अब साझाको बस कता आयो भनेर मोबाइल एपबाट ‘लाइभ रुट ट्रयाक’ हेर्न सकिने

बिजमाण्डू
२०७९ माघ १० गते १८:५१ | Jan 24, 2023
अब साझाको बस कता आयो भनेर मोबाइल एपबाट ‘लाइभ रुट ट्रयाक’ हेर्न सकिने

काठमाडौं। साझा यातायातले साझाका बसको रुट हेर्न र लाइभ ट्रयाक गर्न सक्ने मोबाइल एप संचालनमा ल्याएको छ।

Tata
GBIME

सरकारी स्वामित्वको साझाले मोबाइल एप ‘साझा प्लस’ मंगलबारदेखि परीक्षणका रुपमा संचालनमा ल्याएको जनाएको छ। साझाले सामाजिक संजालमार्फत मोबाइल एप साझा प्लस परीक्षणका रुपमा संचालनमा ल्याइएको बताएको हो।

साझाले हाल यो एप परीक्षण रुपमा प्रयोगमा ल्याएको जनाएको छ। मोबाइल एपले बसमा जडित जीपीएस प्रविधिमार्फत सूचना प्रदान गर्ने साझाको भनाइ छ। यस एपमार्फत यात्रुहरूले साझाका बसको रुट हेर्न र लाइभ ट्रयाक गर्न सक्नेछन्। साथै यो एपको प्रयोगले यात्रुले नजिकैको स्टप बारे पनि थाहा पाउने छन्।

यो एपमा यात्रुले गाडी भाडा समेत हेर्न सक्नेछन्। हाललाई यो एपलाई एन्ड्रोइड भर्सनमा ल्याइएको छ। केही समयपछि एप आईओएसमा पनि संचालनमा आउने साझाले जनाएको छ।