होटललाई स्टार रेटिङ बाध्यकारी गर्न गृहकार्य थाल्दै सरकार, क्यासिनोका बक्यौता उठाउन जोड

बिजमाण्डू
२०७९ माघ १० गते १४:४२ | Jan 24, 2023
होटललाई स्टार रेटिङ बाध्यकारी गर्न गृहकार्य थाल्दै सरकार, क्यासिनोका बक्यौता उठाउन जोड


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकमा सञ्चालित ठूला होटललाई ‘स्टार रेटिङ’ बाध्यकारी बनाउनका लागि गृहकार्य थाल्ने भएको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार सरकारका लागि यो राजस्व संकलनका दृष्टिले मात्रै नभइ मुलुककै होटल वर्गीकरण पर्यटन क्षेत्रका लागि हितकर हुनेछ। धेरैजसो ठुला होटलले सेवा पाँचतारे सरहको दिँदै आए पनि तारे वर्गीकरण गराएका छैनन्।

यसले उनीहरुको स्तरमा प्रष्टता नहुनुका साथै राज्यलाई आउने राजस्व पनि गुमेका उनले बताए। अब वर्गीकरण बाध्यकारी गर्न मन्त्रालय छलफलमा रहेको उनले जानकारी दिए।

भूकम्पपछि सेवा सञ्चालनमा आएको होटल एभरेष्टको उदाहरण दिँदै उनले भने,’कतिपय होटल ताराको माग गर्दैनन्। जस्तै एभरेष्ट होटल भूकम्पपछि सञ्चालनमा आइसकेको छ तर स्टार स्ट्याण्डर वर्गीकरण माग गरेको छैन। त्यसैले यस्तो केसमा सरकारको राजस्व पनि घटेको छ।’

यही सन्दर्भमा उनले विभिन्न होटलमा सञ्चालनमा रहेर बन्द भइसकेका क्यासिनोमार्फत रोयल्टी उठाउनका लागि आवश्यक कारवाही अगाडि बढाउन आवश्यक रहेको बताए। ‘होटलले क्यासिनो सञ्चालनका लागि स्पेस दिएका हुन्छन्। तर, कतिपय कम्पनी सरकारलाई बुझाउनुपर्ने बक्यौता नै नतिरी वर्षौँ देखि बेपत्ता छन्। यो कारवाही कसरी हुन्छ अगाडि बढाउन आवश्यक छ।’

पर्यटन विभागका अनुसार हालसम्म विभिन्न होटलमा सञ्चालित पाँचवटा क्यासिनोबाट बक्यौता बापत कुल डेढ अर्ब रुपैयाँ लगत निकालिएको छ। यी क्यासिनोलाई जरिवानाबापत हरेक वर्ष कुल बक्यौताको ३० प्रतिशत जरिवाना गराउँदै आएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताए।