भएको बताएको आरोप लगाएका थिए। खेलाडीहरु सञ्चालक बनेर संस्थामा आबद्ध हुने र आफ्नो अधिकतम सेयर हिस्साको अधिकार प्रयोग गरी आकर्षक लाभांश दिन बोर्डमा लबिङ गरेको निष्कर्ष उनीहरुको छ।

जुन सूचनाको आडमा सट्टेबाजहरुले लघुवित्तहरुको सेयरमा मूल्य उतारचढावको जुक्ति निकालेको ती अधिकारीहरुको धारणा हो। तर लघुवित्तहरुलाई क्षमताहीन लाभांश बाँड्न राष्ट्र बैंकले नै रोक लगाउँछ। लाभांश प्रस्ताव गरेकालाई कतिपय लघुवित्तलाई राष्ट्र बैंकले मुनासिब नदेखे लाभांश संशोधन नै गर्न लगाउने गरेको छ। केहीले त प्रस्ताव नै फिर्ता पनि गरेका छन्।

तर राष्ट्र बैंकको टिप्पणी अनुसार लघुवित्तहरुले स्थापनाको मुख्य उदेश्य विपरित नाफामूलक व्यवसायमा केन्द्रित भएका छन्। लघुवित्त मिटरब्याजीजस्ता भए भन्दै चर्को आलोचना सुरु भएको छ।

यसले लघुवित्त प्रति धारणा राख्नेहरु दुई तप्कामा विभाजन भएका छन्। एक तप्काले राष्ट्र बैंक आफ्नो अनियन्त्रित लाइसेन्स प्रक्रिया र कमजोर निरीक्षणको दोषारोपण सेयर बजारलाई गरिरहेको बताउँछन्। उनीहरु राष्ट्र बैंकको निति लघुवित्त व्यवसाय विपरित भएको धारणा व्यक्त गर्छन्। अर्को पक्षले लघुवित्तले नियम विरुद्ध कर्जा परिचालन र ब्याज असुली गरेको तर्क उठेको हो।     

सो विवादले लघुवित्तहरुको सेयर मूल्य घट्दो क्रममा देखिन्छ। बुधबार प्रमुख सूचक साढे ३३ अंक बढ्दा समेत लघुवित्तको सूचक डेढ प्रतिशतले खुम्चिएको छ। राष्ट्र बैंकको जिम्मेवार अधिकारीको अभिव्यक्तिले लघुवित्तमा लगानी गर्ने मनोबल कमजोर बनेको समीक्षकहरुको विश्लेषण छ। विशेषगरी कम कित्ता सूचीकृत हुने लघुवित्त समूहका सेयरमा खेलाडीको चरम जालसाजी हुने गरेको आरोप पनि लाग्ने गरेको छ।