विश्वका टप ६ सीइओहरू जसले रोजगारी कटौती र आर्थिक संकट रोक्न आफ्नो तलब घटाउँदैछन्

बिजमाण्डू
२०७९ माघ २३ गते ११:०७ | Feb 6, 2023
विश्वका टप ६ सीइओहरू जसले रोजगारी कटौती र आर्थिक संकट रोक्न आफ्नो तलब घटाउँदैछन्


काठमाडौं। विश्व बजारमा रहेका ठुला कम्पनीहरुले संचालन खर्च कम गर्न कामदार कटौती गरिरहेका छन्। कामदार कटौती रोक्न विश्वका टप कम्पनीका ६ प्रमुख कार्यकारी अधिकृतले पनि आफ्नो तलब घटाएका छन्।

Tata
GBIME
Nepal Life

उनीहरुका अनुसार यसले अहिले भइरहेको रोजगारी कटौतीको समस्यालाई केही हदसम्म कम गर्नेछ। यो योजनामा एप्पलका टिम कुक, इन्टेलका प्याट गेल्सिन्जर, गोल्डम्यान साक्सका डेभिड सोलोमन, मोर्गन स्टेनलीका जेम्स गोर्मन, गुगलका सुन्दर पिचाई र जेपी मोर्गनका जेमी डिमोन रहेका छन्।

एप्पलका सीइओ टिम कुकले सन् २०२३ मा ४० प्रतिशत तलब कटौती गर्दैछन्। जनवरीमा सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगमा पेश गरिएका कागजातहरूमा उनले वार्षिक लक्ष्य ४ करोड ९० लाख डलरमा ल्याउँदैछन्।

यसको मतलब उनको वार्षिक तलबबाट लगभग ५ करोड डलर कटौती हुनेछ। यसले कम्पनीको रोजगारी कटौतीलाई केही हदसम्म रोक्न सक्ने उनको अपेक्षा रहेको छ।

रोजगारी कटौतीको विषयलाई लिएर पछिल्लो समय विवादमा परेपछि उनले यस्तो निर्णय लिएका हुन। सन् २०२२ मा एप्पलका लगानीकर्ताहरूलाई सेयरहोल्डर सल्लाहकार फर्मद्वारा कुकको करिब १० करोड डलरको भुक्तानी प्याकेजको विरुद्धमा मतदान गर्न आग्रह गरिएको थियो।

यसैगरी इन्टेलका सीईओ प्याट गेल्सिन्जरले फेब्रुअरी १ मा यस वर्ष २५ प्रतिशत तलब कटौती गर्ने घोषणा गरेका छन्। कम्पनीको संचालन खर्च र रोजगारी कटौती रोक्न प्रयासको यो एक हिस्सा रहेको उनले बताएका छन्। गेल्सिन्जरले ल्याएको योजनासँग कम्पनीका अन्य शीर्ष अधिकारीहरू पनि सामेल हुनेछन्। जसले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्मको तलब कटौती गरिरहेका छन्।

उनले भनेका छन्, ‘यो योजनाहरु हाम्रो कम्पनीका कामदारहरुलाई अझ महत्त्वपूर्ण रूपमा प्रभाव पार्न डिजाइन गरिएको हो। यो योजनाले रोजगारी कटौती कम गर्न र हाम्रो दीर्घकालीन रणनीति हासिल गर्न आवश्यक लगानी र समग्र कार्यबललाई सहयोग गर्न मद्दत गर्नेछ।’

यस्तै गोल्डम्यान साक्सका सीइओ डेभिड सोलोमनले सन् २०२२ मा आफ्नो ३० प्रतिशत तलब कटौती गरेका छन्। उनले आफ्नो तलब २ करोड ५० लाख डलरमा कटौती गरेका छन्।

मोर्गन स्टेनलीका सीइओ जेम्स गोर्मनले सन् २०२२ मा १० प्रतिशत तलब कटौती गरेका छन्। उनले जम्मा ३ करोड ३१ लाख डलरमा तलब लिएका छन्।

यो कम्पनीले सन् २०२२ मा आफ्नो विश्वव्यापी कार्यबलको २ प्रतिशत अर्थात अनुमानित ८१ हजार कर्मचारीहरूलाई हटाएको थियो।

यसैगरी गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले जनवरीमा कर्मचारीहरूलाई शीर्ष अधिकारीहरूले आफ्नो वार्षिक बोनस धेरै कम लिने बताएका थिए। तर कार्यान्वयन भने भएको थिएन।

यसको सबैतिरबाट आलोचना हुन थालेपछि उनले आफ्नो तलब कटौती गर्ने निर्णयमा पुगेका हुन।

कम्पनीले आफ्ना ६ प्रतिशत अर्थात अनुमानित १२ हजार कर्मचारीहरूलाई हटाउने घोषणा गरेपछि उनको यस्तो टिप्पणी आएको थियो।

जेपी मोर्गनका सीइओ जेमी डिमोनले पनि आफ्नो तलब कटौती गर्ने बताएका छन्। उनले सन् २०२२ मा ३ करोड ४५ लाख डलर तलब प्राप्त गरेका छन्।

उनीहरुले रोजगारी कटौती र कम्पनीको संचालन खर्च कम गर्न आफ्नो तलब घटाउने योजना बनाएका हुन्। सन् २०२२ मा मात्रै टेक कम्पनीहरुमा काम गर्ने १ लाख ५३ हजार कामदारले रोजगारी गुमाएका छन्।

यसमा मेटामा कार्यरत ११ हजार, अमेजनका १० हजार, अलिबाबाका १० हजार, क्रेडिट स्वीसका ९ हजार, सिनेप्लेक्सका ६ हजार, टेनसेन्टका ५ हजार ५००, बेटर डट कमका ५ हजारले रोजगारी गुमाएका छन्।

यस्तै ट्वीटरका ४ हजार ८००, पेलोटोनका ४ हजार ६५४, फोर्डका ३ हजार, बाइजुजका २५००, मोर्गन स्टेन्लीका १६००, बिलिंकिटका १६००, युनिलिभरका १५०० कामदारले आफ्नो रोजगारी गुमाएका छन्।