बिक्रेता बन्न ठुला घरानाको रुचिले चिनियाँ ब्राण्डका गाडी नेपाली बजारमा स्थापित हुँदै

शुक्र गिरी
२०७९ माघ १२ गते ०९:३१ | Jan 26, 2023
बिक्रेता बन्न ठुला घरानाको रुचिले चिनियाँ ब्राण्डका गाडी नेपाली बजारमा स्थापित हुँदै


काठमाडौं। चिनियाँ सवारी उत्पादक कम्पनीका गाडीहरु विश्व बजारमा आफ्नो धाक जमाइरहेका छन्। तर, नेपाली बजारमा स्थापित हुन भने सकिरहेका थिएनन्। यसको कारण थियो, कसले लिएको छ नेपाल डिलर? उसले अफ्टर सेल्स सर्भिस दिन्छ/दिँदैन?

Tata
GBIME
Nepal Life

अब त्यो अवस्था छैन। संसारका ठूला मोटर निर्माताका प्लान्ट चीन र भारतमा छन्। चिनियाँ कम्पनीकै उत्पादन विश्व बजारमा अन्य कम्पनीलाई टक्कर दिइरहेका छन्। नेपालमा स्थापित व्यापारिक घरानाहरुले डिलरसिप लिन थालेपछि विस्तारै चिनियाँ गाडीहरुको बजार पनि विश्वसिलो बन्दै गएको छ।

नेपालका केही ठुला घरानाहरुले चिनियाँ गाडीको बिक्रीमा देखाएको चासो र लगानीले भने चिनियाँ ब्रान्डहरु नेपालमा स्थापित हुन खोजिरहेका छन्। लामो समयदेखि अटोमोबाइल क्षेत्रमा रहेका व्यवसायीहरु आफैं अहिले चिनियाँ गाडी नेपाली बजारमा ल्याउन लागिपरेका छन्। उनीहरुले यसमा देखाएको चासोले चिनियाँ गाडीलाई नेपाली बजारमा स्थापित हुन सहज भएको छ।

हाल नेपालमा विशाल ग्रुप, मोरङ अटोवर्क्स (एमएडब्ल्यु), गोल्छा अर्गनाइजेसन, सीजी ग्रुप लगायतले चिनियाँ ब्रान्डका गाडीहरु नेपाल ल्याउन थालेका छन्। यस्ता ठुला बिजनेस हाउसहरुको आगमनले चिनियाँ गाडीको बजार पनि नेपाली बजारमा विस्तारै स्थापित हुने क्रममा जारी छ।

अहिले नेपालका ठुला घरानाहरुले चिनियाँ ब्राण्डका गाडीहरुमा भविष्य देखेको एक सवारी बिक्रेता बताउँछन्। यसैका कारण बिक्रेताहरुले अत्याधुनिक शोरुम र स्तरीय सर्भिसका लागि लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। अटो क्षेत्रका पुराना व्यवसायीका अनुसार ठुला घरानाले एजेन्सी लिन हात हाल्दा पूर्वाधारमा लगानी गर्न डराउँदैनन्, जसको लाभ सवारी खरिदकर्तालाई भइरहन्छ। गाडी आयातअघि नै शोरुम, सर्भिस सेन्टर र पार्ट्स लगायतका लागि लगानी गर्न नडराउनेले दीर्घकालीन लक्ष्यसहितको बिजनेस मोडल प्लान गरेर काम गर्छन्।

अन्य व्यवसायीले यसरी गाडी ल्याउँदा पहिला गाडी भित्र्याएर कुन भोल्युममा बिक्री हुन्छ त्यही अनुसार पछि सर्भिस र स्पेयर पार्ट्समा लगानी गर्ने गर्छन्। त्यसैले त अहिले नेपालमा चिनियाँ भन्दा तेस्रो मुलुकका ब्राण्डको वर्चश्व छ। ठुला घरानाको नजर चिनियाँ ब्राण्डमा परेपछि अब ती पनि स्थापित हुने देखिएका छन्।

यसरी चिनियाँ गाडी ल्याउने घरानाहरुले अत्याधुनिक शोरुमदेखि सर्भिस सेन्टरहरु निर्माण तथा यसको नेटवर्क विस्तारमा जोड दिइरहेका छन्। एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड प्रसन्न पन्तका अनुसार जसरी चीनले विश्व बजारमा आफ्नो बजार विस्तार गरिरहेको छ, त्यसरी नै नेपालमा पनि बजार विस्तार गर्न जोड दिइरहेको छ।

