नगद चलनचल्तीले फैलन्छ आर्थिक कारोबार, चुनावमा किन बढेन नगद कारोबार ? सिद्धराज भट्टको लेख



२०७९ माघ ३ गते ०९:३३
नगद चलनचल्तीले फैलन्छ आर्थिक कारोबार, चुनावमा किन बढेन नगद कारोबार ? सिद्धराज भट्टको लेख


कुनै पनि अर्थतन्त्रमा आर्थिक कारोबारहरुको विस्तार कस्तो छ भन्ने थाहा पाउनका लागि चलनचल्तीमा रहेको नगद, आधार मुद्रा, कर्जा प्रवाह जस्ता सूचकहरुको उपयोग गर्ने गरिन्छ।

TATA
GBIME

चलनचल्तीमा रहेको नगद (सीआइसी) भन्नाले नेपाल राष्ट्र बैंक बाहिर रहेको नगदलाई बुझाँउदछ। यस्तो नगदको ठूलो अंश बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य संस्था, कम्पनी, व्यवसाय तथा सर्वसाधारणसँग रहेको हुन्छ भने बाँकी अंश बैंक तथा वित्तीय संस्थासँग रहेको हुन्छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट जारी भएको नगद यदि राष्ट्र बैंकको बैंकिङ विभागमा छ भने उक्त रकम चलनचल्तीमा रहेको नगदभित्र समावेश हुँदैन।

सिद्धराज भट्ट

उदाहरणका लागि २०७९ असार मसान्तमा मुद्रा व्यवस्थापन विभागबाट जारी खुद नगद ६३४ अर्ब रुपैयाँ थियो, जसमा बैंकिङ विभागसँग २० अर्ब रुपैयाँ नगद रहेका कारण चलनचल्तीमा भएको नगद ६१४ अर्ब रुपैयाँ थियो। यसमध्ये १०८ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग तथा बाँकी ५०६ अर्ब रुपैयाँ अन्य संघसंस्था तथा सर्वसाधारणसँग थियो।

चलनचल्तीको नगद र आर्थिक गतिविधि

सामान्यतया चलनचल्तीमा रहेको नगद वृद्धि हुँदा आर्थिक गतिविधि विस्तार भएको/हुन सक्ने संकेतका रूपमा लिइन्छ। तथापि क्रयशक्तिको ठूलो अंश बैंक निक्षेपका रुपमा रहने र यस्तो मुद्रा बैंक तथा वित्तीय संस्थाले सिर्जना गर्ने तथा डिजिटल रूपमा भुक्तानी हुनसक्ने भएकाले नगद वृद्धिका आधारमा मात्र आर्थिक गतिविधिको बारेमा अनुमान गर्न गाह्रो हुन्छ।

यसका लागि केन्द्रीय बैंक मुद्रा (रिजर्भ मनि) का साथसाथै बैंक तथा वित्तीय संस्थाले सिर्जना गर्ने मुद्रा (बैंक मनि)लाई समेत हेर्नुपर्ने हुन्छ।

त्यसैगरी विद्युतीय भुक्तानीमा भएको वृद्धिसँगै कम नगद आवश्यक पर्ने भएकाले नगदको माग घट्दै जाने प्रवृत्ति देखा पर्न सक्दछ।

चार्ट १ मा देखाएझैं पाकिस्तान, नेपाल लगायतका विद्युतीय भुक्तानीको उपयोग कम रहेका मुलुकहरुमा कुल मुद्राप्रदायमा चलनचल्तीमा रहेको नगदको हिस्सा १० प्रतिशत भन्दा माथि रहेको छ भने नर्वे, स्वीडेन लगायतका मुलुकहरुमा त्यस्तो अनुपात ३ प्रतिशत भन्दा कम छ।

त्यसैगरी यदि अर्थतन्त्रमा उच्च आयातमार्फत् आर्थिक गतिविधिहरु विस्तार भइरहेका छन् भने आर्थिक वृद्धि ठीकै हुँदा पनि शोधनान्तर घाटाका कारण चलनचल्तीमा रहेको नगद भने घटेर जाने हुन्छ।

हाल नेपालमा देखिएको मुख्य प्रवृत्ति यही हो। जस्तो गत आर्थिक वर्षमा चलनचल्तीमा रहेको नगद ५७ अर्ब रुपैयाँले घट्दा समेत ५.८४ प्रतिशत आर्थिक वृद्धि भई कुल गार्हस्थ्य उत्पादन करिब ५७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो।    

चलनचल्तीको नगदमा कसरी हुन्छ वृद्धि ?

