खाद्य कम्पनीले तीन सय टन मार्सी धान खोज्दा पनि किन्न पाएन, नपाएपछि चामल किन्दै

सरला सुवेदी
२०७९ फागुन ८ गते २१:०१ | Feb 20, 2023
खाद्य कम्पनीले तीन सय टन मार्सी धान खोज्दा पनि किन्न पाएन, नपाएपछि चामल किन्दै


काठमाडौं। किसानलाई गर्जो पर्ने बेलामा अलमल गर्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष पनि लक्ष्य अनुसारको धान खरिद गर्न सकेन। चालु आर्थिक वर्षमा २१ हजार ४ सय टन खरिद लक्ष्य आधा मात्रै भेटेको छ।

Tata
GBIME
Nepal Life

बर्सेनि धानको सिजनमा कम्पनीले सरकाले तोक्ने समर्थन मूल्यमा खरिद गर्ने गरेको छ। निजी क्षेत्रले किसानका धान किनिसक्न लागेपछि मात्रै कम्पनीले खरिद खुलाउने गर्दा बर्सेनि लक्ष्य नभेट्ने गरेको हो। आफ्ना विभिन्न कार्यालय र डिपोहरुबाट यसपटक करिब १२ हजार ९ सय मेट्रिक टन धान खरिद भएको कम्पनीले जनाएको छ।

गत वर्ष पनि कम्पनीले लक्ष्यअनुसार खरिद गर्न सकेको थिएन। गत वर्ष ३० हजार टन धान खरिदको लक्ष्य थियो, प्रक्रिया ढिला हुँदा २६ हजार टनमात्र किन्न पाएको थियो। यो वर्ष पनि लक्ष्य अनुसारको धान खरिद गर्न नसकेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए।

‘हाम्रा प्रादेशिक कार्यालयहरुमा धान बेच्न किसानले निकै कम ल्याए। त्यसैले हाम्रो खरिद परिमाण कम भएको हो,’ उनले भने, ‘अहिले पनि धान खरिद बन्द भइसकेको छैन तर धान ल्याउने क्रम न्यून छ।’ चालु वर्षको २१ हजार ४ सय मेट्रिक टन खरिदको लक्ष्य नपुग्ने देखिएको उनले बताए।

यतिबेला कम्पनीले सबैभन्दा बढी धान धनगढीबाट खरिद गरेको छ। जसमा मोटा धान ३ हजार १३ टन, लहानबाट सोना मन्सुली र जिरा मसिनो गरी २४ सय ६० टन, राजापुरबाट मोटा मकवानपुर गरी ३ हजार टन, वीरगंजबाट सोना मन्सुली १४ सय टन, विराटनगरबाट १ हजार ३० टन धान खरिद गरेको छ।

अन्य जिल्लाबाट कम परिमाणमा धान खरिद भएको कम्पनीले जनाएको छ। साथै, यस पटक मार्सी धानको भने खरिद भएको छैन। कम्पनीले मार्सी धान ३ सय टन खरिद गर्ने तयारी गरेको थियो।

सरकारले धानको समर्थन मूल्य कायम गरेपछि कम्पनीले विभिन्न जिल्लामा खरिद गर्ने गरेको छ। कात्तिकमै धानको मूल्य तोकिए पनि कम्पनीले मंसिरको अन्तिमदेखि मात्र खरिद सुरु गरेको थियो। कम्पनीले सरकारले मूल्य तोकेको एक महिनापछिबाट मात्र खरिद प्रक्रिया सुरु गर्दा किसानहरुले अन्य व्यवसायीहरुलाई धान बिक्री गरेका थिए।

गत वर्ष पनि कम्पनीले खरिद प्रक्रियामा ढिलाइ गर्दा कम परिमाणमा धान खरिद भएको थियो। यो वर्षपनि धान आउने समयमा खरिद सुरु नगर्दा पुरानै समस्या दोहोरिएको हो। तराईका जिल्लामा मंसिर सुरु भएपछि नयाँ धान आउन सुरु हुन्छ।धानको मूल्य गत वर्षको भन्दा बढे पनि सरकारी कम्पनीले ढिला गर्दा हरेक वर्ष खरिद लक्ष्य भेट्न नसकेको हो।

थप १ लाख ४२ हजार क्विन्टल चामल खरिद गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षको लागि १ लाख ४२ हजार क्विन्टल चामल खरिद गर्ने भएको छ।यसका लागि कम्पनीले टेण्डर आह्‍वान गरेको छ। धान खरिद कम भएपछि कम्पनीले थप चामल खरिद गर्न टेण्डर आह्‍वान गरेको कम्पनीका नायब महाप्रबन्धक खनालले बताए।

‘कम्पनीले यसपटक खरिद गरेको धान काठमाडौंमा आइसकेको छैन। यसले गर्दा चामल खरिदको लागि प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने।

कम्पनीले अरुवा, सोना मन्सुली, स्टिम जिरा मसिनो, अरुवा साँवा, अरुवा मोटा र मार्सी लगायतको चामल खरिद गर्न लागेको हो। जसमा मुख्य शाखा कार्यालय बिर्तामोडमा ३ हजार क्विन्टल, प्रादेशिक कार्यालय विराटनगरका लागि १० हजार क्विन्टल, लहान कार्यालयका लागि १५ हजार क्वीन्टल, वीरगंजका लागि २२ हजार क्विन्टल, काठमाडौंका लागि २० हजार ३ सय क्विन्टल, भैरहवाका लागि ७ हजार ८ सय क्वीन्टल, नेपालगन्जका लागि २० हजार, धनगढीका लागि २२ हजार क्विन्टल, सुर्खेतका लागि २० हजार १ सय र तुलसीपुर कार्यालयका लागि २ हजार गरी १ लाख ४२ हजार २ सय टन चामल खरिद गर्न लागेको कम्पनीले जनाएको छ।

यो वर्ष कम्पनीले मार्सी चामल सय क्विन्टल मात्र खरिद गर्ने भएको छ। मार्सी धान किन्न नपाएपछि कम्पनीले कम परिमाणमा मार्सी चामल खरिद गर्न लागेको हो। गत वर्ष २ सय क्विन्टल मार्सी धान खरिद गर्ने भनिए पनि कम परिमाणमा खरिद भएको थियो। जसले गर्दा यो वर्ष कम परिमाणमा खरिद गर्न लागेको हो।