‘त्यसैले नेपालमा पनि अटोमोबाइलमा डेडिकेटेड भएका ठुला घरानाहरुले तथा रिनाउन्ड बिजनेस हाउसहरुले चिनियाँ गाडीहरु नेपाल भित्र्याउन थालेका छन्,’ उनले भने, ‘यस्ता बिजनेस हाउसहरुले पक्कै पनि कुनै एक खालको दीर्घकालीन योजना र भविष्य नदेखी चिनियाँ गाडीहरु यसै भित्र्याएका छैनन्।’

चिनियाँ कम्पनीहरुले पनि नेपालमा बिक्रेता छनोट गर्दा पछिल्लो समय ठुला घरानालाई स्वीकृति दिने गर्न थालेको पन्त बताउँछन्। अबको अटोमोबाइलको भविष्य चीन हुने बाटोमा छ। त्यसैले नेपालका ठुला घरानाहरुले पनि अटोमोबाइल बजार चिनियाँ गाडीमा देखेको पन्त बताउँछन्।

‘यस्ता ठुला घरानाहरुले आफ्नो स्ट्यान्डर्ड कायम राख्‍न भए पनि राम्रो ब्रान्डका गाडीहरु मात्र नेपाल ल्याउने गर्छन्। त्यसैले पनि नेपाली ग्राहकहरुले ठुला घरानाहरुले ल्याएका गाडीमा विश्वास गर्ने गरेका छन्,’ उनले भने।

पन्तका अनुसार पछिल्लो समय नेपाल एउटा ट्रेन्डी कन्ट्रीका रुपमा विकास हुँदै गएको छ। नेपालीहरु पनि नयाँ प्रविधि, नयाँ फीचर, नयाँ ड्राइभिङ अनुभव, नयाँ डिजाइनहरुलाई अनुसरण गर्न आतुर छन्। यी सबै कुराको अनुसरण गर्न चिनियाँ अटो कम्पनीहरुले उक्त सुविधाहरु प्रदान गर्न सक्छन्।

ग्रेटवाल मोटरका मार्केटिङ हेड पंकज यादवका अनुसार नेपाल भारतीय अटोमोबाइलको डोमिनेटेड बजार रहँदै आएको भए पनि तर चिनियाँ गाडीहरुले नयाँ बजार कायम गर्न खोजिरहेको बताउँछन्। ‘अहिले चिनियाँ गाडीको बलियो पार्ट भनेको इनोभेसन हो। ग्रेटवाल ब्रान्डको नै विश्व बजारमा वार्षिक रुपमा १६ प्रतिशतदेखि ३० प्रतिशतसम्मको ग्रोथ छ,’ उनले भने, ‘त्यसैले पनि हामीले तयार पारेको इको सिस्टम र सर्भिस लेभलमा गरिएको लगानीले बजार हिस्सा बढ्दो क्रममा छ।’

नेपालमा ग्रेटवालका प्रोडक्टलाई ग्राहकले विश्वास गर्नुमा अर्को कारण भनेको अटोमोबाइल दिग्गजको लगानी मुख्य रहेको उनले बताए। ‘यसले गर्दा ब्रान्डको भ्याल्युदेखि गाडी ल्याएर बिक्री गर्ने इको सिस्टम तयार पार्न सहज हुन्छ,’ उनले भने, ‘यस्तो इको सिस्टम तयार पार्न गाडी बिक्री धेरै हुनपर्छ भन्ने समय कुरेर बस्नु आवश्यक पर्दैन। दीर्घकालीन योजना अनुरुप सर्भिस नेटवर्किङ विस्तार गर्न अग्रसर छौं।’

कुन घरानाको कुन चिनियाँ गाडीमा लगानी ?

यस्तै नेपाली बजारमा स्थापित हुन खोजिरहेको एउटा ब्रान्ड हो ग्रेट वाल मोटर्स। यो चिनियाँ गाडीको नेपाली बिक्रेता बिशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स हो। यसले ग्रेट वाल मोटर्सको हालसम्म ८० वटा गाडीहरु बिक्री गरिसकेको छ।

विशाल ग्रुपले अन्य माज्दा, सुजुकीको दुई पाङ्ग्रे, फक्सवागन, रेनल्ट, एमजी, मेक्सस लगायतका १० भन्दा धेरै स्थापित ब्रान्ड गाडीहरु नेपालमा बिक्री गर्दै आएको छ।