चलनचल्तीमा रहेको नगद मुख्यतया दुई प्रकारले वृद्धि हुन सक्दछ।

पहिलो, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो केन्द्रीय बैंकमा भएको रिजर्भ खाताबाट नगद निकालेका कारण। यस्तो नगद यदि निक्षेप भुक्तानीमा उपयोग भयो भने यसले आर्थिक गतिविधिहरु बढाउने सम्भावना रहन्छ।

अर्कोतिर सरकारले खर्च गरेका कारण, विप्रेषण लगायतबाट प्राप्त विदेशी विनिमय बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बिक्री गरेका कारण, राष्ट्र बैंकले विभिन्न निकायलाई प्रदान गरेको कर्जामा वृद्धि भएका कारण र वैदेशिक लगानी तथा ऋण प्राप्त भएका कारण समेत यस्तो नगदमा वृद्धि हुन जान्छ।

उदाहरणका लागि कोभिडपश्चात् नेपाल राष्ट्र बैंकले पुनर्कर्जा दिएको तथा आयातमा कमी आई शोधनान्तर बचतमा रहेका कारण चलनचल्तीमा रहेको नगदमा उल्लेख्य वृद्धि भएर २०७८ कात्तिकतिर ७२७ अर्ब रुपैयाँसम्म पुगेको थियो। जबकि गत वर्ष बाह्य क्षेत्रमा भएको घाटाका कारण यस्तो नगद करिब ५७ अर्ब रुपैयाँले घट्न गएको थियो।

यसका अलावा केन्द्रीय बैंकले अनिवार्य नगद अनुपात लगायतका उपकरणहरुमा परिवर्तन गरे अनुरुप पनि चलनचल्तीमा रहेको नगदमा परिवर्तन हुन जाने हुन्छ।

राष्ट्र बैंकले भनेजति नगद चलनचल्तीमा हुन्छ ?

राष्ट्र बैंकले उक्त बैंकबाट बाहिर गएको र भित्र फर्केको नगदका आधारमा चलनचल्तीमा रहेको नगद दैनिक रुपमा गणना गर्ने गर्दछ।

बाहिर गएको नगद यदि जलेर, बाढीले बगाएर, हराएर वा अन्य तरिकाले पूर्ण रुपमा नष्ट भएर गयो भने त्यस्तो नगद राष्ट्र बैंकको आँकडामा चलनचल्तीमा रहेको नगद भित्रै समावेश हुन सक्दछ।

तसर्थ बजारमा उपलब्ध नगद बैंकले भने भन्दा केही कम पनि हुन सक्छ ।  

के बजारबाट नगद हराउँछ ?

कुनै पनि मुलुकमा चलनचल्तीमा रहेको नगद कुन कुन व्यक्तिको हातमा कति छ भन्ने कुरा केन्द्रीय बैंकलाई थाहा हुँदैन। यसलाई नगदको ‘एनोनिमिटी’ विशेषता भनिन्छ।

तसर्थ नगद कृषि उत्पादनबाट जग्गा व्यापारमा जाँदा वा कुनै गैरकानुनी काममा मुलुकभित्रै उपयोग हुँदा चलनचल्तीमा रहेको नगदमा कमी आएको वा नगद हराएको भने भन्न सकिँदैन।

तथापि यसरी अनौपचारिक क्षेत्रमा नगद गएर बस्दा वित्तीय प्रणालीमा नगद कम फर्किने भएकाले निक्षेप परिचालन तथा कर्जा प्रवाहमा भने प्रभाव पर्दछ।

पछिल्लो समयमा मुख्यरुपमा आयातमार्फत् विदेशी मुद्रा बाहिरिदा नेपाली नगद राष्ट्र बैंकमा फर्किएकाले चलनचल्तीमा रहेको नगदमा कमी आएको हो। तसर्थ बजारबाट नगद हराउने  भनेको मुख्यतया आयातमार्फत् बाहिरिएर हो।   

के नगद बैंकमा धेरै रहनु राम्रो हो?

