बैंकिङ तरलतामा सुधार: महँगोमा उठाएको पैसा लगानी गर्न सकेनन् बैंकले, ब्याज घट्ने संकेत

बिजमाण्डू
२०७९ माघ २५ गते ०९:१५ | Feb 8, 2023
बैंकिङ तरलतामा सुधार: महँगोमा उठाएको पैसा लगानी गर्न सकेनन् बैंकले, ब्याज घट्ने संकेत

काठमाडौं। मुलुकको समग्र बाह्य क्षेत्रमा सुधार देखिएपछि बैंकिङ प्रणालीको आन्तरिक तरलतामा पनि सुधार आएको छ। एकातिर ऋण बिस्तार नहुने र अर्कोतिर निक्षेपमा सुधार हुँदा समग्र प्रणालीमा तरलता सहज देखिएको हो।

Tata
GBIME
Nepal Life

तरलतामा आएको सुधारले आन्तरिक ऋणको ब्याज दर मात्र घटेको छैन बैंकहरुले आपसमा लिने अन्तर-बैंक सापटी दर पनि घटेको छ।

६ महिनादेखि माथिको आन्तरिक ऋण (ट्रेजरी बिल्स) को ब्याज दर दोहोरो अंकमा भए पनि त्योभन्दा कम अवधिको ऋणको ब्याज निक्कै घटेको छ।

१० प्रतिशतसम्म पुगेको २८ दिने ट्रेजरी बिल्सको ब्याज दर अहिले ५.९ प्रतिशत छ भने ९१ दिने ट्रेजरीको ब्याज दर ९.६३ प्रतिशत छ। अन्तर-बैंक सापटी दर पनि ४.१४ प्रतिशतमा आएको छ। यसअघि अन्तर-बैंक सापटी दर राष्ट्र बैंकले दिने स्थायी तरलता सुविधा (एसएलएफ) कै हाराहारी साढे ८ प्रतिशत थियो।

बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि करिब तीन महिनादेखि दबाबमुक्त छ। अहिले सीडी रेसियो ८६.३८ प्रतिशत छ। 

‘ऋणको माग छैन। त्यही भएर सीडी रेसियो सन्तुलनमा छ,’ प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिजमाण्डूसँग भने, ‘ऋणको ब्याज दर अलिकति माथि नै रहेकाले पनि माग नभएको हो।’ बाह्य अवस्थामा आएको सुधार र त्यसले आन्तरिक अर्थतन्त्रमा पार्न थालेको प्रभावका कारण आगामी दिनमा ऋणको ब्याज पनि कम हुँदै जाने उनले बताए।

बैंकहरुले माघ १ गतेदेखि निक्षेपको ब्याज घटाएर ११ प्रतिशतमा ल्याएका छन्। यो साधारण मुद्दतीको ब्याज हो। मुद्दतीको सँगै साधारण बचतको ब्याज पनि घटेको छ। मुद्दतीको ब्याजले बजारलाई तत्कालै असर नगरे पनि बचतको ब्याजले भने बैंकहरुको कोष लागत घटाएको छ।

बैंकर्स संघ फागुन १ गतेदेखि लागू हुने नयाँ ब्याज दरका बारेमा पुन: छलफलमा छ। राष्ट्र बैंकले चालु पुँजी कर्जा भुक्तानीलाई सहजीकरण गरेको र आयात गर्दा खोलिने एलसी मार्जिन खारेज गरेका कारण ब्याज घटाइहाल्नु कत्तिको उचित हो भनेर बैंकर्सहरु विश्लेषण गरिरहेका छन्।

‘यसैपनि आधार दर कम भएर जाने छ। त्यसो हुँदा तत्कालै निक्षेपको ब्याज थप घटाइ दिँदा बचतमा कमी आउने हो कि भन्ने संशय पनि छ,’ एक बैंकरले भने, ‘त्यसो हुँदा छलफल गरेर निर्णयमा पुग्छौं।’

अहिले बैंकहरुसँग लगानी गर्ने क्षमता २ खर्ब रुपैयाँभन्दा माथि छ। शोधनान्तर बचतमा आएको उच्च सुधारले आगामी दिनमा निक्षेप थपिएर तरलता अझ बढ्ने अनुमान बैंकरको छ। रेमिटेन्स वृद्धि अहिलेसम्मको उच्चले आगामी दिनमा पनि त्यसले भूमिका खेल्ने भन्दै उनीहरुले बचत बढ्न थालेमा ब्याज स्वतः घट्ने बताउँछन्।

‘हामीलाई पुस मसान्तका कारण अलिकति गाह्रो हुन्छ कि भन्ने थियो। आयकर भुक्तानी, राजस्व, ब्याज भुक्तानी जस्ता कारणले समस्या होला भन्ने लागेको थियो,’ बैंकर्स संघका एक पदाधिकारीले भने, ‘त्यस्तो अवस्था देखिएन। त्यसो हुँदा महँगोमा पैसा उठाउने अनि ऋण चाहिँ लगानी नहुने अवस्था आयो भने खर्च बढ्न थाल्छ। माग र आपूर्तिका कारण नै ब्याज घट्ने देखिन्छ।’

नेपाल राष्ट्र बैंकले करिब डेढ खर्ब रुपैयाँ दिएको पुनर्कर्जालाई घटाएको छ। पुस मसान्तसम्म जम्मा ११ अर्ब ७५ करोड रुपैयाँमा पुनर्कर्जा खुम्चिएको छ। सीडी रेसियोमा गणना हुने पुनर्कर्जा घट्दा समेत ऋण दिने क्षमता बैंकहरुसँग धेरै छ।

‘तर पनि ऋण त गएको छैन। ऋण जानका लागि ब्याज दर घट्नै पर्ने देखियो,’ ती बैंकरले भने, ‘सहमति गरेर रोक्ने प्रयास हुनु छुट्टै कुरा भयो। तर अहिलेको बजार ब्यवस्थाले ब्याज दर घट्नु पर्ने नै संकेत गर्छ।’