
काठमाडौं। एयर इण्डिया र फ्रान्सको जहाज उत्पादक कम्पनी एयरबसबीच २५० वटा जहाज खरिद गर्ने सम्झौता भएको छ। टाटा समूहको स्वामित्वमा रहेको कम्पनीलाई आउँदो १५ वर्षभित्र विश्वकै तेस्रो ठूलो वायुसेवामा रुपान्तरण गर्ने योजना रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
जहाज संख्या विस्तार अगाडि बढाएको एयर इण्डियाले ४ सय ७० वटा जहाजमध्ये २ सय ५० जहाज एयरबस कम्पनीको खरिद गर्न लागेको हो। कम्पनीले एयरबससँग गरेको यो डिल ऐतिहासिक क्षण भएको एयरबसका सीइओ गुइलम फेरीले बताएका छन्।
मोदी, टाटा समूहका अध्यक्ष रतन टाटा र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनबीच भएको भिडियो कन्फ्रेन्समा सीइओ फेरीले यो कुरा व्यक्त गरेका हुन्। एयरबससँग भएको यो डील विश्वकै ठूलो रहेको उनले बताए।
टाटाले आफ्नो स्वामित्व लिएसँगै एयरबससँग ४० वटा लङ रेन्जको ए३५० र २१० वटा न्यारोबडी जहाज खरिद गर्न लागेको हो। कम्पनीले बाँकी २२० वटा जहाज भने बोइङसँग खरिद गर्ने योजना रहेको जनाएको छ।
‘भारत र फ्रान्स बीचको मित्रतामा यो सम्झौताले कोसे ढुंगा साबित गरेको छ,’ फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने।
एयर इण्डियाको जहाज संख्या विस्तारका लागि टाटा समूहले ७० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ। कम्पनीले आफ्नो व्यावसायिक योजना अनुसार ठूला सिरिजका जहाज विस्तार गर्दै लामो र छोटो दुरीमा उडान गर्ने जनाएको छ।
आफ्नो बजार बिस्तार गर्न एयर इण्डियाले जहाज संख्या थप्न लागेको हो। कम्पनीले भिस्तारा एयर र एयर इण्डिया एक्सप्रेससँगको साझेदारीमार्फत आउँदो पाँच वर्षमा आफ्नो आन्तरिक बजार हिस्सा ३० प्रतिशत कायम गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीले आफूसँग भएका वाइडबडी जहाजको मर्मत संभारसँगै आन्तरिक सेवाका लागि ४० करोड अमेरिकी डलर खर्च गरिसकेक जनाएको छ।