यस्तै चांगन मोटर्स अर्को घरानाको लगानी रहेको चिनियाँ ब्रान्ड हो। यसमा स्कोडा तथा हेभि इक्वीपमेन्ट बिक्री गर्ने विष्णु अग्रवालको कम्पनी एमएडब्ल्यु रहेको छ। २०७८ मंसिरमा नेपालमा चांगनका गाडी नेपाल भित्रिएका थिए। चांगन सन् २०२१ मा चीनमा सबैभन्दा बढी प्यासेन्जर भेहिकल बिक्री गर्ने कम्पनी हो। सन् २०२० मा यो ब्राण्डका गाडी ६० वटा मुलुकमा २० लाखभन्दा बढी बिक्री भएका थिए।

चीनमा बिक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरु चांगनको कारखानाले तयार गर्छ। स्कोडा, जीप, जेसीबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड एमडब्लुले नेपालमा बिक्री गर्छ। चांगन अटोमोबाइल क्षेत्रमा काम गर्ने चीनको यो पहिलो ठूलो कम्पनी हो।

यसै ग्रुपले अर्को चिनीयाँ ब्रान्ड फोटोनका गाडीहरु पनि ४ वर्षदेखि बिक्री गरिरहेको छ। कम्पनीले हालसम्म ७०० वटाभन्दा धेरै गाडीहरु बिक्री गरेको फोटोन नेपालका सेल्स हेड नविन आचार्यले बताए। यो कम्पनीको गाडीहरु सरकारी निकायदेखि निजी कम्पनीहरुले धेरै रुचाएका आचार्यको भनाइ छ।

यसैगरी अर्को घराना गोल्छा अर्गनाइजेशनको साँग्रिला मोटर्सले ल्याएको जीएसी चिनियाँ ब्रान्डको पिकअप गाडी हो। यो ग्रुपले बजाज, केटिएमको दुई पाङ्ग्रे सवारीसाधान र तीन पाङ्ग्रे सवारीधान तथा फोर्डका गाडीहरुको बिक्री गर्ने गर्छ।

यसैगरी चिनियाँ विद्युतीय गाडी ल्याउने अर्को घराना सिजी ग्रुप पनि रहेको छ। यो ग्रुपले नेटाभी ब्रान्डको गाडीहरु नेपाल ल्याएर बिक्री वितरण गरिरहेको छ। यो ग्रुपले नेपालमा सुजुकीको प्यासेन्जर सेग्मेन्टको गाडी बिक्री गर्ने पहिलो नम्बरमा पर्छ। यसको पनि सर्भिस नेटवर्कमा लगानी विस्तार राम्रो छ।

यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्ट र सांग्रिला ग्रुपका प्रसिद्धबहादुर पाण्डेसहितले चीनको बीवाइडी कम्पनीबाट विद्युतीय गाडी आयात गरेका थिए। तर पछि उनीहरुले आफ्नो सेयर यमुना श्रेष्ठलाई बिक्री गरे।

किन चिनियाँ गाडी यसअघि बजारमा स्थापित हुन सकेनन् ?

नेपालमा चिनियाँ गाडीहरुको लामो इतिहास त छैन। तर जति छ त्यो तितो इतिहास मात्र रहेको छ। कति ब्रान्ड आए केही वर्ष बिक्री भए तर लामो समय बजारमा टिक्न सकेनन। राम्रो बिक्री गर्न नसक्दा उत्पादक कम्पनीले आधिकारिक बिक्रेता खोस्न थाल्यो। कति व्यवसायी व्यापारमा घाटा खएर पलायन हुनुपर्‍यो।   

नेपालमा हाल लगभग दुई दर्जनभन्दा धेरै चिनियाँ गाडीहरु भित्रिएका छन्। तर सबैले सोचेजसरी बजारमा स्थापित हुन सकिरहेका छैनन्। 

एमएडब्लु वृद्धि अटोकर्पका बिजनेस हेड पन्तका अनुसार केही वर्ष अगाडिसम्म चिनियाँ ब्रान्डलाई कमजोर र कम टिकाउका बस्तुका रुपमा हेर्ने गरिन्थ्यो। पन्त भन्छन्, ‘त्यति बेला नेपालमा चिनियाँ गाडीहरु ल्याउनेमा ठुला घराना नभइ अटो व्यवसायमा आउन खोज्ने नयाँ लगानीकर्ताहरुको सहभागिता हुने गरेको थियो।’

