अटो एक्स्पोमा ४ वटा ब्रान्डले गरे भविष्यमा ल्याउन लागेका विद्युतीय मोडलका अवधारणा प्रदर्शनी  

शुक्र गिरी
२०७९ माघ २ गते १२:१८ | Jan 16, 2023
अटो एक्स्पोमा ४ वटा ब्रान्डले गरे भविष्यमा ल्याउन लागेका विद्युतीय मोडलका अवधारणा प्रदर्शनी  

काठमाडौं। अटो एक्स्पो २०२३ मा ४ वटा ब्रान्डले भविष्यमा ल्याउने लागेका विद्युतीय कारको कन्सेप्ट प्रदर्शनी गरेका छन्। भारतको राजधानी नयाँदिल्लीको नोएडामा भएको एक्स्पोमा नेपालमा पनि गाडी बिक्री गर्दै आएका कम्पनीहरु टाटा, सुजुकी, किया र टोयोटाको लेक्सस ब्रान्डले विद्युतीय गाडीको अवधारणा प्रदर्शन गरेका हुन्।

Tata
GBIME
Nepal Life

संसारभर सवारी निर्माताको ध्यान अब विद्युतीय मोडल निर्माणमा केन्द्रित रहेको कम्पनीका योजनाहरुले देखाएको छ। एक्स्पोमा मारुती सुजुकीले पहिलो इलेक्ट्रिक कार इभीएक्स मोडलको झलक अवलोकनकर्तामाझ प्रदर्शन गरेको छ। सुजुकीले नयाँ गाडी टोयोटासँग मिलेर निर्माण गरिरहेको छ। २०२५ सम्म उक्त मोडल बजारमा ल्याउने कम्पनीको लक्ष्य छ।

कियाले दुई ब्याट्री विकल्प सहितको इभीको अवधारणा प्रदर्शन गरेको छ। कियाको नयाँ मोडलमा ४८ किलोवाट र ६० किलोवाट क्षमताका ब्याट्रीले एक पटकको फुल चार्जमा ५०० किलोमिटरको दुरी पार गर्न सकिन्छ।

टाटा मोटर्सले एकैपटक चारवटा मोडलमा काम गर्दैछ। ती विद्युतीय गाडीको अवधारणा टाटाले एक्स्पोमार्फत् सार्वजनिक गरेको छ। टाटाले लक्जरियस सेगमेन्टको अभिन्या, ह्‍यारियर इभी, कर्भ र सियारा लगायतका मोडलको कन्सेप्ट प्रदर्शन गरेको हो।

ह्‍यारियरको इभी मोडल २०२४ मा बिक्री सुरु हुने कम्पनीले जनाएको छ। यो गाडी फोर ह्‍वील ड्राइभमा उपलब्ध हुनेछ। अभिन्याले एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी दुरी पार गर्न सक्छ। कम्पनीले पेट्रोल भेरियन्टमा बिक्री गर्दै आएको अभिन्यालाई इभीमा ल्याउने भएको हो।

यस्तै टोयोटाले लेक्ससको नयाँ विद्युतीय गाडीहरु प्रदर्शनी गरेको छ। जसमा एल एफ ३० र एलएफ जेड मोडल छन्। यी गाडीहरु कम्पनीले लक्जरियस सेगमेन्टमा ल्याउन लागेको हो। यो गाडीहरु अटो एक्स्पोको हट केकका रूपमा थिए।

एलएफ-३० मा ११० किलोवाट र एलएफ-जेडमा ९० किलोवाट क्षमताका ब्याट्री प्याकमा आउनेछन्। जसले एक पटकको फुल चार्जमा ५०० देखि ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसैगरी कियाले पनि नयाँ विद्युतीय कार इभी-९ मोडलको कन्सेप्ट प्रदर्शनी गरेको छ। यसमा ७७.४ किलोवाट क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यो गाडी रेन्ज रोभरको जस्तो मोडलमा निर्माण गरिएको छ।

यो गाडी २०२३ को अन्त्यतिर बिक्रीमा जाने कम्पनीले योजना बनाएको छ। यसमा भएको ब्याट्री प्याकले कियाको हालसम्म सार्वजनिक भएका इभी मोडलको भन्दा धेरै रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ।

जसमा कम्पनीले यो अटो एक्स्पोमा इभी-६ मोडलको पनि सार्वजनिक गरेको छ। यो गाडी नेपाल आउने तयारीमा छ। उत्पादक कम्पनीले आपूर्ति सहज बनाए यो गाडी छिट्टै नेपाली बजारमा आउने आधिकारिक बिक्रेताले जनाएको छ।

यसमा केही मोडलहरु पेट्रोल भेरियन्टमा पनि ल्याइने भएको छ।