इसेवा १५औं वर्षमा प्रवेश, बुधबार ९ बजेदेखि ३ बजेसम्म हरेक घण्टा फरक फरक अफर

बिजमाण्डू
२०७९ माघ १० गते १७:५५ | Jan 24, 2023
इसेवा १५औं वर्षमा प्रवेश, बुधबार ९ बजेदेखि ३ बजेसम्म हरेक घण्टा फरक फरक अफर

काठमाडौं। इसेवा १४ वर्ष पुरा गरेर १५ औं वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धता समेत जनाएको छ।

Tata
GBIME
Nepal Life

‘हामी जहिलेपनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौं। आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौं,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, ‘हामीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने आम नेपाली, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा इसेवामा जोडिनुभएका प्रयोगकर्ता, हाम्रा साझेदार बैंक तथा वित्तीय संस्था, हाम्रा तीन लाख भन्दा बढी मर्चेन्ट, नियामक निकाय, हाम्रा सम्पूर्ण एजेन्ट नेटवर्क, कर्मचारी तथा मिडियाकर्मी साथीहरू तथा आम शुभचिन्तकको ठूलो सहयोग छ। म तपाईहरूको यो सहयोग र विश्वासलाई विशेष धन्यवाद दिन चाहान्छु।’

कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले बुधवार भएको आफ्नो वार्षिक उत्सवमा इसेवाले सार्वजनिक गरेका अफरहरूका विषयमा जानकारी गराए। १४ औं वार्षिक उत्सवको अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ।

बुधबार बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यासब्याक पाइने इसेवाले जनाएको छ। यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमन्ड अफर सञ्चालन हुनेछ। जसमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हिरा उपहार पाउने इसेवाले जनाएको छ।

यसैगरी ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुनेछ। यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने बताइएको छ। १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुने इसेवाले जनाएको छ। यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु नि:शुल्क प्राप्त गर्न सकिनेछ।

यस्तै १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ। जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ। यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने बताइएको छ। यस अवधिमा मोबाइल टपअप, एयरलाइन्स टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक पाउने गरी इसेवाले अफर ल्याएको छ।

यसैगरी ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ। यो अवधिमा ५० रुपैयाँसम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ। इसेवाले वार्षिक उत्सवको अवसरमा छात्रवृति कोष समेत सञ्चालन गरेको छ। यसको राशी र प्रक्रियाका विषयमा केही समयपछि एक कार्यक्रम मार्फत जानकाारी गराउने इसेवाले जनाएको छ।

इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको छ। १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब १ लाख ८५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ।