
काठमाडौं। ८७ मेगावाटको सेती नदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ।
जिल्ला प्रशासन कार्यालय, बझाङले सूचना निकालेर ३० दिनभित्र सरोकारवाला व्यक्तिहरुले जग्गा, घर, टहराहरु भए सो सहितको मुआब्जा दाबी गर्न रीतपूर्वक निवेदन दिन आग्रह गरेको छ। तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने उल्लेख छ।
बझाङको जयपृथ्वी नगरपालिका ४, ५ र ९ (साबिक हेमन्तवाडा गाविस १, लुयाँटा गाविस १,२,३,४,७,८ र ९, रिठापाटा गाविस ४ र ६ )भएका कित्ताका जग्गाहरु अधिग्रहण गर्न लागिएको हो। ४८१ जना व्यक्तिका २५२.७९ रोपनी अधिग्रहण गर्न लागिएको छ।
आयोजनाको पहुँचमार्ग, बाँध, बालुवा थिग्र्याउने पोखरी, नहर, सुरुङमार्ग, विद्युत गृह तथा कर्मचारी आवास क्षेत्र लगायतका विभिन्न संरचना निर्माणका लागि स्थायी रुपले जग्गा अधिग्रहण लागिएको हो। २०७९ भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको छ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो। आयोजना कार्यान्वयनका लागि चिलिमे सेती हाइड्रोपावर कम्पनी खडा गरिएको छ।
आयोजनाको चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज लिमिटेडले सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तयार पारेको हो।
प्रस्तावित आयोजनाको जयपृथ्वी नगरपालिकाको पानकोट नजिकै बाँध निर्माण हुनेछ। १४ मिटर अग्लो र ६७ मिटर लम्बाईको बाँध हुनेछ।३०७७६६ घनमिटर क्षमताको पोखरी निर्माण गरिनेछ। ४२५१ मिटर सुरुङमार्ग निर्माण हुनेछ।
आयोजनाबाट उत्पादित ऊर्जालाइ प्रस्तावित चैनपुर सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।