सुन अहिलेसम्मकै महँगो भयो, बिहेको सिजनमा पनि आधाले घट्यो माग

बिजमाण्डू
२०७९ माघ १० गते ११:४४ | Jan 24, 2023
सुन अहिलेसम्मकै महँगो भयो, बिहेको सिजनमा पनि आधाले घट्यो माग

काठमाडौं। आज सुनको मूल्यवृद्धिले रेकर्ड कायम गरेको छ। तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ पुगेर हालसम्मकै महँगो भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन तोलामा १ हजार रुपैयाँले बढेर कारोबार मूल्य कायम भएको छ।

सोमबार तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा ‍कारोबार भएको थियो। सुनको मूल्य गत पुसदेखि नै घटेको छैन।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार डलरको भाउमा भएको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको छ।

सुनको मूल्य बढ्दा बजारमा माग समेत प्रभावित भएको छ। बिहेको सिजन भए पनि बजारमा माग आधा नै कम भएको उनले बताए।

‘मूल्य बढ्दा बजार प्रभावित छ। माग पनि असाध्यै घटेको छ। पहिले बिहेको सिजनमा दैनिक २० केजी बराबरको माग हुनेमा अहिले मूल्य बढेकाले दैनिक १० किलो मात्र माग हुन थालेको छ,’ उनले भने।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। मंगलबार १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ भएको छ। सोमबार चाँदीको किनबेच प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहँदा स्टक कारोबार प्रभावित छ। सोमबार प्रतिऔंस १९२६.०८ डलरमा कारोबार भएको सुन मंगलबार बढेर १९३५.०७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.५५ डलर छ।