
काठमाडौं। ओपन एआईले आफ्नो भाइरल च्याटबट च्याटजीपीटीमा कस्टमाइजेसनको सेवा थप गरि अपग्रेड गर्ने भएको छ। माइक्रोसफ्टले समर्थन गरेको सान फ्रान्सिस्कोस्थित स्टार्टअप कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विभिन्न पूर्वाग्रहको चिन्ताहरूलाई सम्बोधन गर्दै कस्टमाइजेसनको सेवा थप गरेको हो।
ओपन एआईले आफ्नो च्याटबटमा राजनीतिक लगायत अन्य पूर्वाग्रहहरूलाई कम गर्न काम तथा थप विविध विचारहरू समायोजन गर्न काम गरिरहेको छ।
‘यसको मतलब च्याटबट अथवा प्रणालीको उत्पन्न गर्ने आउटपुटहरू हामी लगायत सबै व्यक्तिहरूको विचार या प्राथमिकताहरूसँग नमिल्न पनि सक्छ,’ ब्लग पोष्टमा भनिएको छ, ‘यसलाई सम्बोधन गर्न, कस्टमाइजेसनको सेवा अबको बाटो हुन सक्छ। यद्यपि, आर्टिफिसियल इन्टेलिजेन्सको व्यवहारमा सधैं केही सीमाहरू हुनेछन्।’
गत वर्ष नोभेम्बरमा रिलिज भएको जनरेटिभ एआई प्रविधिमा आधारित मानव बोलीको नक्कल गर्दै जवाफहरू सृजना गर्ने यस च्याटजीपीटीले संसारभरका इन्टरनेट प्रयोगकर्तालाई चकित पारेको छ।
यसै हप्ता मात्रै केही मिडिया आउटलेटहरूले च्याटबोटबाट आएका जवाफहरू सम्भावित रूपमा खतरनाक र टेक्नोलोजी प्राइम टाइमको लागि तयार नहुन सक्ने भनेर औंल्याएका थिए। यसैको जवाफको स्वरूप ओपन एआईले यो कदम चालेको हो।
माइक्रोसफ्टले बुधवार प्रयोगकर्ताको प्रतिक्रियाले यसलाई व्यापक रोलआउट अघि सुधार गर्न मद्दत गरिरहेको बतायो। उदाहरणका लागि यसको एआई च्याटबटलाई नचाहेको प्रतिक्रियाहरू दिन ‘उत्तेजित’ गर्न सकिन्छ।
ओपन एआईको ब्लग पोस्ट अनुसार च्याटजीपीटीको उत्तरहरू पहिले इन्टरनेटमा उपलब्ध ठूला टेक्स्ट डाटासेटहरूमा प्रशिक्षित हुन्छन्। दोस्रो चरणको रूपमा, मानिसहरूले सानो डेटासेटको समीक्षा गर्छन्, र विभिन्न परिस्थितिहरूमा के गर्ने भनेर दिशानिर्देशहरू दिइन्छ।
उदाहरणका लागि, कुनै प्रयोगकर्ताले वयस्क, हिंसात्मक, वा घृणायुक्त भाषण समावेश गर्ने सामग्री खोजेको अवस्थामा, मानव समीक्षकले च्याटजीपीटीलाई ‘म त्यसको जवाफ दिन सक्दिन’ जस्ता केही जवाफ दिन निर्देशन दिन्छन्।
यदि विवादास्पद विषयको बारेमा सोधिएको छ भने, समीक्षकहरूले च्याटजीपीटीलाई प्रश्नको जवाफ दिन अनुमति दिन्छन्, तर ‘यी जटिल विषयहरूमा सही दृष्टिकोण लिने’ प्रयास गर्नुको सट्टा व्यक्ति र आन्दोलनहरूको दृष्टिकोण वर्णन गर्न प्रस्ताव गर्दछ’। (रोयटर्सबाट साभार)