९ अर्ब लगानीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै क्यान, विराटनगर, नेपालगञ्ज र भरतपुरमा काम सुरु

वसन्तराज उप्रेती
२०७९ माघ २३ गते १२:३३ | Feb 6, 2023
९ अर्ब लगानीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै क्यान, विराटनगर, नेपालगञ्ज र भरतपुरमा काम सुरु

Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणले नौ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ। प्राधिकरणले विराटनगर, नेपालगञ्ज र भरतपुर विमानस्थल स्तरोन्नति गर्ने भएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भइसकेको र भरतपुरका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए। आन्तरिक उडानका यात्रुलाई उच्चस्तरीय सेवा दिने उद्धेश्यले परियोजना अघि बढाइएको हो।

‘यात्रु सेवा विस्तारका लागि विमानस्थलमा अत्याधुनिक सेवा सहितको टर्मिनल भवन विस्तार गर्न सुरु गरेका हौं। अधिकांश विमानस्थल संचालनमा आएको चार दशक भइसकेको छ। यही कुरालाई मध्यनजर गर्दै हामीले यो वर्ष सुरुमा विराटनगर, नेपालगञ्ज र भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण सुरु गर्न लागेका हौं,’ प्रवक्ता निरौलाले भने।

प्राधिकरणले विराटनगर र नेपालगञ्ज विमानस्थलमा ६ दशक पछिको यात्रु मुभमेन्ट अनुसारको अत्याधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको उनले बताए।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि केसी डाँफे जेभी र नेपालगञ्जका लागि शर्मा एण्ड कम्पनी ठेक्का पाएको आयोजना निर्देशक मुराहरी भण्डारीले जानकारी दिए। हाल १५ सय मिटर लम्बाई रहेको यी विमानस्थलमा एटीआर-७२ सिरिजका जहाजले नियमित उडान गर्दै आएका छन्।

‘हाम्रो मुख्य लक्ष्य भनेको यी दुई विमानस्थलमा एयरबस ३२० सिरिजको जहाज उडान अवतरण क्षमताको बनाउनु हो। यसका लागि धावनमार्ग लम्बाई २५ मिटरको तयार गर्न आवश्यक छ। यसैलाई केन्द्रित गर्दै हामीले टर्मिनल भवन तयार गर्न लागेका हौ,’ उनले भने।

यही वर्ष यी दुवै विमानस्थलको धावनमार्ग दुई सय मिटर विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए। १५ हजार स्क्वायरमिटर ओगट्ने अत्याधुनिक टर्मिनल भवनमा लाउन्ज सहितको कमर्सियल कम्प्लेक्स पनि समावेश हुने उनले बताए।

उनका अनुसार विराटनगर र नेपालगञ्जलाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन लागिएको हो।

यो निर्माणका लागि तीन वर्षको समयावधि तोकिएको उनले जानकारी दिए। यो विमानस्थल विस्तार सँगै क्रसबोर्डर उडान विस्तार सहज हुने उनले जानकारी दिए। विराटनगर विमानस्थलबाट यस अघि नेकोन एयरले कोलकाता तर्फ दुईतर्फी व्यवसायिक उडान गरेको थियो। पछिल्लो समय यो विमानस्थलमा बंगलादेशले क्षेत्रीय उडान गर्ने प्रस्ताव गरेपछि विमानस्थल स्तरोन्नति सुरु गरिएको उनले जानकारी दिए।                  

तीन वर्षअघि कोभिडका कारण रोकिएको विमानस्थल सेवा विस्तार योजना अघि बढाइएको हो। यसैगरी भरतपुर विमानस्थल स्तरोन्नति अन्तर्गत धावनमार्ग विस्तारका लागि नेपाली सेनाको जग्गा प्रयोग गर्ने निरौलाले जानकारी दिए। उनका अनुसार यसका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ।    

प्राधिकरणले भरतपुर विमानस्थलको धावनमार्ग लम्बाई चार सय मीटर विस्तार गर्न लागेको उनले बताए।  

११ सय मिटर लम्बाई धावनमार्ग रहेको यो विमानस्थलमा हाल एटीआर-४२ सिरिजको जहाजले नियमित उडान गर्दै आएको छ।

‘भरतपुरमा पनि व्यापारिक कम्प्लेक्स सहितको टर्मिनल भवन निर्माण गरिनेछ। डिजाइन तयार भइसकेको छ। विराटनगर र नेपालगञ्जको तुलनामा टर्मिनल भवन सानो रहनेछ। किनभने भविष्यमा धावनमार्ग विस्तार गर्दा जग्गा आवश्यक पर्न सक्छ,’ उनले भने।

यसका लागि करिब दुई अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।