विराटनगरमा जारी अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर

बिजमाण्डू
२०७९ माघ १९ गते १९:३८ | Feb 2, 2023
विराटनगरमा जारी अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर


विराटनगर। नेपाल उद्योग परिसंघ (सीएनआइ) प्रदेश १ ले विराटनगरमा गरिरहेको अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (कोसी एक्स्पो–२०२३) तत्काल बन्द गराउन माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा परेको छ।

Tata
GBIME
Nepal Life

स्थानीय ब्राइट भिजन ल कलेजका विद्यार्थी बिन्दानन्द लुलीले कोसी एक्स्पो तत्काल बन्द गराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका हुन्।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो एक्स्पोको उद्घाटन गरेका थिए। मेला यही २९ गतेसम्म सञ्चालन गरिने बताइएको छ।

रिट निवेदनमा लुलीले सीएनआई प्रदेश–१, प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका, जिल्ला ट्राफिक कार्यालयलाई विपक्षी बनाएका छन्।

उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपिलयाले अन्तरिम आदेशको माग गर्दै बिहीबार रिट दायर भएको पुष्टि गरे।

अदालतका अधिकृत मणिराम पोखरेलका अनुसार रिट निवेदकले मेला आयोजकले सार्वजनिक सडक घेरी त्यसलाई पनि मेलास्थलमा गाभेर सर्वसाधारणको आवतजावत गर्ने स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमा आघात पुर्‍याएको जिकिर गरेका छन्।

रिट निवेदकले मेलास्थलको ५० मिटर पश्चिममा पूर्वकै ठुलो अस्पताल भएको र त्यहाँ पुग्ने सडकलाई मेला आयोजकले मिचेको उल्लेख गरेका छन्।

उनले सडक घेरेर त्यसलाई पनि मेलास्थल बनाइँदा छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्ने बिरामीलाई जोखिम र समस्याको अवस्था उत्पन्न भएको जनाएका छन्।

निवेदकले रिट निवेदनमा मेलास्थलमा हुने मनोरञ्जनात्मक कार्यक्रममा उत्पन्न हुने होहल्लाले अस्पतालका बिरामी र कुरुवालाई बाधा अवरोध उत्पन्न हुने दर्साएका छन्।

निवेदनमा मेलास्थलनजिकै एप्लाइड कलेज र मेरिल्यान्ड एप्लाइड सिए कलेज गरी पूर्वकै २ वटा ठुला कलेज पनि सञ्चालनमा रहेको र एक्स्पोमा हुने होहल्लाले कलेजको शैक्षिक गतिविधिमा पनि अवरोध हुने जिकिर गरेका छन्।

साथै दुवै कलेजका छात्रावास पनिसँगै रहेको हुँदा मेलाको आवाजले विद्यार्थीको स्वाध्ययन (सेल्फ स्टडी) मा बाधा पुग्ने निवेदनमा स्पष्ट पारिएको छ।

अधिकृत पोखरेलले भोलि शुक्रबार उक्त रिट निवेदनको सुनवाइ राखिएको जानकारी दिए।