सिजनमै कच्चा दूध उत्पादन घट्यो, आयात गर्न नदिए गर्मीमा धेरै डेरी बन्द हुने

सरला सुवेदी
२०७९ माघ १९ गते ०७:३२ | Feb 2, 2023
सिजनमै कच्चा दूध उत्पादन घट्यो, आयात गर्न नदिए गर्मीमा धेरै डेरी बन्द हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। कच्चा दूधको उत्पादन सिजनमै घट्न थालेको छ। हरेक वर्ष भदौदेखि फागुनसम्म बढी दूध उत्पादन हुने समय हो।

बजारको माग भन्दा दैनिक ५ लाख लिटर भन्दा भन्दा बढी दूधको अभाव रहेको डेरी उद्योगहरुले बताएका छन्।
सिजनमै उत्पादन घटेपछि सरकारी तथा निजी क्षेत्रको दैनिक दूध संकलनमा समेत गिरावट आएको छ।

अघिल्ला वर्ष देशभर करिब दैनिक ३१ लाख लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको थियो। कोभिडपछि देशभर कच्चा दूधको उत्पादन घट्दै थालेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए।

गत वर्ष देखि उत्पादन ठुलो परिमाणमा घट्न थालेको हो। यसले गर्दा उपभोक्ताको माग अनुसार दूध तथा दुग्धजन्य पदार्थ पुर्‍याउन नसकिएको उनले बताए। सिजनमै दूधको परिमाण घट्दा अफसिजनमा थप समस्या पर्छ। अहिले पनि कच्चा दुध कम संकलन हुँदा बटर र पाउडर दूधको उत्पादन घटेको छ।

दैनिक संकलन भएको दूधले बटर र पाउडर उत्पादन गर्न नपुग्ने महासचिव दाहालले बताए। त्यस्तै, दूध उत्पादन घट्दा डेरी क्षेत्रमा विकराल परिस्थिति आएको सीताराम गोकुल मिल्सका संचालक सुमित केडियाले बताए। उनका अनुसार फागुनको तेस्रो सातासम्म दूधको उत्पादन बढी हुन्छ। त्यसपछि भने अभाव अझै चर्किने उनको जिकिर छ।

‘अहिले ३० प्रतिशत कम दूध उत्पादन भइरहेको छ। फागुनपछि ५० प्रतिशत घट्ने अनुमान गरेका छौं,’ केडियाले बिजमाण्डूसँग भने, ‘जाडोको समयमा बटर र पाउडर दूध बनाएर अभावको बेलामा प्रयोग गर्ने गरिन्थ्यो। यो वर्ष त्यो सम्भावना पनि नरहेकोले विकराल अवस्था आउने देखेका छौं।’

उनले केही समयमा लागि दूध र दुग्धजन्य पदार्थ आयातका लागि बाटो खोल्नुपर्ने बताउँदै नभए मुलुकमा संचालित ९० प्रतिशत डेरी बन्द हुने दाबी गरे। गर्मी याममा दही, मोही, आइसक्रिम लगायतका उत्पादन बढी बिक्री हुन्छ। यी उत्पादनका लागि आवश्यक दुग्धजन्य पदार्थ आयात नखोले समस्या हुने उनले बताए।

दूध अभाव निजीले मात्रै होइन सरकारी दुग्ध विकास संस्थानले पनि भोगिरहेको छ।

संस्थानका अनुसार अहिले दैनिक एक लाख लिटर दूध संकलन भइरहेको छ। यसअघि जाडो महिनामा १ लाख ६० हजार दूध संकलन हुने गर्थ्यो। संस्थानका अनुसार दूध संकलन कम भएकोले वटर र पाउडर दूध उत्पादन कम भएको छ। संस्थानसँग ५० हजार टन वटर र ८० हजार टन मात्रै धुलो दूध छ।