डब्लुईएफको बैठकमा विश्व आर्थिक मन्दीबारे चिन्ता, ४ हजार सीइओको प्रतिक्रिया अत्यन्तै निराशाजनक

बिजमाण्डू
२०७९ माघ ४ गते ०९:३३ | Jan 18, 2023
डब्लुईएफको बैठकमा विश्व आर्थिक मन्दीबारे चिन्ता, ४ हजार सीइओको प्रतिक्रिया अत्यन्तै निराशाजनक

काठमाडौं। स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च(डब्लूईएफ)को वार्षिक बैठकमा विश्वव्यापी मन्दीको सम्भावनाबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। बैठकका सहभागीहरुले आफ्नो अर्थतन्त्र र व्यवसायको सम्भावित लागत प्रक्षेपण गर्दै चिन्ता प्रकट गरेका हुन्।

Tata
GBIME
Nepal Life

डब्लूईएफद्वारा सर्वेक्षण गरिएका निजी र सार्वजनिक क्षेत्रका प्रमुख अर्थशास्त्रीहरूमध्ये दुई तिहाइले यस वर्ष विश्वव्यापी मन्दीको प्रक्षेपण गरेका छन्। त्यसमध्येका करिब १८ प्रतिशतले मन्दीलाई ‘अत्यन्तै सम्भावित’ ठान्छन्। अघिल्लो सर्वेक्षणको तुलनामा दुई गुणा बढीले यस्तो अनुमान गरेका हुन्।

‘वर्तमानको उच्च मुद्रास्फीति, न्यून आर्थिक वृद्धिदर, आकासिएको ऋण र उच्च खण्डीकरणको वातावरणले विकासमा फर्कन र विश्वको सबैभन्दा जोखिममा परेकाहरूको जीवनस्तर उकास्न आवश्यक लगानीको प्रोत्साहनलाई कम गर्छ,’ डब्लूईएफका प्रबन्ध निर्देशक सादिया जाहिदीले सर्वेक्षणको नतिजासँगै जारी गरिएको एक विज्ञप्तिमा भनेका छन्।

सर्वेक्षण वरिष्ठ अर्थशास्त्रीहरूको समूहबाट प्राप्त २२ प्रतिक्रियाहरूमा आधारित थियो। डब्लूईएफले अन्तर्राष्ट्रिय मुद्रा कोष, इन्भेष्टमेन्ट बैंक, बहुराष्ट्रिय र पुनर्बीमा समूह लगायत अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट उनीहरुलाई चुनेको थियो।

यसैबीच, पिडब्ल्यूसीद्वारा सोमबार डाभोसमा सार्वजनिक गरिएको सीइओहरुको सर्वेक्षण सबैभन्दा निराशाजनक थियो। सर्वेक्षणमा सहभागी ४० प्रतिशतभन्दा बढीले वर्तमान स्थिति जारी रहने हो भने उनीहरू आबद्ध संस्था आउँदो १० वर्षको अवधिमा आर्थिक रूपमा असक्षम हुने बताए।

सर्वेक्षणमा विश्वभरका १०५ वटा मुलुकका ४ हजार ४ सय १० जना सीइओ सहभागी थिए। ७५ प्रतिशतको अनुमान आगामी वर्ष व्यावसायिक वृद्धिदर घट्ने छ। उनीहरुले निकट भविष्यमा डरलाग्दो विश्वव्यापी अर्थतन्त्रको सामना गर्नुपर्ने बताए।

विश्व बैंकले गत हप्ता आफ्नो सन् २०२३ को विश्वव्यापी आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण सार्वजनिक गरेको थियो। विश्व बैंकले वृद्धिदर १.७ प्रतिशतमा झर्ने बताएको हो। विश्वका प्रमुख आर्थिक इन्जिनहरू नै धमिलिन थालेपछि धेरै मुलुकहरू मन्दीको नजिक पुगेका छन्। 

यसै दौरान अधिकांश जसो केन्द्रीय बैंकले ब्याजदर तीव्र रूपमा बढाउँदै लगेका छन्। जारी रुस-युक्रेन बीचको युद्धले पनि आर्थिक वृद्धिदरलाई प्रभाव पारेको हो। जानकारहरु ‘स्ट्यागफ्लेसन’को परिदृश्यमा उच्च मुद्रास्फीतिले अर्थतन्त्र संकुचित हुनेअवस्था निर्माण भएको बताउँछन्।

डब्लूईएफले मुद्रास्फीति सर्वेक्षणको क्रममा ठूलो क्षेत्रीय भिन्नताहरू भेटेको जनाएको छ। सहभागी ५ प्रतिशतले मात्र २०२३ मा चीनले उच्च मुद्रास्फीतिको सामना गर्ने अनुमान गरेका छन्। त्यहीँ युरोपका लागि ५७ प्रतिशतसम्म रह्‍यो। गत वर्ष ऊर्जाको मूल्यमा देखिएको वृद्धिको प्रभाव व्यापक युरोपेली अर्थतन्त्रमा फैलिएको छ।

यस्तै, सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अर्थशास्त्रीहरुले अमेरिका र युरोपमा मौद्रिक नीति थप कडा हुँदै जाने देखेका छन्। ५९ प्रतिशतले युरोप र ५५ प्रतिशतले अमेरिकाको मौद्रिक नीतिप्रति थप कठोर भएर साबित हुने अनुमान गर्छन्। नीति-निर्माताहरू धेरै कडाइ गर्ने अथवा कम गर्ने जोखिमको बीचमा फसेका छन्।