एयरपोर्ट भन्सारले ९ किलो सुनसहित क्यानडाका नागरिक समात्यो, चेस्ट गार्डमा ल्याए अवैध सुन



२०७९ माघ १९ गते ०८:१९
एयरपोर्ट भन्सारले ९ किलो सुनसहित क्यानडाका नागरिक समात्यो, चेस्ट गार्डमा ल्याए अवैध सुन


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ९ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ। कार्यालयले क्यानडाका नागरिक मोहम्मद कमल मह्गोबलाई पक्राउ गरेको हो।

Tata
GBIME

बुधबार राति १२ बजेर १० मिनेटमा मोहम्मद पक्राउ परेका हुन्। उनी फ्लाई दुबईको एफ २५७३ उडानबाट काठमाडौं झरेका थिए। एयरपोर्ट झर्नेबित्तिकै मोहम्मदले भन्सार अधिकृतसँग शंकास्पद व्यवहार देखाएका थिए।

त्यसपछि उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट ९ किलो १ सय ३५ ग्राम सुन भेटिएको हो। मोहम्मदले छातिमा चेस्ट गार्ड बनाएर नौवटा सेतो देखिने प्याकेट लिएर आएका थिए।

भन्सारको चेकजाँचमा सुन नै भएको पुष्टि भएको रात्रिकालीन ड्युटीमा खटिएका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए। गौतमले भने, ‘वाकथ्रुमा जाँदा मेसिन बजेपछि उनलाई पुन: चेकजाँच गर्दा ९ किलो सुन भेटिएको हो।’

बरामद सुनको बजार मूल्य ८ करोड २० लाख रुपैयाँ छ।

प्रमुख भन्सार अधिकृत गौतमका अनुसार महम्मदले नेपालमा सुन ल्याउनु गैरकानुनी हुने भन्ने कुरा थाहा नभएको बताएका छन्। पक्राउ परेका मोहम्मलाई रातिनै महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

सुनको आधिकारिक पुष्टि भने राष्ट्र बैंकले गर्नेछ। ३५ वर्षीय मोहम्मदको जन्मस्थल संयुक्त अरब इमिरेट्सको अबुधावी हो। उनले पछि क्यानेडाको राहदानी लिएको बुझिएको छ। भन्सार कार्यालयका अनुसार उनी पहिलो पटक नेपाल आएका हुन्।

भन्सार कार्यालयले मोहम्मद माथि अनुसन्धान अघि बढाएको छ। कानुन अनुसार भन्सारले अब अनुसन्धान कमिटी बनाएर २५ दिनभित्र मुद्दा दायर गरि सरकारी वकिल कार्यालय बुझाउनु पर्ने हुन्छ।

करिब २ महिना अघि पनि भन्सार कार्यालयले १९ किलो सुन सहित सुडानी नागरिकलाई पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगिदै जाँदा सुन तस्करीको घटना पनि बढ्दै गइरहेको छ। सुन तस्करहरुले नयाँ नयाँ प्रयोग गर्दै सुन तस्करी गर्ने गरेका छन्।

सुन तस्करीमा भरियाका रुपमा विभिन्न देशका नागरिकलाई खटाएर सुन तस्कर गर्ने गरिएको छ। केही वर्षयता नेपाली नागरिक समेत सुन तस्करीमा संलग्न हुँदै आएका थिए।

सरकारको कडाइका कारण सुन तस्करीमा नेपाली नागरिकको प्रयोग भने केही घटेको छ। तर, विदेशी नागरिकको भने बढ्दै गइरहेको छ।

भन्सारले गरेको अनुसन्धानमा सुन बोकेर आउने व्यक्ति आफ्नै सुन नभएको या सुन हो भन्ने विषय नै थाहा नपाई सुन ल्याउने गरेका छन्।

अघिल्लो पटक १९ किलो सुन सहित पक्राउ परेका सुडानी नागरिकको हाल केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले संगठित अपराधमा राखी अनुसन्धान अघि बढाएको छ। अवैध सुन भेटिन सुरु गरेसँगै भन्सार कार्यालयले भन्सार चेकजाँचमा कडाइ सुरु गरेको छ।  


Sunrise Bank