चलनचल्तीमा रहको नगदको ठूलो अंश सबैजसो मुलुकमा बैंकबाहिर नै रहने हो। बैंकले केही प्रतिशत नगद मात्र ग्राहकहरुलाई नगद भुक्तानी दिनका लागि राख्ने गर्दछ।

नेपालमा समेत १० लाख रुपैयाँभन्दा बढीको चेक नगदमा भुक्तानी गर्न नपाइने भएकाले बैंकले आफ्नो ढुकुटीमा अर्बौ नगद राख्दैनन्।

झन् आइपीएस, आरटीजीएसजस्ता डिजिटल भुक्तानी माध्यमले त बैंकहरुको नगद मागमा ठूलो कमी ल्याएका छन्।

उदाहरणका लागि २०७५ सालमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३१०० अर्ब रुपैयाँ रहेकोमा बैंकसँग भएको नगद ८० अर्ब रुपैयाँको हाराहारीमा रहने गर्दथ्यो भने हाल निक्षेप करिब ५१०० अर्ब रुपैयाँ पुग्दा समेत बैंकहरुले राख्‍ने नगद ११९ अर्ब रुपैयाँ जति मात्र रहेको छ।

अन्य मुलुकहरुमा पनि बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेपको २–३ प्रतिशत रकम नगदको रुपमा राख्‍ने गरेका छन्।

यसो भन्दैमा नगद सर्वसाधारणको हातमा बसिराख्‍नु राम्रो चाहिँ होइन। नगद सर्वसाधारणबाट बैंक, अनि बैंकबाट सर्वसाधारणको हातमा आउने-जाने क्रम चलिरहनु पर्दछ।

यो दर जति तीव्र भयो अर्थतन्त्रमा मुद्रा प्रदाय त्यति नै बढी सिर्जना हुन्छ र थोरै नगदले पनि धेरै आर्थिक कारोबारहरु सम्पन्न गर्न सकिन्छ।

मुलुकमा हाल करिब ६५० अर्ब रुपैयाँ मात्रै नगद चलनचल्तीमा रहेकोमा बैंकको उपस्थितिले करिब ५५०० अर्ब रुपैयाँ बराबरको मुद्रा प्रदाय सिर्जना भएको छ।

अर्थतन्त्रको औपचारिकीकरण हुँदै जाँदा तथा बैंकिङ्ग बानीको विकास हुदै जाँदा यस्तो नगद बैंक तथा वित्तीय संस्थामा फर्किने दरमा वृद्धि भई तरलता, निक्षेप, कर्जा, मुद्राप्रदाय विस्तार तथा आर्थिक गतिविधिको विस्तारलाई थप सहयोग पुर्‍याउने हुन्छ। 

दसैंमा साटिने पैसाले चलनचल्तीमा नगद बढाउँछ ?

सामान्यतया दसैंमा साटिने पैसाले चलनचल्तीमा रहेको नगदमा वृद्धि गर्दैन। किनकी मुद्रा व्यवस्थापन विभागले सर्वसाधारणबाट जति नगद लिन्छ, त्यति नै नयाँ नगद दिने गर्दछ।

बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई नयाँ नोट साट्ने उद्देश्यका लागि निक्षेप भुक्तानी गर्न आफूसँग भएको नगद दिएमा वा ग्राहकसँग पुरानो नगद लिई नयाँ नगद दिए भने पनि यसले केही फरक पार्दैन।

तर, नगद व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा रहेको आफ्नो निक्षेप खाताबाट पैसा उपयोग गरी वा राष्ट्र बैंकबाट सापटी लिई नयाँ नगद आफू लिए वा ग्राहकलाई दिए भने चाहिँ चलनचल्तीमा रहेको नगद वृद्धि हुन जान्छ।

डिमोनिटाइजेसनले चलनचल्तीमा रहेको नगदमा असर

डिमोनिटाइजेसनले तत्कालका लागि चलनचल्तीमा रहेको नगदमा वृद्धि गर्न सक्दैन। गैरकानुनी रुपमा कमाएको पैसा वा कालो धनको केही अंश बैंकिङ प्रणालीमा नयाँ नोटसँग साटिनका लागि नफर्किने सम्भावना रहने भएकाले यसले तत्कालका लागि नगदमा झनै कमी ल्याउन सक्दछ।

