
काठमाडौं। क्रसबोर्डर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स ‘नाट्टाले’ भारतको दुईवटा शहरमा सेल्स मिसन सम्पन्न गरेको छ।
संघले जनवरी २३ देखि २७ तारिखसम्म नेपाल र भारतका टुर अपरेटरहरुको सहभागितामा सेल्स मिसन सम्पन्न गरेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए। नेपाल-भारत दुईपक्षीय पर्यटन प्रवर्द्धनका लागि नै मिसन आयोजना गरिएको उनले जानकारी दिए।
‘हामीले भर्खरै क्रस बोर्डर सेल्स मिसन समापन गरेका छौं। बनारस, लखनउ लगायत गन्तब्यमा पर्यटन प्रचारप्रसारका लागि गोरखपुर सेल्स मिसन सम्पन्न गरेका छौं।’ उनले भने,’आजबाट नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट सुरु गर्दैछौं। यसमा ‘ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया’ का सदस्यहरुसँग छलफलसँगै संघको वार्षिक साधारणसभा आयोजना हुनेछ।’
यसअन्तर्गत मानसरोवर यात्रालाई मुख्य प्राथमिकता दिइएको उनले बताए। यसैगरी बुद्धिस्ट सर्किट प्रवर्द्धनका लागि नाट्टाले थाइल्याण्ड, कम्बोडिया, भियतनाम लगायत तीन मुलुकमा प्रचार प्रसार गर्न लागिएको उनले जानकारी दिए।
नाट्टाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आउँदो मार्च २० देखि २६ तारिखसम्म लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट आयोजनाका लागि गृहकार्य सुरु गरिसकिएको उनले जानकारी दिए।