सुन तस्करी र भारतीयको पैसा नेपाली बैंकमा राख्दा सस्तियो भारु, सीमामा १५८मा कारोबार

अनन्तराज न्यौपाने
२०७९ माघ १० गते ०९:१३ | Jan 24, 2023
सुन तस्करी र भारतीयको पैसा नेपाली बैंकमा राख्दा सस्तियो भारु, सीमामा १५८मा कारोबार


विराटनगर। नेपालका दक्षिण सीमावर्ती बजारहरुमा १२ वर्षपछि भारुको दर सस्तो भएको छ।

Tata
GBIME
Nepal Life

१२ वर्षअघि करिब एक महिनासम्म विराटनगर र वीरगंज लगायतका सीमान्त सहरमा भारुको मूल्य ५ रुपैयाँसम्मले घटेको थियो। तीन हप्तायता त्यही क्रम दोहोरिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेअनुसार १०० भारु बराबर नेपाली रुपैयाँ १६० हो। तर सीमावर्ती सहरमा कारोबारीले भारुको भाउ घटेर साटफेर गरिरहेका छन्।

जोगबनीको आदर्श वस्त्रालयका एक सञ्चालकका अनुसार कारोबारीले तीन हप्ताअघि १०० भारुका लागि १५८ नेरु मात्रै लिन थाले। त्यसको एक हप्तापछि नेरु १५६ भयो, सात दिनयता भने १५८ मा आएर स्थिर भएको छ।

जोगबनीको बजारमा नेपाली रुपैयाँमै कारोबार हुन्छ। यहाँका व्यापारी अवैध कारोबारीलाई बट्टा तिरेर भारु खरिद गर्छन्।उनीहरूले भारु १०० का लागि नेरु १६५ सम्म तिरेका छन्। तीन हप्ताअघि भने नेरु १६२ मा भारु पाइँदै थियो। तर अकस्मात् घटेर १५६ सम्म आइपुग्दा व्यवसायी छक्क परेका छन्।

जोगबनीकै कलकत्ता क्लोथ स्टोरका कमल तापडियाले आफूले नेरु १५८ तिरेर भारु १०० को खरिद गरिरहेको बताए। ‘खुला बजारमा किन एकाएक भारुको दर सस्तो भयो हामीले बुझ्न सकेका छैनौं,’ उनले भने, ‘भारु सस्तो हुँदा हामीलाई फाइदा नै छ।’

जोगबनीकै एक किराना पसल लक्ष्मी जनरल स्टोरका मनोज गुप्ताले पनि खुला बजारमा एकाएक भारुको दर सस्तो भएको जानकारी दिए। उनले सुनाए, ‘किन यस्तो भइरहेको छ, हामीले भेउ पाउन सकेका छैनौं। कारोबारीसित १५६ देखि १५८ मा सजिलै भारु पाइन्छ।’

सीमान्त क्षेत्रका खुला बजारमा भारुको दर सस्तो हुनुको कारण होटल, पर्यटन, विवाह र मदिराको कारोबार नभएको व्यवसायीको दाबी छ।

उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन काबराले भने, ‘यी त पहिले पनि चलेकै थिए। किन त्यसबेला भारु सस्तो भएन त ? यस्ता नियमित व्यापारले भारु सस्तो हुन सक्तैन। अरू नै कारण हुनुपर्छ।’

सुन तस्करी मुख्य कारण !
जानकारहरूका अनुसार एक महिनायता चिनियाँ सुन उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त आइरहेको छ। र, उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको छ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो। नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन्।

व्यवसायीले पुसबाटै सुन उठाउन छाडेका हुन्। उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह गरेका छन्। माघ लाग्दा पनि बैंकबाट सुन उठेको छैन। माघमा विवाह र ब्रतवन्धको समय हो।

सीमा छेउका बजारमा १२ वर्षपहिले पनि सुनकै कारण नेरुका तुलनामा भारु कमजोर भएको थियो। स्रोतका अनुसार नेपालमा तरलतासँगै बैंकहरुले निक्षेपमा राम्रो ब्याज दिन थालेपछि नेपालका नातेदारलाई पैसा राख्‍न दिएका छन्।

त्यही भएर बैंकमा तरलता अभाव पनि कम भएको छ। अहिले बैंकसँग दुई खर्बसम्म लगानी गर्नसक्ने पैसा छ। उनीहरू यसका कारण अनधिकृत बजारमा भारु दिएर नेरु खरिद गरिरहेका छन्। यसका कारण नेरुका तुलनामा भारु कमजोर भएको हो।

बैंकहरुले मंसिरदेखि नै मुद्दती निक्षेपमा रेमिटेन्स खाताका लागि १४ प्रतिशतसम्म ब्याज दिएका थिए।