त्यस बेला बिक्रेताहरुले सर्भिस तथा स्पेयर पार्ट्सको क्षेत्रमाभन्दा पनि बिक्री गर्नेमा धेरै केन्द्रित रहेका कारण त्यस्तो भएको पन्तले बताए। उनका भनाइ अनुसार यसअघि चिनियाँ ब्रान्डका गाडी ल्याउने बिक्रेताहरुले प्रदान गर्ने सर्भिस र स्पेयर्स पार्ट्सको सहजै उपलब्ध नहुनु त्यसको एउटै कारण थियो। तर सबै बिक्रेतालाई त्यसो भन्न नमिल्ने पन्तको धारणा रहेको छ।

पन्तका अनुसार नेपाल जस्तो सानो देशमा स्थापित हुन धेरै गर्हो छैन। ‘जबसम्म आफ्टर सेल्स सर्भिसका पूर्वाधार तथा लगानीहरु बढाउन आवश्यक छ। यस्तै कुरामा यसअघिका बिक्रेताहरुले ध्यान दिन नसकेका कारण उनीहरु असफल हुन पुगेका हुन,’ उनले भने, ‘यस्तै अर्को भनेको ब्रान्ड छनोट असफल हुनुको कारण बनेको थियो।’

सर्भिसमा करौडौं लगानी गर्ने चिनियाँ ब्रान्डहरु

ग्रेट वाल मोटर्सको नेपाली बिक्रेताले कोरोनापछि लगभग ८० युनिट गाडी बिक्री गरिसकेको छ। कम्पनीले हालसम्म बिक्री गरेका गाडीहरुको मूल्य ८० लाखभन्दा माथिका रहेका छन्।

कम्पनीले हाल आफ्नो सवारीसाधन धनीलाई सहज सर्भिस दिन र स्पेयर पार्ट्सको उपलब्ध गराउन ५ करोडभन्दा धेरै लगानी गरेको कम्पनीका मार्केटिङ हेड पंकज यादवले बताए। साथै कम्पनीले काठमाडौंको शंखमुलमा अत्याधुनिक सुविधासम्पन्न सर्भिस सेन्टर निर्माण गरेको उनको भनाइ छ।

यो सर्भिस सेन्टरबाट कम्पनीले हाल दैनिक रुपमा गाडीहरु मर्मत गरेर पठाउने गरेको छ। एक दिनभन्दा धेरै गाडीहरु मर्मत गर्न होल्डमा बस्नु पर्दैन। यस्तै भक्तपुरमा पनि कम्पनीले आफ्नो शोरुम र सर्भिस सेन्टर निर्माण गरेको छ। उनका अनुसार अन्य डिलर र वर्कसपहरुसँग पनि सहकार्य गर्ने गरी योजनाहरु अगाडि बढाइएका छन्।

उपत्यका वाहिर यो कम्पनीले अन्य ३ वटा स्थानमा शोरुमहरु संचालनमा ल्याएको छ। कम्पनीका अनुसार जनकपुर, इटहरी र बुटवलमा संचालनमा छन्। यस्तै अन्य पोखरालगायतका सहरहरुमा पनि सर्भिस सेन्टरसहितको शोरुमहरु निर्माण गर्ने योजना बनाएको छ। यसमा डिलरहरुको र बिक्रेताको आधा/आधा लगानी हुने कम्पनीको भनाइ छ।

जीडब्ल्युएमका गाडी खरिद गर्ने ग्राहकहरुले सकेसम्म गाडीको आधिकारिक जेन्युइन स्पेयर पार्ट्स र सर्भिस सेन्टरमा गाडी मर्मत तथा सामानहरु फेर्न पाउने गरी इको सिस्टम तयार पारिएको यादव बताउँछन्। ‘त्यसैले हामी गाडी बिक्री गरेर चुप लागेर बस्न सक्दैनौं। हाम्रो फोकस भनेकै आफ्टर सेल्स सर्भिस हो। सर्भिसको नेटवर्क बढाउने हाम्रो योजना हो,’ उनले भने, ‘यस्तै सर्भिसको पनि कम खर्च लाग्ने गरी स्पेयर पार्ट्सहरु र प्राविधिक रुपमा सहज बनाउनेमा हाम्रो लगानी गरिएको छ।’

यसैगरी चांगन नेपाली बजारमा स्थापित हुन खोजिरेहेको अर्को चिनियाँ ब्रान्ड हो। एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा चांगन गाडीको बिक्रीवितरण सुरु गरेको ८ महिना भएको छ। कम्पनीले एसयूभीसँगै विद्युतीय गाडी नेपालमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले यो महिनाको अन्त्यतिर एसयुभी सेग्मेन्टको गाडीहरु ल्याउने तयारी गरेको छ।  

