हिरोको आधिकारिक बिक्रेता नखोस्‍न अदालतको आदेश, ‘सामान बिक्री गरेर पैसा लगेपछि सम्झौता भंग’

शुक्र गिरी
२०७९ फागुन १ गते १५:२८ | Feb 13, 2023
हिरोको आधिकारिक बिक्रेता नखोस्‍न अदालतको आदेश, ‘सामान बिक्री गरेर पैसा लगेपछि सम्झौता भंग’

काठमाडौं। नेपाल जनरल मार्केटिङ (एनजीएम) सँगको आधिकारिक बिक्रेता खारेज नगर्न हिरो मोटोकर्पलाई अदालतले आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

हिरोले एनजीएमलाई आधिकारिक बिक्रेता टर्मिनेट (खारेज) गरेपछि कम्पनी अदालत पुगेको थियो।

हिरो मोटोकर्पले अर्बौंका सामान एनजीएम ट्रेडिङलाई बिक्री गरी रकम समेत लिई सामान स्टकमा रहेको अवस्थामा बिक्री गर्न नपाउँदै सम्झौता नवीकरण नगर्ने जानकारी गराएको आरोप एनजीएमको छ।

यसो गर्दा एनजीएमलाई अपुरणीय क्षति हुने अवस्था देखिएको कम्पनीको जिकिर छ।

‘हिरो मोटोकर्पले एनजीएम ट्रेडिङसँग गरेको सम्झौता बमोजिमको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्ने गरी भएको पत्राचार कार्यान्वयन नगर्नु’ भनेर अदालतले हिरो मोटोकर्पको नाममा आदेश जारी गरेको हो।

अदालतको आदेशपछि एनजीएमले आफ्नो स्टक क्लियर गर्ने समय पाउने छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले एनजीएमको पक्षमा अन्तरकालीन आदेश जारी गरेको हो।

हिरोले केही समयअघि एनजीएमलाई पत्र पठाउँदै थप व्यवसायिक सम्बन्ध अघि बढाउन नसक्ने जानकारी दिएको थियो। योसँगै हिरो र ज्योति समूह अन्तर्गतको एनजीएमसँगको झण्डै ३५ वर्षदेखिको व्यवसायिक सम्बन्ध टुंगिएको थियो। त्यसपछि कम्पनी अदालत पुगेको थियो।

यो समूहका अध्यक्ष डा. रुप ज्योति र हिरो मोटोर्कर्पका अध्यक्ष तथा सीइओ डा. प्रेमकान्त मुन्जाल परिवारबीच निकटको सम्बन्ध थियो। र, त्यही सम्बन्धका कारण पनि एनजीएमको आधिकारिक बिक्रेता नखोसिने अनुमान गरिएको थियो।

तर, पछिल्लो समयमा नेपालमा हिरोका मोटरसाइकल र स्कुटरको बिक्री दिन प्रति दिन घट्न थालेपछि हिरोले विकल्प खोजेको थियो। हिरोले एनजीएमसँग आधिकारिक बिक्रेता टर्मिनेट गरेकै कारण दुई महिनादेखि बाइक र स्कुटर डेलिभरी पनि गरेको छैन। ज्योति समूहका अध्यक्ष डा. ज्योतिले हिरोसँग केही समस्या भएपनि मिलाउने प्रयास भइरहेको बिजमाण्डूसँग बताएका थिए।

हिरोले एनजीएमसँग टर्मिनेट गर्नुअघि नेपालमा अटोमोबाइलका केही लिडर कम्पनीलाई फोन गरेको थियो। कम्पनीका उच्च तहका कर्मचारीले टेलिफोन गर्दै हिरोको हेडक्‍वाटर बोलाएका थिए। कर्पोरेट गभर्नेन्स भएका र राम्रो नेटवर्क भएका कम्पनीका सीइओलाई बोलाएर व्यवसाय गर्न प्रस्ताव गरेका थिए।

त्यो बेलामा एनजीएमले ब्राण्ड विस्तारमा ध्यान नदिएको र त्यसले व्यापार खस्किँदै गएका कारण विकल्प खोज्नुपरेको बताएका थिए।

१० वर्षअघि नै खोजेको थियो विकल्प

ज्योति समूहको स्याकार कम्पनी लिमिटेडले सन् १९८६ देखि हिरोहोण्डा ब्राण्डको मोटरसाइकलको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको थियो। सन् २०१० मा जब हिरो र होण्डा छुट्टिएपछि ज्योति समूहमा पनि समस्या सुरु भयो।

ज्योति भवनमा दायाँ होण्डा र बायाँ हिरोको शोरुम खडा भयो। कर्मचारी छुट्याइए, मेकानिक छुट्याइए, वेयरहाउस छुट्टियो, प्रोक्योरमेन्ट छुट्टाछुट्टै हुन थाल्यो। स्याकार कम्पनीले होण्डाको वितरण गर्ने, अनि नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) ले हिरो ब्राण्डको बिक्रीवितरण गर्ने निर्णय भयो। यसरी एकै परिवार भित्रको व्यापार दुई भागमा बाँडियो।

कुनै बेला एउटै ब्राण्डका लागि काम गरिरहेका दाजुभाई अब प्रतिस्पर्धीका रूपमा दुई छुट्टाछुट्टै ब्राण्डको बजार विस्तारमा लागे। त्यही बेलामा पनि हिरो मोटोकर्पले विकल्प खोजेको थियो।

र, केही व्यापारिक घरानाले हिरोको बिक्रेता लिन खोजेका थिए। तर, अटोमोबाइल क्षेत्रका ठूला व्यवसायिक घरानाको साथकै कारण हिरोले एनजीएमलाई नै निरन्तरता दियो।