शिखर इन्स्योरेन्सले दुई वर्षको साधारणसभा एकैपटक गर्ने, सेयरधनीले कति पाउलान् लाभांश ?

बिजमाण्डू
२०७९ माघ ४ गते १४:०१ | Jan 18, 2023
शिखर इन्स्योरेन्सले दुई वर्षको साधारणसभा एकैपटक गर्ने, सेयरधनीले कति पाउलान् लाभांश ?

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले दुईवटा वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ। कम्पनीले माघ २५ गते केन्द्रीय कार्यालय शिखर विज सेन्टर थापाथलीबाट गर्ने लागेको जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले १७औं र १८औं वार्षिक साधारणसभा एकैपटक गर्ने निर्णय गरेको हो।

संचालक समितिबाट प्रस्ताव गरिएको २०७९ असार मसान्तसम्मको कायम सेयर पुँजीमा १६ प्रतिशतका दरले हुन आउने ३६ करोड ५७ लाख रुपैयाँको बोनस सेयर पारित गर्ने कम्पनीले जनाएको छ।

बोनस सेयर वितरण गर्दा खण्डित सेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो स्वामित्व कायम राख्ने गरी जारी पुँजी तथा चुक्ता पुँजी संशोधन गर्नेछ। यसको अधिकार संचालक समितिलाई दिने प्रस्ताव रहेको छ।

साधारणसभाले संचालकहरुको नियुक्तिसम्बन्धी नियमलाई संशोधन गर्ने बताइएको छ। संस्थापक सेयरधनीहरुबाट नियुक्त हुने ४ जना, सर्वसाधारण सेयरधनीहरुबाट नियुक्त हुने ३ जना र स्वतन्त्र संचालक १ जना गरी ७ जना संचालक नियुक्त गर्ने कम्पनीले जनाएको छ।

यसैगरी मर्जरको लागि अन्य कुनै बीमा कम्पनीसँग समझदारी पत्र तर्जुमा गर्ने र अन्य प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने समेत तय भएको बताइएको छ ।

सभामा संचालक समितिबाट २०७९ असार मसान्तसम्म कायम सेयर पुँजीमा ०.८४२१ प्रतिशतका दरले नगद लाभांश एक करोड ९२ लाख ५१ हजार रुपैयाँ पारित गर्ने प्रस्ताव गरेको छ।

मर्जरको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहेको छ।त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७७/७८ तथा २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

कम्पनीको संचालक समितिका सदस्यहरु तथा अन्य समितिको उपसमितिका सदस्यहरुले प्राप्त गर्ने भत्ता तथा सुविधा परिमार्जन गर्ने प्रस्ताव राखेको बताइएको छ।

सभा प्रयोजका लागि कम्पनीले माघ १७ गतेदेखि साधारण सभासम्मको लागि बुक क्लोज गर्ने भएको छ।