सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल पुन: चार वर्षका लागि नियुक्त

बिजमाण्डू
२०७९ माघ १९ गते ११:२८ | Feb 2, 2023
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल पुन: चार वर्षका लागि नियुक्त

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले गणेशराज पोखरेललाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

Tata
GBIME

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो।

२०६५ सालदेखि नै दोस्रो बरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका पोखेललले एक कार्यकाल व्यवस्थापन प्रमुख भएर चलाइसकेका छन्।

पोखरेलको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धी हासिल गर्न सफल भएको बैंकले जनाएको छ।

उनको पहिलो ४ वर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि गरि १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२ प्रतिशतले वृद्धि गरि १४२.५४ अर्ब रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी १४.२० अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१ प्रतिशतले वृद्धि भएको छ।

बैंकको पुँजी कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय बिस्तार गरिसकेको छ।

बैंकको तीन विस्तारित काउण्टर, १३५ एटीएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

बैंकमा आबद्व हुनु अगाडि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन्। व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव पोखरेलसँग छ।