
काठमाडौं। प्रगतिउन्मुख अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दै करिब ७७ अंकको फड्को मारेको सेयर बजारमा वृद्धि लामो टिक्न सकेन। दोस्रो दिनै बजार राताम्ये भएर बन्द भएको हो।
पहिलो सत्रमा आक्रामक रुपले बढेको बजार एकाएक दोहोरो अंकसहित घटेको थियो। झन्डै २२ सय १४ विन्दुसम्म उक्लिसकेको परिसूचक ४४ अंकले बजारिएको हो। यस दौरान ५२ अंको उतारचढाव बजारमा देखियो।
जानकारहरुले मंगलबारको वृद्धिलाई आवश्यक करेक्सन बताएपनि बजारमा बिक्रेता अत्याधिक हावी छन्। बिक्री अनुपात बजारमा सृजना भएको मागभन्दा बढी छ। अधिकांश आधारभूत पक्षमा सुधार हुँदाहुँदै समेत बजारको माग सुस्ताउनु सकारात्मक संकेत होइन।
पछिल्लो वृद्धिपछि ओर्लिन सुरु गरेको बजार २१ सय तल आइसकेको थियो। यही अवसरलाई मौकामा बदल्ने करोबारीहरु नाफा बुकिङमा सक्रिय भएका हुन्। किनबेच दुवै बढ्दा आज कारोबार रकममा वृद्धि देखिन्छ। पौने ४ अर्ब रुपैयाँको कारोबार भएको छ।
नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा देखिएको वृद्धिले बजारलाई भारी गिरावटबाट जोगाएको हो। कम्पनीको सेयर मूल्य १.६१ प्रतिशत बढेको छ। कारोबारमा पनि कम्पनी शीर्ष स्थानमा रह्यो।
अधिकांश उपसूचक राताम्ये हुँदा समेत नेपाल पुनर्बीमा कम्पनी समावेश अन्य समूह हरियो छ। यद्यपि एनटीसीको सेयर मूल्य भने आज घट्यो। नबिल बैंकको सेयर मूल्यमा पनि गिरावट देख्न सकिन्छ।