जस्तो भारतमा सन् २०१६ नोभेम्वरमा गरिएको डिमोनिटाइजेसनले दुई महिनामा चलनचल्तीमा रहेको नगद करिब ९००० अर्ब रुपैयाँले घटाएको थियो र उक्त नगद मार्च २०१८ मा मात्रै डिमोनिटाइजेसनपूर्वको स्तरमा फर्किएको थियो।

यद्यपि मध्यम तथा दीर्घकालमा भने यसले गैरकानुनी कामहरुमा नगद कारोबार हतोत्साहित गरी कालो धन थुपार्न निरुत्साहित गर्ने तथा अनौपचारिक क्षेत्रमा नगदको कारोबार निरुत्साहित गरी रकमलाई बैंकिङ प्रणालीमा फर्काउने तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने भएकाले नगद, तरलता, निक्षेप परिचालन तथा कर्जा प्रवाह सहज बनाई आर्थिक गतिविधिलाई टेवा दिने हुन्छ।      

चुनावमा किन नगदमा वृद्धि भएन ?

सामान्यतया चुनावका बेला सरकारी खर्च वृद्धि हुने, उम्मेवारहरुले प्रचारप्रसार लगायतका कामका लागि खर्च गर्ने भएकाले चलनचल्तीमा भएको नगद बढ्छ भन्ने अपेक्षा हुन्छ। मंसिर ४ को चुनावभन्दा एक महिना अघिदेखिको तथ्यांक हेर्दा यस्तो नगद उल्टो ८ अर्ब रुपैयाँले घट्न गएको देखिन्छ।

यसका पछाडि तलका कारण मुख्य रूपमा जिम्मेवार हुन सक्दछन।

क) प्रचारप्रसार सोसल मिडियामा पनि गरिएकाले त्यसको भुक्तानी डिजिटल रुपमा हुन गयो, जसले गर्दा नगदको आवश्यकता परेन। झन डलर कार्डबाट खर्च गरी भएका प्रचारहरुको भुक्तानी डलरमा हुने भएकाले नेपाली नगदको आवश्यकता परेन।

ख) मुलुकमा हाल मासिक रुपमा करिब ४ करोड कारोबारहरुमार्फत करिब ४००० अर्ब रुपैयाँ डिजिटल रुपमा भुक्तानी हुने गरेको छ।

सरकारले निर्वाचनमा करिब २० अर्ब रुपैयाँ खर्च गरेको थियो। उम्मेदवारहरुले पनि प्रचार प्रसारमा उल्लेख्य खर्च गरेको भए पनि धेरैजसो भुक्तानी डिजिटल भएकाले आर्थिक गतिविधिहरुको विस्तार हुँदा नगदको मागमा खासै वृद्धि भएन।

ग) आफूसँग संग्रह गरेर राखिएको नगद खर्च गर्दा वा सहकारी लगायतका संस्थाहरुसँग भएको नगद  रकम झिकेर खर्च गर्दा आर्थिक गतिविधि विस्तार भएतापनि त्यसले चलनचल्तीमा रहेको नगदमा खासै फरक पारेन।

निष्कर्ष

सामान्यतया चलनचल्तीमा रहने नगदलाई आर्थिक विस्तारसँग जोडेर हेर्ने गरिए पनि यसको सम्वन्ध त्यति बलियो भने देखिदैन। यसका पछाडि अर्थतन्त्रमा बढ्दै गएको बैंकिङ पहुँच, डिजिटल भुक्तानी, शोधनान्तर स्थिति तथा राष्ट्र बैंकको विभिन्न नीतिगत व्यवस्थाहरु छन्।

डिजिटल भुक्तानीको वृद्धिसँगै यस्तो नगदको माग विस्तारै घट्दै जाने भएकाले आर्थिक गतिविधिको मापन सूचकका रुपमा यसको उपयोग कम विश्वसनीय हुने देखिन्छ। 

(नेपाल राष्ट्र बैंकको बुलेटिनबाट साभार)


Sunrise Bank