७ अर्ब १२ करोड खर्चेर ४३ मेगावाटको छिलुङ खोला निर्माण, ६ वर्षमा व्यवसायिक उत्पादन

बिजमाण्डू
२०७९ फागुन ४ गते ०९:०२ | Feb 16, 2023
७ अर्ब १२ करोड खर्चेर ४३ मेगावाटको छिलुङ खोला निर्माण, ६ वर्षमा व्यवसायिक उत्पादन


काठमाडौं। हनुमान हाइड्रोपावरले ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रस्तावित आयोजना गोरखाको चुमनुब्री गाउँपालिका-३ मा रहेको छिलुङ खोलाको दायाँ किनारमा निर्माण हुनेछ। आयोजना समुन्द्री सतहबाट १५६२ मिटरदेखि  २६५३.६ मिटरको उचाईमा रहेको छ।

आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पेस गरेको छ।

आयोजनाको हेडवर्क्स सिर्दिबास गाउँ र विद्युत गृह (पावर हाउस) चिलुन गाउँ र चुमचेट गाउँ नजिकै अवस्थित हुनेछ। आयोजना रन अफ दि रिभर प्रकृतिको (आरओआर) हो। यो आयोजनाको नेट हेड ९३६.७ मिटर र डिजाइन डिस्चार्ज ५.५२ घनमिटर प्रतिसेकेण्ड रहेको छ।

प्रस्तावित आयोजनाको सम्पूर्ण संरचनाहरु छिलुङ खोलाको दायाँ किनारमा प्रस्ताव गरिएका छन्। यो आयोजनाको वार्षिक ऊर्जा उत्पादन २५८.५१ गिगावाट उत्पाद हुनेछ। वर्षायाममा १७८.६९ गिगावाट आवर र सुक्खायाममा ७९.८३ गिगावाट आवर उत्पादन हुनेछ। हेडरेस पाइप ८८४५ मिटर र पेनस्टक पाइपको लम्बाई १९३८ मिटर रहनेछ। आयोजनाको विद्युतगृह भुमिसगत हुनेछ।

विद्युत गृहबाट उत्पादित विद्युतलाई स्वीचयार्डबाट करिब २ किमी १३२ केभी सिंगल सर्किट लाइन मार्फत नेपाल विद्युत प्राधिकरणद्धारा प्रस्तावित फिलिम सबस्टेसन सबस्टेसन २२०/१३२/३३ केभी मा जडान गरिनेछ।

आयोजनाको लागत ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ। भुक्तानी अवधि ८ वर्ष रहेको छ। निर्माण अवधि विस्तृत डिजाइन, सडक निर्माण तथा वित्तीय व्यवस्थापनको साथ ६ वर्षको छ।

आयोजनासम्मको पहुँचमार्ग

काठमाडौंदेखि आरुघाट बजासरसम्म करिब ९० किमी रहेको छ। आरुघाट बजारदेखि आयोजना क्षेत्र नजिकको लपुबेसीसम्म १८ किमी ग्राभेल सडक रहेको छ। प्रस्तावित आयोजनाले लपुबेसी गाउँबाट विद्युत गृहसम्म १६ किमी कच्ची सडक निर्माण गर्नुपर्छ।

काठमाडौंदेखि कुल १२४ किमी सडकमार्ग भएर आयोजनास्थलसम्म पुग्न सकिन्छ। विद्युतगृह क्षेत्रमा पहुँचका लागि  सिंगल लेन स्टिल ट्रस ब्रिज निर्माण गर्नुपर्नेछ।

४ घरधुरी प्रभावित हुने

यो आयोजना निर्माण गर्दा ४ घरधुरी प्रभावित हुने इआइए प्रतिवेदनमा उल्लेख छ। प्रभावित ४  घरधुरीको कुल जनसंङख्या १८ जना रहेको छ। जसमा ८ पुरुष र १० महिला रहेका छन्।

छिलुङ खोलाको विद्युत गृह नजिकै तल्लो तटीय क्षेत्रमा बुढीगण्डकी नदीमा पूर्णीमा डेभलपर्स नेपाल प्रालि प्रवर्द्धक रहेको २०३ मेगावाटको अपर बुढीगण्डकी जलविद्युत आयोजना रहेको छ। ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत आयोजना सूर्य इनर्जी प्रालिले निर्माण गर्न लागेको छ।

यो आयोजनाबाट निर्माण अवधिमा ३८० जना व्यक्तिहरुले रोजगारी पाउनेछन्। संचालन अवधिमा भने ३० जना व्यक्तिहरुले रोजगारी पाउनेछन्।

आयोजनाका लागि १८.४३ हेक्टर सरकारी जग्गा आवश्यक पर्छ। जसमध्ये १६.२३ हेक्टर (१४.६८ हेक्टर मनास्लु संरक्षण क्षेत्र र १.५५ हेक्टर मनास्लु  संरक्षण क्षेत्र अन्तर्गतको खोलाको बगर) स्थायी रुपमा र २.२ हेक्टर  अस्थायी रुपमा प्रयोग गरिनेछ।

आयोजनाका लागि मनास्लु संरक्षण क्षेत्रबाट ८३३ (५८१ पोल र २५२ रुख) वटा विभिन्न प्रजातिका रुखहरु कटान हुने उल्लेख छ।