
काठमाडौं। तलब खुवाउन नसकेर उडान मै रोक लगाएको गुण एयरलाइन्सले जेट स्ट्रीम जहाज हटाएर ठूला जहाज ल्याउने दाबी गरेको छ।
तर सात वटा जहाजका पाइलट र कर्मचारीलाई तलब खुवाउन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उडान रोक्न पत्र पठाएको थियो।
सन् २०२३ भित्रै आफूसँग भएको पाँचवटा जेटस्ट्रीम जहाज फेज आउट गरेर ठूला जहाज खरिद गर्ने योजना रहेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए।
‘हामीले पाँचवटा जेटस्ट्रीम जहाज बिक्रीका लागि गृहकार्य गरिसकेका छौं। केही पाटी आएर जहाज निरीक्षण गरिसकेका छन्। नेगोसिएसन हुन बाँकी छ,’ प्रवक्ता थापाले भने,’हामीले यी जहाज दुई वर्षका लागि मात्र प्रयोग गर्ने योजना बनाएका थियौं।’
कम्पनीले एटीआर-७२ र बम्बार्डियर-४०० मध्ये कुनै जहाज प्रयोग गर्ने योजना बनाएको उनले जानकारी दिए। ‘यही जहाज भनेर फाइनल भएको छैन। तीनवटा ठूला जहाज खरिद गर्ने योजना बनाएका छौं,’ उनले भने,’ सन् २०२३ भित्र सुरुमा दुईवटा ठूला जहाज ल्याउँछौं।’

कम्पनीले आफूसँग भएको दुईवटा बिचक्राफ्ट जहाज भने प्रयोगमा ल्याउने योजना रहेको उनले जानकारी दिए। आइतबारबाट यी दुई जहाजको मर्मतसम्भार पुरा गरेर पुनः नियमित उडान गर्ने तयारी रहेको उनले बताए।
कम्पनीले यी पाँचवटा जेटस्ट्रीम जहाज दुई वर्ष अगाडि यती एयरलाइन्ससँग खरिद गरेको थियो। सन् २००९ मा स्थापना भएको यो कम्पनी ‘गुण एयरलाइन्स’ सन् २०१३ देखि सिम्रिक एयरलाइन्सको नाममा सञ्चालन हुँदै आएको थियो।