३० अर्बको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बेकामे, काठमाडौंमा जहाज अवतरण गर्न नसक्दा भारतकै भर

वसन्तराज उप्रेती
२०७९ माघ ६ गते १८:१३ | Jan 20, 2023
३० अर्बको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल बेकामे, काठमाडौंमा जहाज अवतरण गर्न नसक्दा भारतकै भर

काठमाडौं। शुक्रबार विहान ९:५५ बजे नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने तालिका रहेको थियो।

Tata
GBIME
Nepal Life

तर काठमाडौंमा भिजिविलिटी कम भएको भन्दै जहाज डाइभर्ट भयो। निगमको सो जहाज कोलकाता पुगेर अवतरण गरियो। मुलुकभित्र त्रिभुवन वाहेक दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा छन्।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या भएमा विकल्पको रुपमा हेरेर भैरहवामा ७ अर्ब र पोखरामा २१ अर्ब लगानी गरेर निर्माण भएको विमानस्थलमा निगमको जहाज किन अवतरण भएन ?

काठमाडौंबाट ४ सय ८५ माइल टाढा रहेको कोलकातामा निगमको जहाज अवतरण गरेको छ। भैरहवा विमानस्थलमा अवतरण गर्दा जम्मा ७३ नटिकल माइल मात्रै यात्रा गर्नुपर्थ्यो। उडान दूरीका हिसाबले जम्मा २५ मिनेटमा तय हुन्थ्यो। भैरहवा विमानस्थलमा अवतरण नगरि कोलकाता पुग्दा २२ सय किलोलिटर बढी इन्धन खपत भएको छ। यो आधारमा निगमले ठूलो नोक्सानी ब्योहोरेको छ। यसरी आफ्नै भूमिमा रहेको भैरहवामा जहाज अवतरण नगरी कोलकाता किन लगियो ?

निगमका एक अधिकारीका अनुसार जोखिम लिन नचाहेर कोलकातामा अवतरण गरिएको हो। ‘भैरहवामा पनि भिजिविलिटी कम छ। त्यहाँ भारतको अवरोधका कारण इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम संचालनमा छैन। पोखरामा भौगोलिक जटिलताका कारण अवतरण गर्ने अवस्था छैन,’ निगमका ती अधिकारीले बिजमाण्डूलाई भने, ‘त्यसमा पनि भैरहवामा यात्रुलाई सेवा दिनका लागि आवश्यक पूर्वाधार छैन। यात्रुहरुलाई सुविधा दिन नसके ब्राण्ड नै विग्रिने भएकाले कोलकाता लैजानुपरेको हो।’

भैरहवामा भिजिविलिटी कम भएका कारण अन्तर्राष्ट्रिय उडान उडान हुन नसक्ने विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए। विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम(आइएलएस) संचालनमा रहेको भए सहजै उडान अवतरण गर्न सकिने उनले जानकारी दिए।

‘अहिले आइएलएस प्रविधि संचालनमा नआएकै कारण यहाँको सबै अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प भएको छ। आज आइएलएस प्रविधि संचालनमा आएको भए डाइभर्ट भएका जहाज भारत जानुपर्ने अवस्था आउँदैनथ्यो,’ विमानस्थल प्रमुख दाहालले भने। आइएलएस प्रयोगका लागि भारतले स्वीकृति दिएको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भीएफआर भएपनि आइएलएस प्रविधि नहुँदा ठूला जहाज अवतरण गर्न मिल्ने अवस्था नरहेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।

‘हामी एयरबस ३२० जहाज ह्याण्डल गर्न तयार छौँ। तर आइएफआर फ्लाइट आधिकारिक रुपमा म्याचुरिटी भइसकेको छैन। भीएफआरको समस्या होला तर भिजिविलिटीको समस्या छैन,’ प्रमुख गौतमले बिजमाण्डूसँग भने,’ डाइभर्ट भएका अधिकांश जहाजले हेर्ने भनेको यात्रु सुविधा नै हो। म आफै बैंकक-काठमाडौं आउँदा मौसमी प्रतिकुलताका कारण पुनः बैंकक डाइभर्ट गरिएको थियो। यसमा यात्रु सुविधालाई मध्यनजर गर्दै आफ्नो सम्झौता भएको क्षेत्रमा लगिने गरिन्छ।’