भाषा प्रशिक्षणमा टुरिष्ट पुलिस, पर्यटक सुरक्षाका लागि जनशक्ति बढाउन पर्यटन मन्त्रालयलाई सुझाव

बिजमाण्डू
२०७९ माघ ११ गते १३:२३ | Jan 25, 2023
भाषा प्रशिक्षणमा टुरिष्ट पुलिस, पर्यटक सुरक्षाका लागि जनशक्ति बढाउन पर्यटन मन्त्रालयलाई सुझाव

काठमाडौं। पर्यटकको सुरक्षाका लागि परिचालन हुँदै आएका टुरिस्ट पुलिसले भाषा प्रशिक्षण विस्तार गरेको छ। पर्यटकको सुरक्षामा खटिएको जनशक्तिलाई फ्रेन्च, चिनियाँ लगायत विभिन्न भाषा प्रशिक्षणमा पठाउँदै आएको हो।

Tata
GBIME
Nepal Life

डीएसपी सुगन्ध श्रेष्ठका अनुसार प्रहरी भाषामा दक्ष भए पर्यटकसँग संवाद सहज हुन्छ। सीमित जनशक्तिलाई भाषासँगै आवश्यक तालिम दिने गरिएको उनले बताएका छन्।  

मुलुकका पर्यटकीय क्षेत्रमा आवागमनको दर, विभिन्न भाषाभाषीका पर्यटकको संख्याअनुसार टुरिष्ट पुलिसको सेवा पनि विस्तारको खाँचो देखिएको छ। पर्यटक सुरक्षा बढाउन जनशक्ति थप्न आवश्यक रहेको सुझाव मन्त्रालयलाई प्राप्त हुँदै आएको छ।

टुरिस्ट प्रहरी नेपाल प्रहरीकै युनिट हो। तर यो अपेक्षाकृत रूपमा स्वायत्त विभागमा रूपमा छैन।

पर्यटन विभागको मन्त्रिस्तरीय ब्रिफीङ कार्यक्रममा विभिन्न गन्तव्य भ्रमणमा आउने पर्यटक सुरक्षाका लागि स्थायी  कार्यालयसँगै जनशक्ति बढाउन आवश्यक रहेको डीएसपी श्रेष्ठले बताए। उनले यो सुझाव पर्यटन मन्त्रालयलाई दिएका हुन्।

‘हामीसँग भएको जनशक्ति, आफ्नो संरचना पर्याप्त छैन। समस्यामा परेका पर्यटकलाई राख्नका लागि सोधपुछका लागि आधारभूत भवन ‘सेफ हाउस’ भइदिए सेवा थप प्रभावकारी हुनेथियो,’ उनले भने,’पर्यटन विभाग अन्तर्गत २३९ दरबन्दी छ। त्यसमध्ये २१९ जना कार्यरत छौं।’

उनका अनुसार काठमाडौंमा मात्र १०५ जनाको जनशक्ति परिचालित छ। प्रधान कार्यालय भृकुटीमण्डपमा रहेको टुरिस्ट पुलिसका युनिटहरु उपत्यका बाहिरका विभिन्न पर्यटकीय गन्तव्यमा छन्। तिनमा जनशक्ति भने निकै थोरै छ।      

काठमाडौंको तीन र बाहिर १५ गरी १८ वटा जिल्लामा परिचालित पर्यटक प्रहरीले काठमाडौंमा १० र बाहिर १८ गरी कुल २८ वटा युनिटमार्फत काम गर्दै आएको छ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु दुर्व्यवहार, ठगीमा पर्ने, लुटिने, पिटिने लगायत घटनामा प्रहरीको उक्त युनिटले सहयोग गर्दै आएको छ। सरकारले पर्यटकको सेवा क्षेत्रमा सघाउन प्रहरीको छुट्टै युनिटको अवधारणा ल्याए पनि यसबाट सम्भाव्य काम भने लिन सकेको छैन।