स्वदेशी सुन्तलाले पायो बजार, काठमाडौंमा मात्र दैनिक ९० लाख रुपैयाँको कारोबार

सरला सुवेदी
२०७९ माघ १० गते ०७:२४ | Jan 24, 2023
स्वदेशी सुन्तलाले पायो बजार, काठमाडौंमा मात्र दैनिक ९० लाख रुपैयाँको कारोबार

काठमाडौं। सुन्तला जाडो याममा सबैभन्दा धेरै बिक्री हुने फलफूलमा पर्छ। सुन्तला फल्ने सिजन भएकोले यतिबेला बजारको यसको माग पनि धेरै छ। काठमाडौंमा मात्रै दैनिक ९० लाख रुपैयाँभन्दा धेरै सुन्तलाको बेचबिखन हुने गरेको छ।

Tata
GBIME
Nepal Life

बजारमा सुन्तला मंसिरदेखि आउन सुरु हुन्छ। स्वदेशी सुन्तलाको समय नहुँदा सुरुवातमा भारतीय सुन्तलाले बजार लिने गर्छ।
गत महिनादेखि भने बजारमा स्वदेशी सुन्तला उल्लेख्य रुपमा भित्रिन थालेको कुलेश्वर फलफूल बजारले जनाएको छ।

स्वदेशी सुन्तला ठूलो परिमाणमा आउन थालेपछि भारतीय सुन्तलाको आयात कम हुन्छ। यति बेला उपत्यकामा दैनिक ५० भन्दा बढी गाडीमा सुन्तला भित्रिने गरेको कुलेश्वर फलफूल बजारका अध्यक्ष अंम्बर बानियाँले बताए।

‘करिब ५० लाख बराबरको सुन्तला देशको विभिन्न क्षेत्रहरुबाट आइरहेको छ। ‘हाल काठमाडौंमा मात्र दैनिक ९० लाख रुपैयाँभन्दा बढीको सुन्तलाको कारोबार हुन्छ,’उनले भने। काठमाडौं बाहिरका जिल्लाहरुमा पनि स्वदेशी सुन्तलाको राम्रै कारोबार भइरहेको उनले जानकारी दिए।

जाडो याममा घाममा बसेर सुन्तला खान मन पराउनेहरु धेरै हुन्छन्। यसले गर्दा यो सिजनमा स्याउ, केराहरुको व्यापार कम र सुन्तालको व्यापार बढी हुने गर्छ।

हाल बजारमा सुन्तलाको थोक मूल्य १ सय ३५ देखि १ सय ४० रुपैयाँ छ। खुद्रा मूल्य प्रतिकेजी एक सय ५० रुपैयाँ देखि १८० रुपैयाँसम्म पर्छ।

गत मंसिरमा आयातित सुन्तला पनि प्रतिकेजी एकसय ३० रुपैयाँभन्दा बढि मूल्यमा बिक्री भएको थियो। यति बेला भने स्वदेशी सँगै भारतीय सुन्तला (किनु) पनि उपलब्ध छ। तर उपभोक्ताले भारतीयभन्दा स्वदेशी सुन्तला नै बढी खोज्ने गरेको उनले बताए।
गुणस्तर अनुसार बजारमा सुन्तलाको मूल्य कायम गरिएको छ।

व्यवसायीहरुले ग्रेडिङ अनुसार सुन्तलाको मूल्य तोक्ने गर्छन्। यतिबेला कुलेश्वरस्थित फलफूल बजारमा धनकुटा, म्याग्दी, ,पर्वत, बाग्लुङ, स्याङ्जा र सल्यानको सुन्तला आइरहेको छ।

‘हरेक वर्ष जाडो यामको ३ महिना सुन्तलाको कारोबार धेरै हुन्छ। अझै एक महिनासम्म स्वदेशी सुन्तला नै बजारमा आउँछ,’अध्यक्ष बानियाँले भने।

यी जिल्लाहरुमा ढिला सुन्तला पाक्ने भएकोले बजारमा पछि सम्म आउँछ। उक्त जिल्लाहरुमध्ये सल्यानको सुन्तलाको गुणस्तर अलि कम हुने ब्यापारीहरु बताउँछन्। अन्य जिल्लाको सुन्तल बढी रसिलो र ठूला दाना हुने उनीहरुले बताए। यस्तो सुन्तलाले बजार भाउ राम्रो पाउने गरेको छ।

बजारमा साना साइजका सुन्तला कम मूल्यमा पनि किन्न पाइन्छ। साइज सानो र कम गुणस्तरका यी सुन्तला प्रतिकेजी एकसय रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्ने व्यवसायीहरुको भनाई छ।

कुलेश्वर बजारमा गोर्खा र स्याङ्जाको सुन्तला कम आउने गरेको छ। यस जिल्लामा उत्पादन भएको सुन्तला स्थानीय बजारमै खपत हुने भएकोले उपत्यकासम्म आइनपुग्ने अध्यक्ष बानियाँले बताए।

यस वर्ष स्वदेशी सुन्तलाको उत्पादन गत वर्षको हाराहारीमा भएको छ। कतिपय जिल्लाहरुमा यसको उत्पादन घटेको छ भने कतै बढेको पनि छ। यसैले अघिल्ला वर्षभन्दा उत्पादनमा उल्लेख्य सुधार नदेखिएको उनको भनाई छ।

तीन महिनामा एक अर्बको सुन्तलाको कारोबार

हरेक वर्षको मंसिर अन्तिमदेखि फागुनसम्म सुन्तलाको सिजन हो। यतिबेला देशको केही जिल्लाहरुमा ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ। तीन महिनासम्मभन्दा बढी समयसम्म व्यवसायीहरुले स्वदेशी सुन्तलानै बिक्री गर्ने गर्छन्।

हाल बजारमा सुन्तला प्रतिकेजी एक सय १५० देखि १८० रुपैयाँसम्म बिक्री भइरहेको छ। काठमाडौंमा मात्र हाल दैनिक ९० लाख भन्दा बढीको सुन्तलाको कारोबार हुने गरेको कुलेश्वर फलफूल बजारले जनाएको छ। अहिले दैनिक देशभर गरेर एक करोडभन्दा बढीको सुन्तलाको कारोबार भइरहेको छ।

यसले गर्दा सिजनका यी तीन महिनामा देशभर कुल एक अर्ब बराबरको सुन्तलाको कारोबार हुने बानियाँले अनुमान गरे।