प्रवेश विन्दु विस्तार र आइएलएस प्रविधि संचालनका लागि गृहकार्य, दुवै देशका प्राविधिक छलफल गर्दै

बिजमाण्डू
२०७९ माघ १२ गते १४:५६ | Jan 26, 2023
प्रवेश विन्दु विस्तार र आइएलएस प्रविधि संचालनका लागि गृहकार्य, दुवै देशका प्राविधिक छलफल गर्दै

काठमाडौं। प्रवेश विन्दु विस्तार र भैरहवामा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम(आइएलएस) संचालनका लागि पर्यटन मन्त्रालयले गृहकार्य सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

यी दुई विषयमा पर्यटनमन्त्री सुदन किराँतीले भारतसँग कुटनीतिक पहल अगाडि बढाएका हुन्। पर्यटन सचिव सुरेश अधिकारीले भारतीय राजदूतसँग छलफल भइसकेको बताए।

‘मन्त्रालयले प्रवेश विन्दु विस्तार र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस प्रविधि संचालनमा ल्याउन नेपालस्थित भारतीय राजदुतावास सँग छलफल गरेको छ,’ सचिव अधिकारीले भने,’यो विषयमा भारतीय राजदुत नवीन श्रीवास्तवसँग मन्त्रीस्तरीय छलफल भएको छ। राजदुतबाट सकारात्मक प्रतिकृया आएको छ।’

दुवै मुलुकका प्राविधिकको सहभागितामा नेपालका लागि आवश्यक प्रवेश विन्दु र भैरहवामा जडान गरिएको आइएलएस संचालन अगाडि बढाउने उनले बताए।’अहिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहितका प्रतिनिधि देश बाहिर हुनुहुन्छ। उहाँहरु आउनु भएलगत्तै हामी यो काम अघि बढाउँछौं,’ उनले भने।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि  मुलुकमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेका छन्। तर वर्षौंदेखि सिमरा प्रवेश विन्दुमात्र खुला भएका कारण विभिन्न मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा  कम्पनीलाई दुरी र संचालनको हिसाबले असहज हुँदै आएको छ।

भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि महेन्द्रनगर प्रवेश विन्दु ‘लिमा ६२६’ उपयुक्त हुने जनाएको छ।

अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सिमरा ‘गल्फ ५९८’ प्रवेश विन्दुमात्र प्रयोग गर्दै आएका छन्। यो प्रवेश विन्दुमार्फत काठमाडौं र भविष्यमा संचालनमा आउन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र उपयुक्त हुने ठहर छ। पर्यटन मन्त्रालयले भैरहवा, नेपालगंज र महेन्द्रनगर तीनवटै विन्दुका लागि कुटनीतिक तवरले भारतसँग पहल गर्दै आएको छ।

महेन्द्रनगर प्रवेश विन्दु खुला भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,भैरहवा, पोखरा, निजगढ लगायत सबै विमानस्थलमा सहज हुने जनाइएको छ।

सिमरा प्रवेशविन्दु भन्दा महेन्द्रनगरबाट जहाज आउन पाएमा गौतम बुद्धमा २० मिनेटको अन्तर हुने जनाइएको छ।

अहिले २० वटा भन्दा बढी कम्पनीका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यवसायिक उडान गर्दै आएको छ।भारत, चीन, बंगलादेश, कुवेत, दुवई, साउदी अरब, जापान, थाइल्याण्ड, सिंगापुर, ओमान, मस्कट, कतार, मलेसिया, टर्की लगायत विभिन्न मुलुकमा दुईतर्फी सिधा उडान हुँदै आएको छ।