चांगनको नक्सालमा शोरुम छ। कम्पनीले संचालनमा ल्याएको सो शोरुम अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रहेको कम्पनीका बिजनेस हेड पन्तले बताए। उनका अनुसार कम्पनीको सर्भिस सेन्टर भने सितापाइलामा रहेको छ। यसैगरी काठमाडौं बाहिर पोखरा, नारायणघाट, नेपालगंज, सुर्खेत, ढल्केबर, बिराटनगर र इटहरीमा निर्माण गरी संचालनमा रहेका पन्तको भनाइ छ।

कम्पनीले हालसम्म सर्भिस सेन्टर र स्पेयर पार्ट्समा साढे ५ करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको पन्तले बताए। ‘हामीले गाडी बिक्रीभन्दा पनि गाडी खरिद गर्नेलाई दिइने सर्भिसमा धेरै केन्द्रित रहेर योजना बनाएका छौं,’ उनले भने, ‘सोही बमोजिम हामी सर्भिसमा धेरै केन्द्रित भएका छौं। त्यही अनुसार लगानी पनि बढाएर सर्भिसको नेटवर्किङ विस्तारमा अग्रसर छौं।’

यस्तै अर्को फोटोन नेपाली बजारमा राम्रोसँग स्थापित भइरहेको चिनियाँ ब्रान्ड हो। यो कम्पनीले सर्भिसको लागि मात्र लगभग ५ करोड लगानी गरेको कम्पनीका सेल्सहेड नविन आचार्यले बताए। ‘हामीले सर्भिसको क्षेत्रमा लगभग ५ करोड रुपैयाँ लगानी गरेका छौं,’ उनले भने, ‘हामीले गाडी बिक्रीसँगै अन्य पूर्वाधार तथा प्राविधिक क्षेत्रमा राम्रो खर्च गर्ने योजना पनि रहेको छ।’

यसको नेपालको प्रमुख सहरहरुमा सर्भिस सेन्टरहरु १५ वटा रहेको आचार्यले बताए। ‘सीतापाइला र दाङमा आफ्नै वर्कसप रहेका छन्। हामीसँग अहिले डिलरसहित १५ वटा सर्भिस सेन्टरहरु देशभरी संचालनमा रहेका छन्,’ उनले भने, ‘गाडी बिक्री कम हुँदा हाम्रो लागि चुनौती थियो। तर लगानी गर्ने हाम्रो बलियो टीम भएकाले बजारमा स्थापित हुन सहज भइरहेको छ।’

यस्तै कम्पनीले प्राविधिक रुपमा दक्ष जनशक्ति निर्माण गर्न इन्जिनियरहरुलाई चीन पठाएर तालिम दिने, नयाँ प्रविधिको बारेमा जानकारी गराउने, स्पेयर पार्ट्सको उपलब्धताको बारेमा छलफल गराइरहेको आचार्य बताउँछन्।

यस्तै अन्य डिएफएसके, बीवाइडी, नेटा भीहरुले पनि सर्भिसको क्षेत्रमा लगानी बढाउँदै लगेका छन्।

विद्युतीय गाडीले सहज बनाउँदै

नेपालमा ५ वर्षदेखि मात्रै चिनियाँ गाडीहरुको बजार नेपालमा बढ्दै गएको पन्तको भनाइ छ। विद्युतीय गाडी आएपछि चिनियाँप्रतिको धारणामा परिवर्तन आएको उनको जिकिर छ।

विद्युतीय सवारीको आगमनले भने चिनियाँ गाडीहरुले नेपालमा बजार हिस्सा बढाउँदै लगेका छन्। हाल नेपालमा बिक्री भइरहेको बीवाइडी, एमजीलगायतका ब्रान्डहरुले राम्रो बजार हिस्सा ओगटेका छन्। यी ब्रान्डका बिक्रेता कम्पनीहरुले सर्भिस सेन्टर र चार्जिङ स्टेसनहरुको नेटवर्क विस्तारमा धेरै खर्च गरेका छन्।

साथै नेपालमा पछिल्लो समय विद्युतीय गाडीको माग पनि बढ्दो क्रममा रहेको छ। विद्युतीय गाडी एमजीको जेड एस इभी, बीवाइडीको दुई वटा मोडल ई-६ र एटो-३, दिगोका गाडीका कारण बजार विस्तार हुने क्रममा छ।

विशाल ग्रुपको कम्पनी भीजी इम्पेक्सले विद्युतीय गाडी ओरा गुड क्याट ल्याउने योजनामा रहेको जनाएको छ। यस्तै चांगनले पनि यही वर्षभित्र विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ।